लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले दूतावासमा ढिलासुस्ती, भ्रष्टाचार, भेदभाव र अशिष्ट व्यवहार कदापी हुन नदिने अठोेट व्यक्त गरेका छन् । लन्डन मिसन सम्हालेको आठौं दिन शुक्रबार सांझ दूतावास भवनमा बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुमाझ उनले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
आफूलाई अत्यन्त सहयोगी, सरल, सकारात्मक र कसैको प्रभावमा नपर्ने व्यक्तिका रुपमा चित्रण गर्दै उनले दूतावासमा कसैलाई पाखा र कसैलाई काखा कदापी नगरिने बताए । ‘राजनीतिक आस्था फरक होला, भौगोलिक र धार्मिक आस्था फरक होला । कोही प्राध्यापक होलान्, कोही विद्यार्थी । धनी, गरिव तराई मधेश । कुनै पनि आधारमा भेदभाव हुन्न । तलमाथि भए मलाई सिधै भन्नु होला’, उनले भने ।
डा. सुवेदीले दूतावासका कुनै कर्मचारीले अशिष्ट व्यवहार, भ्रष्टाचार वा अन्य गलत काम गरेको भेटिए तुरुन्त काठमाण्डौं फर्काइदिने चेतावनी पनि दिए । ‘राजदूतको हिसावले नेपाल र नेपालीको शीर ठाडो हुने काम गर्छु’, उनले थपे, ‘नेपाल र नेपालीको छवि, प्रतिष्ठा उच्च राख्ने कुरामा किन्चित पछि पर्ने छैन् ।’ आफूलाई राजदूत होइन साथीका रुपमा हेरिदिन आग्रह गर्दै सुवेदीले सैद्धान्तिक ज्ञान भएपनि व्यवहारिक पक्षबारे आफूलाई सिकाउन पनि अनुरोध गरे ।
दूतावासको सेवा छिटो, सहज र सुलभ बनाउन प्रयत्नरत भएको बताउंदै उनले सकेसम्म जनमैत्री, प्रविधिमैत्री र नेपाली मैत्री बनाइने पनि जनाए । बेलायतस्थित नेपाली समुदायबाट रचनात्मक र सकारात्मक सुझाव लिएर अगाडि बढ्न आफूले चाहेको बताउंदै उनले सञ्चारकर्मीमाझ अनुरोध गरे, ‘केही कमजोरी भए सिधै हामीलाई भन्नुस्, हामीलाई सुधार्ने मौका दिनुस् न कि पहिल्यै जनतालाई एकतर्फी समाचार ।’
दूतावासमा केही सुधारका काम भइसकेको जनाउंदै उनले टेलिफोन, इमेलको तत्काल जवाफ दिने र भिजा, राहदानी वितरण एवं कन्सुलर सेवा समय बढाइ सकिएको पनि उल्लेख गरे । कसैलाई अप्ठ्यारो परिस्थिति आइपरे दूतावास शनिबार, आइतबारका दिन पनि खोलेर काम गरिदिने विश्वास समेत उनले दिलाएका छन् ।
राजदूत डा. सुवेदीले आफ्नो चार वर्षे कार्यकालमा गर्ने प्रमुख कार्ययोजना समेत सार्वजनिक गरे । उनले नेपालमा संसदीय समितिमा एक घण्टा ५८ मिनेट बोलेका कुरा यहां लागू गर्ने पनि विश्वास दिलाए ।
उनले तत्काल र दीर्घकालमा गर्ने कार्ययोजना सुनाए । सुवेदीले बेलायत नेपाल कुटनीतिक सम्वन्धको २०० वर्ष गांठ मनाइरहंदा ०१७ को मार्चसम्म पर्यटन सम्वन्धि कार्यक्रम, फोटो प्रदर्शनी, व्यापार मेला आदि गरि अन्तिममा ग्रयाण्ड रिसेप्सनमार्फत दौत्य सम्वन्धको उत्सव बिट मार्ने सरसल्लाह गरिएको जनाए ।
बेलायती राजकुमार ह्यारीको केही महिना अघि नेपालमा भएको औपचारिक भ्रमण र नेपाली क्रिकेट टिमले बेलायतमा मैत्रीपूर्ण खेल खेल्नुले दौत्य सम्वन्ध विस्तारमा कोशेढुंगा सावित भएको पनि उनले उल्लेख गरे । ह्यारीको भ्रमणले भूकम्पपछि अन्तर्राष्ट्रिय स्तरमा खस्किएको नेपालको छवीमा सुधार आएको पनि उनले बताए ।
दुई वर्षभित्र दुवै देशका उच्चस्तरिय भ्रमण आदानप्रदानको कार्यक्रम राखिएको पनि उनले जानकारी दिए । नेपालका प्रधानसेनापतिको भ्रमण कार्यक्रम राखिएको अवगत गराउंदै राजदूत सुवेदीले दुवै देशका परराष्टमन्त्री लगायतको उच्चस्तरिय भ्रमण गराउने र सम्भव भएसम्म नेपालीले भिजा लिन ब्रिटिश हाइ कमिसन, नयांदिल्ली जानुपर्ने वाध्यताको अन्त्य गर्न कुटनीतिक संवाद र सिधा हवाइ सम्पर्कका लागि संवाद थालिने कार्ययोजना पनि सुनाए ।
सुवेदीले कन्भेन्सनल डिप्लोपेसी, पोलिटिकल डिप्लोमेसी, डेपलप्मेन्ट डिप्लोमेसी एवं सोसियो कल्चरल डिप्लोमेसी आफ्नो प्राथमिकता रहेको पनि जनाए । उनले बेलायतस्थित सयौं नेपाली संघसंस्थाका हरेक कार्यक्रममा पुग्न सम्भव नभएको बताउंदै भने, ‘बेलायतसित सम्वन्ध अभिवृद्धि मेरो प्रमुख जिम्मेवारी हो, मलाई त्यता पनि काम गर्न दिनु ।’
भूपू गोर्खा समस्या समाधानको प्रतिवद्धता
राजदूत डा. सुवेदीले भूपू गोर्खाहरुको माग सम्वोधन र समाधान ज्वलन्त मुद्दा रहेको उल्लेख गर्दै कुटनीतिक संवादद्वारा यसको सामाधान गर्न पहल गर्ने बताएका छन् । ‘राजनीतिक भन्दा कुटनीतिक रुपमा संवोधन गर्न जरुरी छ’, उनले भने, ‘यो दुई सरकारबीचको कुरा हो । युरोपेली अदालतले गोर्खाहरुको विपक्षमा फैसला गरिसकेको अवस्थामा यसको समाधान सहज र सजिलो भने छैन् ।’
उनले भूपू गोर्खाहरुलाई आफ्ना माग लिएर युरोपेली अदालत गइहाल्न नहुने पनि बताए । ‘यसले असहज र अप्ठ्यारो परिस्थिति निम्त्याएको छ तर सहमति, सम्झौता र सकारात्मक निचोडमा पुगिने मेरो विश्वास छ’, उनले भने ।
दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा पत्रकारहरु खगेन्द्र नेपाली, भगिरथ योगी, नेपाल पत्रकार महासङ्घ युकेका अध्यक्ष नरेश खपांगीमगर, चिरन शर्मा, सोनाम शेर्पा लगायतले आ आफ्ना सुझाव र दूतावाससंगको अपेक्षा व्यक्त गरेका थिए ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह