लन्डन । युरोप र उत्तर अफ्रिकाको बीचमा रहेको सानो युरोपेली मुलुक माल्टा नेपालीको नयां गन्तव्य बनेको छ । विद्यार्थीबाहेक वर्क परमिट भिसा लिएर नेपालीहरु माल्टा जाने क्रम बढेको हो । अहिले करिब अढाइ सय नेपाली त्यहां विभिन्न क्षेत्रमा कार्यरत रहेपनि रोजगारीका लागि माल्टाबाट थप कामदार माग भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । लन्डनकै दूतावासले माल्टा सम्वन्धि मामिला पनि हेर्छ ।
‘अहिले माल्टाबाट २४८ जना नेपाली कामदारको माग भई त्यसको प्रमाणिकरणका लागि दूतावासमा अनुरोधपत्र आएको छ’, लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले भने । केही समयअघि मात्र माल्टा पुगेर फर्किएका आरणले उक्त देश नेपालीको नयां गन्तव्य बन्दै गएको बताए । आरणसहित सैनिक सहचारी प्रदीपजंग केसीले माल्टास्थित नेपाली समुदायसंग अन्तरक्रिया गरेका थिए । माल्टा युनिभर्सिटीमा करिब २० जना नेपाली अध्ययनरत छन् ।
माल्टामा मल्टी नेशनल कम्पनी विशेष गरि सर्भिस सेक्टर र कलकारखाना बढिरहेकाले नेपाली कामदार माग भएको बताइन्छ । त्यहां प्रतिघण्टा साढे ४ युरो ज्याला र मासिक कमाइ करिब ८ सय युरो हुन्छ । खर्च कटाएर मासिक ४ सय युरो वचत हुन सक्छ ।
त्यहां विद्यार्थीलाई काम गर्न भने अनुमति छैन् । ‘तर नेपालका केही म्यानपावर कम्पनीले १२ लाख रुपैयांसम्म लिएर विद्यार्थीले पनि काम पाउंछन्, ५ वर्षमा स्थायी बसोबास अधिकार (पिआर) पाइन्छ भनेर भ्रम फैलाइरहेको पाइयो । त्यो सरासर गलत हो’, आरणले भने ।
उनले भ्रमणका क्रममा माल्टाको विदेश तथा व्यापार प्रवर्धन मन्त्रालयका निर्देशक क्लाउड बोनेलोसंग भेटेका थिए । भेटमा नेपाल र माल्टाबीच सुमधुर सम्वन्ध विस्तार, सहयोग आदानप्रदान र नेपालीलाई रोजगारी एवं विद्यार्थीलाई सहज रुपमा भिसा र काम गर्न अनुमति दिनेबारे छलफल भएको आरणले जनाए । नेपाल र माल्टाबीच द्विपक्षीय परामर्श संयन्त्र बनाउन नेपाल सरकार इच्छुक रहेको समेत आरणले अवगत गराएका थिए ।
माल्टा आप्रवासीहरुकालागि प्रवेश मार्गको रुपमा रहंदै आएको छ । धेरैजसो आप्रवासीहरु युरोपका अन्य मुलुक छिर्नकालागि पहिले माल्टा जाने गर्दछन् । केवल चार लाख जनसंख्या भएको माल्टा सन् २००४ मा युरोपेली संघको सदस्य बनेको हो । युरोजोन क्षेत्रको सबैभन्दा सानो अर्थतन्त्र रहेको माल्टाको अर्थतन्त्र व्यापार, पर्यटन र उद्योगधन्दामा आधारित छ ।
ब्रिटेनको भूतपूर्व उपनिवेशको रुपमा रहेको माल्टा सन् १९६४ मा स्वतन्त्र बनेको हो । नेपाल र माल्टाले सन् १९८३ मा दौत्य सम्वन्ध कायम गरेका हुन् । काठमाडौंमा माल्टाको अनरेरी कन्सुलेट रहेको छ भने लन्डनस्थित नेपाली दूतावासले माल्टा सम्वन्धि मामिला हेर्दै आएको छ । इकान्तिपुर
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा