लन्डन । ब्रिटेनस्थित नेपाली प्राज्ञ तथा पेशाकर्मीहरुले विदेशमा बसिरहेका नेपालीको ज्ञान र सीप नेपालको विकासमा प्रयोग गर्ने वातावरण बनाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।
शनिबार लन्डन उलवीचस्थित साउथ लन्डन एकेडेमीमा आयोजित कार्यक्रममा बोल्दै ब्रिटेनको लिडस विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले अहिले नेपालमा संकीर्ण राष्ट्रियता र संकुचित सोचाइ हावी रहेको आक्षेप लगाए । पैसाको मुठो मात्र हैन, ज्ञानको मुठो लिएर फर्कनेहरुलाई पनि स्वागत गर्ने वातावरण नेपालले बनाउनुपर्ने जनाउंदै उनले आफू स्वदेश फर्केर सकेको सेवा गर्न तयार रहेको बताए ।
मेची महाकालीको सीमा भित्र मात्रै नेपाल राष्ट्रलाई संकुचित गर्न नमिल्ने बताउंदै प्रा. सुवेदीले राष्ट्र भनेको मुलुकप्रतिको लगाव हो, संसारभरि छरिएर रहेका नेपालीहरु नै नेपाल राष्ट्र हुन् भन्ने धारणा राखे । बौद्धिक लगानी नेपालमा भित्र्याउने इच्छा नेपाल सरकारमा छ कि छैन् भन्ने प्रश्न गर्दै उनले विदेशिएका नेपालीहरुलाई निषेध गर्ने मनसाय नयां संविधानमा हुनु दुःखको कुरा भएको बताए । नयां संविधानमा संशोधन आवश्यक भएकाले आफूले बुंदागत रुपमा संशोधनको मस्यौदा नेपाल पठाएको पनि उनले जनाए ।
सोसाइटी अफ हाइली स्कील्ड नेप्लीज प्रोफेसनल्स यूके शाखाद्वारा ‘नेपालमा शान्ति तथा विकासका चुनौती र अवसरहरु’ विषयक छलफल कार्यक्रममा बेलायतको छोटो भ्रमणमा आएका मधेसी मामिलाका ज्ञाता तथा विश्लेषक तुलानारायण साहले नेपालमा संरचनात्मक तथा कार्यगत गरी दुई किसिमको समस्या रहेको धारणा राखे । नेपाली समाजको विविधता राज्यमा नझल्कने संरचनागत समस्यालाई संविधान मार्फत संबोधन गर्नुपर्ने तर कार्यशैलीमा फेरबदल नहुंदासम्म परिवर्तन अनुभूत गर्न नसकिने उनको कथन थियो । ‘राज्य भनेको बन्दुक र कलम चलाउने तथा पैसा बांड्ने ठाउं हो, तर ती तिनै ठाउंमा एउटै समुदायको वर्चस्व रहेकाले अहिलेको समस्या देखिएको हो’, साहले भने । मधेसी, जनजाति, दलित, महिला लगायत उपेक्षित समुदायलाई नसमेटिंदासम्म नेपालमा अस्थिरता कायमै रहने पनि उनले दावी गरे ।
सेन्टर फर नेपाल स्टडीज यूकेसंग आवद्ध एकजना अनुसन्धानकर्ता डा. चन्द्र लक्सम्बाले नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको क्रीडास्थल बनेकाले नै सधैं अस्थिर रहिरहेको जिकिर गरे । भारत, चीन, अमेरिका लगायतका मुलुकका नेपालमा रहेको स्वार्थको चर्चा गर्दै उनले राष्ट्रियता र राष्ट्रिय एकता नै विदेशी चलखेलसंग जुध्ने एकमात्र उपाय रहेको बताए । डा. लक्सम्बाले गाउंघरमा रहेको स्थानीय अनौपचारिक सिकाइबाट प्राप्त ज्ञानलाई देशविकासमा लगाउन पनि सुझाव दिए ।
लण्डन स्कुल अफ इकोनोमिक्समा लैङिगक विषयमा अनुसन्धान गरिरहेकी डा. पुनम यादवले सशस्त्र द्वन्द्व सकिएको एक दशकपछि पनि समाजका विभिन्न क्षेत्रमा द्वन्द्वका असर कायमै रहेको बताइन् । झण्डै चालिस हजार महिला क्याविन रेष्टुरेण्टहरुमा काम गरिरहको र ती मध्ये करिब ८० प्रतिशत द्वन्द्वका कारण विस्थापित महिलाहरु भएको एक सर्वेक्षणले देखाएको बताउंदै यादवले ती महिलाहरुलाई सुरक्षित रोजगार र आत्मसम्मान दिनेतर्फ राज्यको ध्यान नपुगेको गुनासो गरिन् । हाल देखिएको राजनीतिक अस्थिरता अन्त्य गरी जवाफदेहीता बढाउने अहिलेको प्रमुख चुनौती रहेको भन्दै उनले नयां नेतृत्वको विकास कसरी गर्ने भन्ने तर्फ सबैले ध्यान दिनुपर्ने बताइन् ।
अक्सफोर्ड विश्वविद्यालयसंग सम्वद्ध अनुसन्धानकर्ता डा. कृष्ण अधिकारीले गएको दुई वर्ष नेपाल बस्दा आफूले चारैतिर सिन्डिकेट र मिडलम्यानहरुको हालीमुहाली देखेको चर्चा गर्दै पदको दुरुपयोग ठूलो चुनौती रहेको बताए । उनले नेपाली समाजमा रहेको सांस्कृतिक पूंजीलाई प्रवर्धन
गर्दै देश सुधार्न एउटा ठूलै नैतिक अभियान चलाउन आवश्यक रहेको पनि उल्लेख गरे ।
लन्डन स्थित नेपाली दूतावासका प्रथम सचिव शरदराज आरनले शुभकामना दिंदै नेपाल बाहिर प्राज्ञिक क्षेत्रमा भएका यस्ता छलफलले नेपालमा नीति निर्माणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको शुरुमा सोसाइटी अफ हाइली स्कील्ड नेप्लीज प्रोफेसनल्स यूके शाखाका अध्यक्ष डा. तेजेन्द्र फेरालीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विदेशमा विभिन्न पेशा र व्यवसायमा रहेका नेपालीहरुको सीप र ज्ञान नेपालको हितमा उपयोग गर्न आफूहरुले काम गरिरहने बताएका थिए ।
कार्यक्रमका सहभागी तथा वीज्ञहरुबीच छलफल पनि राखिएको थियो ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड