काठमाडौँ, १२ असार – मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ ।
दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो ।
एक दशकदेखि ठमेलको क्वावहालमा मालाको व्यवसाय गर्दै आउनुभएका ओखलढुङ्गाका भेषबहादुर गुरुङ ठमेलबाट असन जाने बाटोमा ढल निर्माण गर्न जथाभावी खनेकाले व्यवसाय घटेको बताउनुहुन्छ ।
“केही महिना अगाडि मेलम्चीको पानी आउने भनेर बाटो खनियो, अहिले फेरी ढल निर्माणका लागि बाटो खन्दा समस्या परेको छ,”–उहाँ भन्नुहुन्छ । बाटोमा परेको खाल्डाखुल्डीका कारण विदेशी पाहुनालाई हिँड्न समेत समस्या परेको उहाँको भनाई छ ।
ठमेलको अमृतमार्गमा दुई दशकदेखि पुस्तक पसल सञ्चालन गर्दै आएका किरणदेव घिमिरे बाटो विस्तारका क्रममा जथाभावी खनेका कारण आवतजावतमा समस्या परेको बताउनुहुन्छ । “बाटो विस्तारका कारण व्यवसायमा समेत समस्या परेको छ,”–उहाँ भन्नुहुन्छ ।
अमृतमार्ग अगाडि व्यास ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आउनुभएका दीपक भट्टराई ठमेल क्षेत्रमा जथाभावी खनिएका बाटोले गर्दा मुलुकको पर्यटन विकासमा ठूलो असर पुगेको बताउनुहुन्छ ।
“सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्रयाउने भनेको छ, तर ठमेलभित्रको बाटोको अवस्था यस्तो छ, कसरी पर्यटन क्षेत्रको विकास हुन्छ ?,”–उहाँ प्रश्न गर्नुहुन्छ ।
माथि उल्लेखित व्यवसायी प्रतिनिधि पात्रमात्र हुन् । यतिबेला ठमेल क्षेत्रमा व्यापार व्यवसाय गर्दै आउनुभएका अधिकांश व्यवसायीलाई बाटोले गर्दा समस्या उत्पन्न गराएको छ ।
अहिले नर्सरी चोकबाट असन जाने क्वावहाल मार्ग, क्षेत्रपाटी हुँदै ठँहिटी जाने चोक, अमृत क्याम्पसदेखि सञ्चयकोषसम्मको बाटो विस्तार तथा कालोपत्रे नहुँदा स्वदेशी तथा विदेशी पर्यटकलाई हिँडडुल गर्न समस्या परेको छ ।
स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको ठमेलमा विस २०७४ कात्तिक ६ गतेदेखि सवारीसाधन निषेधित क्षेत्रका रुपमा विकास गरेपनि बाटोमा जम्ने पानी र खाल्डाखुल्डीले समस्या उत्पन्न गराएको हो ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ मेलम्ची खानेपानी ल्याउनका लागि बाटो विस्तार गर्दा खाल्डो परेको बताउनुहुन्छ । “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पाइप बिच्छाउँदा तथा ढल निर्माण गर्दा बाटोको यो अवस्था आएको हो,”– उहाँ भन्नुहुन्छ ।
सञ्चयकोष अगाडि भासिएको सडक पुनःनिर्माण गरिसकिएको र बाँकी सडक पनि केही दिनमानै कालोपत्रे गरिसक्ने उहाँको भनाइ छ । ठमेल क्षेत्रको अधिकांश भाग कामनपा वडा नं २६ मा पर्छ ।
काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी बाटो विस्तार र पानीका कारण ठमेल क्षेत्रमा खाल्डाखुल्डी परेको बताउनुहुन्छ । “पानी परेका कारण बाटो विस्तार हुन ढिलाई भएको छ,”–उहाँ भन्नुहुन्छ ।
महानगरपालिका जतिसक्दो चाँडो उक्त सडकलाई कालोपत्र गर्ने दिशामा अगाडि बढेको उहाँको भनाई छ । अमृतमार्गदेखि सञ्चयकोषसम्मको बाटो विस्तार र कालोपत्र गर्नलाई महानगरपालिकाले रु एक करोड १० लाख बजेट विनियोजन गरिसकेको उहाँ बताउनुहुन्छ ।
वडा नं २६ लाई उपत्यकाको नमूना वडा बनाउन वडा कार्यालय लागिपरेको र केही समयमा नै नमूना वडा बन्ने अध्यक्ष तिवारीको भनाइ छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित