लामो समयपछि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को नेतृत्व कृष्णकुमार राईको काँधमा आएको छ । नेतृत्व वहन गरेपछि राईले युके, हङकङ र नेपालमा संगठन पुनर्गठन गर्नुका साथै गोरखाहरुको कार्यगत एकतामा लचिलो नीति लिएका छन् । लामो समय एक्लै यात्रा गर्दैआएको गेसो अहिले अरु गोरखा संस्थासित सहकार्यमा आएको छ । प्रस्तुत छ यिनै सन्दर्भमा उनीसित गरिएको कुराकानी :
मार्च २९ मा तपाईहरुको बेलायती रक्षा मन्त्रीसित वार्ता भयो । खास के विषयमा वार्ता केन्द्रीत रह्यो ?
इतिहासमा पहिलोपटक रक्षा मन्त्रीसित पहिलोपटक उहाँकै अफिसमा गोरखाहरुले आफ्नो समस्या सुनाउन पाएको पहिलोपटक हो । यो प्रारम्भिक वार्ता हो र सकारात्मक हिसाबले गएको छ । वार्तामा हामीले राख्नपर्ने कुनै कुरा पनि छोडेका छैनौँ । समान पेन्सन, पेन्सन सीधै हाम्रो राष्ट्र बैँकमा जानुपर्छ, छोराछोरीलाई युके आउन ३० वर्षको उमेर वन्देज हटाइनुपर्छ, चर्को भिसा शुल्क हटाइनुपर्छ भन्ने कुरा उठायौँ । विधवाहरुलाई बिनाकटौती पूरा पेन्सन, भत्ता दिइनुपर्छ, हवाई काण्डमा स्पष्टीकरण दिने मौका समेत नदिई बिना पेन्सन पठाइएका १११ जनालाई क्षतिपूर्ति दिइनुपर्छ र नेपालमा रहेका गोरखाका छोराछोरीको शिक्षादीक्षाको विषय उठाएका छौँ । यसैगरी, गोरखा सेवा वैध हो कि अवैध हो ? वैध हो भने भिन्नभिन्न सुविधा किन ? अवैध हो भने गोरखा ब्रिगेड पनि अवैध हो र अवैध संस्थाले भर्ती गरेर तेस्रो देशको विपक्षमा लडाउन पाउँदैन । यसमा गेसोका २१ बुँदा समावेश छन् । यस्ता ६१ सुत्रीय मागहरुका बारेमा मेजर जुद्धबहादुर गुरुङले एक-एक गरेर व्याख्या गर्नुभयो । यो अवसर बनाउनका लागि युकेस्थित नेपाली राजदूतले ठूलो भूमिका खेल्नुभएको छ । यसका लागि उहाँलाई हामीले गोरखाहरुका तर्फबाट धन्यवाद पनि दिइसकेका छौँ ।
तपाईहरुले ६१ बुँदे विभेदका फेहरिस्त प्रस्तुत गर्नुभयो । त्यसप्रति मन्त्रीको के भनाइ थियो ?
‘यो गम्भीर विषय हो । अहिले नै मैले यो गरिहाल्छु भन्न मिल्दैन । यो २२ हजार भूपूको सवाल हो केहीको कुरा होइन । म यसलाई चाँडै नै सकारात्मक परिणाम दिनेतर्फ सोच्छु । तर यी सबै मुद्दाहरु गोरखाहरुको प्रतिनिधित्व समेत रहेको प्राविधिक समितिले अध्ययन गरेर कसरी समाधान हुनसक्छ भन्ने नै मूल विषय हो र त्यसले नै यसलाई निर्धारण गर्छ मैले अहिले यही भन्ने अवस्था छैन’ भन्नुभयो ।
दुई शताब्दी लामो गोरखा भर्तीको इतिहासमा पहिलोपटक आफ्नो रोजगारदाता बेलायती सरकारको प्रतिनिधिसित वार्ता गर्नुभयो । यस्तो दिन आउला भन्ने कहिल्यै सोच्नुभएको थियो ?
सोचेको पनि थिएन । वास्तवमा समय आउँदोरहेछ । म पनि गोरखा आन्दोलनमा लागेको २५ वर्षभो । यो अवधिमा धेरै उकालीओराली भोगेका छौँ । तर त्यतिबेला पनि यो अवस्था आउँछ भनेर सोचेका थिएनौँ । इतिहासमा पहिलोपटक बेलायती सरकारको रक्षा मन्त्रीसित टेबुलको आम्नेसाम्ने हामी बोल्दै थियौँ । हामीले सेवा गरेको मुलुकको रक्षा मन्त्रीले हाम्रो सवाल गम्भीरतापूर्वक सुन्नुभयो । यो नै ठूलो कुरा हो । अब यसको प्रतिफल कसरी आउँछ भनेर हामी सजग हुनुपर्छ । अब प्राविधिक समिति सितको बसाईमा हामीले अरु गम्भीरतापूर्वक प्रस्तुत हुनुपर्छ ।
वार्ताबाट समाधान निस्कनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? जस्तो धेरै कुरा त ‘बडी’ ल्याङग्वेजबाट पनि थाहा हुन्छ ?
मलाई धेरै विश्वास लागेको छ । किनभने उहाँले आफैँले गोरखालीको पीडा सुन्ने वातावरण बन्यो । पीडितहरु नै आफ्नो कुरा बोल्दै थिए । काम दिने पक्षधरले कामदार समूहको पीडा गम्भीरतासँग सुन्नुभएको छ र उहाँको टोलीले विस्तृतरुपमा नोट गरिरहेका थिए । उहाँको अनुहारले पनि ‘हामीले यो गर्नुहुँदैनथ्यो’ भन्ने देखाउँथ्यो । हामी एकदमै आशावादी छौँ । हामीले आगामी दिनमा जति प्राविधिक समितिलाई विश्वस्त बनाउन सक्छौँ र प्रमाण दिन सक्छौँ त्यति नै उपलब्धि हात पार्न सक्छौँ ।
अघि यहाँले भन्नुभो, राजदूतले बैठकका लागि पहल गरिदिनुभयो । के नेपाल सरकारले गोरखा आन्दोलनप्रति लिने नीतिमा परिवर्तन भएको हो ।
नीति नै परिवर्तन म भन्न सक्दिनँ तर अहिलेको सरकारले लिने दृष्टिकोणमा परिवर्तन आएको छ । हामीले गरिरहेका कुरा ‘जेन्युइन’ छ । एउटा नेपाली नागरिक विदेशमा गएर अन्याय भोगिरहेको छ । यो सवाल गोरखाहरुले उठाइरहेका छन् । यसमा अहिले राज्यले आफ्नो दायित्व पूरा गरिरहेको पाएको छु किनभने म आफैँले प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरिरहँदा उहाँले चाख देखाउनु भयो र गम्भीरतापूर्वक लिनुभयो । उहाँले ‘नेपाल सरकार, बेलायत सरकार, सिंगापुर र ब्रुनाइ सरकारसित यसबारेमा कुरा गर्छु’ भन्नुभयो । परराष्ट्र मन्त्रीले पनि ‘म गम्भीर छु र राजदूतलाई आवश्यक कार्य गर्न निर्देशन दिइसकेको’ बताउनुभयो । यसरी वर्तमान नेपाल सरकार गोरखाहरुको सवालमा गम्भीर भएको पाएको छु ।
नेपाल सरकारले चाहँदा त केही हुँदोरहेछ नि ?
इच्छाशक्ति हुन्छ र आफ्ना नागरिकप्रति सरकार उत्तरदायी हुने हो भने ‘तपाईको सेवा गरिरहेका मानिसहरु किन असन्तुष्ट छन् ? चित्त बुझाएका छैनन् । सडक, सदन र न्यायालयमा पुगिरहेका छन् ? उनीहरुको कुरा सुनिदिनुहोस्’ भनेर नेपाल सरकारले भने मात्र बेलायतले सुन्नैपर्छ र समाधान गर्ने पक्षमा जानैपर्छ ।
भनिन्छ गोरखाहरु फुट्न मात्र होइन जुट्न जान्दैनन् । अझ तपाईहरु त कुटाकुट गरेको दृष्टान्त पनि छ । कसरी ऐतिहासिक रुपमा एकतावद्ध हुनुभयो ?
हिजो गोरखाहरुकै बीचमा कुटाकुट पनि भएकै हो । त्यो स्थितिदेखि गुज्रिरहेका थियौँ । तर हिजो पनि सहकार्यका हामीले प्रयत्न नगरेका होइनौँ । तर नेतृत्वको आफ्नै काम गर्ने शैली, सोच आदिका कारण सम्भव हुन सकेन । अहिले अरु गोरखा संस्थामा भएका कतिपय साथीहरु पहिले गेसोमै थिए । उहाँहरुलाई गेसोमा ल्याउने पहल नभएको होइन । जब म गत सेप्टेम्बरमा गेसोको सभापति भएँ तब मैले गोरखाहरुका बीचमा कार्यगत एकता कायम गराउने, पुराना साथीहरुलाई गेसोमा फर्काउने प्रतिवद्धता गरेँ । त्यही कारणले पनि अरु भूपू संगठनहरुले पनि फराकिलो सोच बनाए । उनीहरुमा पनि एक हुने माहौल आउँदैछ भन्ने भावनाको विकास हुँदै थियो । सत्याग्रहसित नेपालमा पनि मैले एकताका लागि ढोका खुला छ भनेर भनेँ ।
नेपालमै पनि सत्याग्रहका दुई केन्द्रीय सदस्यसित लामो छलफल भयो । सत्याग्रहका संयोजक कृष्णबहादुर राई नेपाल भएको बखत भेट्ने कोसिस गरे पनि उहाँ पारिवारिक कारणले युके फर्कनुभो । यी सबै हुनलाई दिन आउनुपर्ने रहेछ । त्यो दिन २७ मार्चका दिन नेपाली दूताबास लण्डनमा आयो । सो दिन सत्याग्रहका संयोजक कृष्णबहादुर राईले ड्राफ्ट देखाउनुभयो जसमा गेसोले उठाइरहेका मागहरु सबै थिए । त्यसपछि उहाँले ‘तपाईहरुको सवाल हामीले समेटेका छौँ । त्यसैले हामी एक श्वर भएर जाऔँ’ भन्नुभयो । मैले प्रत्यूत्तरमा ‘भित्र गएपछि उहाँहरुले के प्रस्तुत गर्नुहुन्छ । सोअनुसार हामी प्रस्तुत हुन्छौँ’ भनेँ । भित्र मेजर जुद्धबहादुर गुरूंगले बाहिर कुरा भएअनुसार नै प्रस्तुति दिनुभयो र मैले गेसोको ड्राफ्ट झोलामा राखेँ । २८ तारिख हामी गेसो कार्यालयमा फेरि बैठक बसेर संयुक्त वक्तब्य जारी गरयौं । इतिहासमा पहिलोपटक चारैतिर फर्किएर बसेका भूपूहरु विगतका कुरा बिर्सिएर आफ्ना अधिकारका लागि एउटै आवाज बनाएर जानुपर्छ भन्ने गेसोको नीति अहिले पूरा भएको छ । यहाँ कसैले जस लिने कुरा होइन हामी साझा सवालमा सबै एक भएका छौँ । यसले सबैलाई खुशी बनाएको हामीले पाएका छौँ । अब हामी साझारुपमा बोल्छौँ ।
यो एकता अब कति लामो समयसम्म जान्छ ?
यो अटुट रहन्छ । जबसम्म नेपाल र बेलायत सरकारसम्म हामीले लिनुपर्ने हिसाबकिताब पूरा हुन्न तबसम्म यो सहकार्य सुमधूर रहनेछ । यसका लागि दुवैतर्फका मानिसहरु इमानदार हुनुपर्छ । एकअर्कामा विश्वास गर्नुपर्छ। यसका लागि हामी विधि तयार गर्छौँ । त्यो विधिले हामीलाई मार्गनिर्देशन गर्नेछ ।
अहिलेसम्म गेसोले आफूलाई पृथक राख्दै आएको थियो । अब तपाईको नेतृत्वको गेसोले त्यसलाई कसरी निरन्तरता दिन्छ ?
यो मेरो लागि चुनौती हो साथै मसित अवसर पनि छ । यदि त्यो अवसरलाई पक्रन सकेँ भने ऐतिहासिक उपलब्धि पनि हात लाग्ने छ । हिजो हामी संकुचित अवस्थामा चलेका छौँ कि भन्ने हिजो पनि लाग्थ्यो । समीक्षा र पुनर्मूल्यांकनको विषय थियो । मैले नेतृत्वमा आएपछि समीक्षा गरेँ र हामीबीच त्यतिविधि फरक पाइनँ । त्यसैले सहकार्यका लागि केही वाधा देखिनँ । अब हामी एकतावद्ध भएरै जानेछौँ । मुद्दामा सहकार्य गर्ने छौँ । समग्र भूपूको हकअधिकार स्थापनाका लागि सहकार्य गरेर होस् वा एक्लै होस् म लागि परेरै छोड्छु ।
साल्मेडाँडामा गोरखा स्मारक बनाउँदै हुनुहुन्थ्यो । त्यसमा अहिले गेसोको संलग्नता निरन्तर छ कि के छ ?
हामी नेपाल गएर राजनीतिक दलका नेता, सरकार, नागरिक समाजका प्रतिनिधिहरुलाई भेट्ने, सुस्त रहेको संगठन पुनर्गठन गर्ने र साल्मेडाँडा निर्माण समिति गठन गर्ने म्याण्डेट लिएर गएका थियौँ । इन्जिनियरसित अब साल्मेडाँडाको पहिलो चरण सम्पन्न गर्न कति लागत लाग्छ त्यसको इष्टिमेट लिएर आउने र यहाँ सहयोग जुटाउने योजना थियो । यसरी हामी अघि बढिरहेका बेला गेसोका भूपू सभापति पदमबहादुर गुरुङज्यूले ‘कृष्णकुमार साल्मेडाँडा अवरुद्ध गर्न षड्यन्त्र गर्न नेपाल आएको छ’ भनेर पत्रकार सम्मेलन गर्नुभयो । हामी स्तब्ध बन्यौँ । त्यसपछि पनि हामीले विभिन्न प्रयास गरयौं । तर उहाँले ‘साल्मेडाँडा कसैलाई समावेश नगरी एक्लै बनाउँछु । सरकार वा अरु कसैको एकपैसा लिन्न’ भनेपछि हामी फर्कन बाध्य भयौँ । तर उहाँले जे भन्नुभए पनि उहाँप्रति हाम्रो सम्मान, आदर छ । यदि उहाँ सबै मिलर बनाऔँ भन्ने मतमा आउनु भयो हामी साल्मेडाँडा सम्पन्न गर्छौं । बनाएरै छोड्छौँ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा