लन्डन । अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइएमओ) को प्रत्येक दुई वर्षमा हुने महासभा संयुक्त अधिराज्यको राजधानी लन्डनमा यही २७ नोभेम्बर, २०१७ बाट प्रारम्भ भएको छ । १७२ देशका प्रतिनिधि र पर्यवेक्षकहरुको उपस्थितिमा ३० औं महासभाको समुद्घाटन गर्दै आइएमओका महासचिव महामहिम किटाक लिमले सदस्य राष्ट्रहरुको क्षमता अभिवृद्धि, सामुद्रिक संगठनको सदस्यहरुका दीर्घकालिन समस्या समाधानमा सामूहिक प्रतिवद्धता एवं सुरक्षित, दिगो र वातावरणमैत्री सामुद्रिक पारवहनका लागि चालु महासभाको ठोस र सार्थक योगदान रहने विश्वास व्यक्त गरे ।
महासभाको पहिलो बैठकले आइएमओका लागि चिलीका स्थायी प्रतिनिधि महामहिम रोलाण्ड द्रागो रोद्रिरेजलाई महासभाको अध्यक्ष निर्वाचित गरेको छ भने आइएमओका लागि साइप्रसका स्थायी प्रतिनिधि महामहिम युरिपेद्स एल एभ्रिभेद्स र आइएमओका लागि जर्जियाका स्थायी प्रतिनिधि महामहिम श्रीमति तमर बेरुस्काभीलाई क्रमशः प्रथम र द्वितीय उपाध्यक्ष निर्वाचित गरेको छ ।
महासभाको दोश्रो सत्रमा सम्वोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा आइएमओका लागि नेपालका स्थायी प्रतिनिधि एवं बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीले नेपाल एक भूपरिबेष्ठित राष्ट्र भएकाले अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरुले प्रदान गरेका समुद्रसम्मको पारवहन पहुंच सम्वन्धि अधिकार प्राप्तिका लागि विश्वमञ्चमा अग्रपंक्तिमा उभिरहेको विचार व्यक्त गरे । राजदूत सुवेदीले समुद्रबाट नेपाल टाढा रहेपनि जलवायु परिवर्तन, सामुद्रिक वातावरणको बढ्दो दुरावस्था र सामुद्रिक व्यापारको बढ्दो असुरक्षाप्रति विश्व समुदायसंगै नेपाल पनि चिन्तित रहेको बताउंदै यसअघि भएका सामूहिक निर्णय र साझा प्रतिवद्धताहरुको कार्यान्वयन अहिलेको आवश्यकता भएको धारणा राखेका थिए ।
महासभाको १ डिसेम्बर, २०१७ मा सम्पन्न निर्वाचनमा समूह क बाट चीन, ग्रीस, इटाली, जापान, नर्वे, पनामा, गणतन्त्र कोरिया, रुस, संयुक्त अधिराज्य र संयुक्त अधिराज्य अमेरिका कार्यकारी परिषदमा दुई वर्षका लागि निर्वाचित भएका छन् भने समूह ख बाट अष्ट्रेलिया, ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, भारत, नेदरल्याण्ड, स्पेन, स्वीडेन र संयुक्त अरब इमिरेट्स निर्वाचित भएका छन् ।
त्यसैगरि, समूह ग बाट बहमास, बेल्जियम, चिली, साइप्रस, डेनमार्क, इजिप्ट, इन्डोनेसिया, जमैका, केन्या, लाइबेरिया, मलेसिया, माल्टा, मेक्सिको, मोरक्को, पेरु, फिलिपिन्स, सिंगापुर, दक्षिण अफ्रिका, थाइल्याण्ड र टर्की गरी २० राष्ट्र कार्यकारी परिषदमा निर्वाचित भएका छन् ।
आगामी दुई वर्षका योजना र कार्यक्रमहरु पारित गर्ने कार्यसूची रहेको महासभा आगामी ६ डिसेम्बर २०१७ सम्म जारी रहने लन्डनस्थित नेपाली दूतावासले आइतबार सांझ जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा