
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि फर्किनेक्रममा शुभेच्छुकलाई अभिवादन गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १९ साउन । गणतान्त्रिक एवम् लोकतान्त्रिक नयाँ संविधान जारी भएपछि दोस्रो प्रधानमन्त्री बन्ने सौभाग्य नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त गर्नुभएको छ ।
भूमिगत राजनीतिबाट खुला राजनीतिमा प्रवेश गरेपछि उहाँ दोस्रो पटक मुलुकको सर्वाेच्च तह प्रधानमन्त्री पदमा पुग्न सफल हुनुभएको छ । माओवादी पार्टीका तर्फबाट अध्यक्षका हैसियतमा उहाँ दुईपटक प्रधानमन्त्रीको सर्वाेच्च पद हाँक्दै हुनुहुन्छ ।
संसदीय व्यवस्थाको खरो र दरो पक्षपाती एवम् सदनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको साथ र समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । यसबाट संसदीय लोकतान्त्रिक प्रजातन्त्रमा नयाँ इतिहासको रचना समेत भएको छ ।
संसदीय प्रजातन्त्रमा आस्था र विश्वास राख्नेहरु भन्दछन् – राजनीतिमा सधैँका लागि कोही कसैको शत्रु र मित्रु हुँदैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र दिई २०५२ फागुन १ गते भूमिगत राजनीतिमा हाम फालेका अध्यक्ष दाहाललाई तिनै देउवाले उहाँलाई प्रधानमन्त्री पदको प्रस्ताव गरी नयाँ राजनीतिक संस्कारको सुरुवात गर्नुभयो । नेकाको यो त्यागलाई लोकतान्त्रिक संसदीय प्रजातन्त्रको अनुपम उदाहरण मान्न सकिन्छ ।
आफ्नो दल ठूलो हुँदाहुँदै नेका सभापति समेत हुनुभएका पूर्वप्रम देउवाले देखाउनुभएको यो ‘राजनीतिक उदारता’मा कुन पार्टीले बढी लाभ उठाउँला ? यो भविष्यमा देखिएला नै । नेपालको संसदीय अभ्यासमा सदनमा तेस्रो हुने पार्टीले बढी प्रधानमन्त्रीको लाभ लिइरहेको देखिन्छ । यही लाभबाट नै विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सूर्यबहादुर थापा र लोकेन्त्रबहादुर चन्दले प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गर्नुभएको थियो ।
विगतमा अध्यक्ष दाहालकै साथ र सहयोगमा नेकपा (एमाले)का नेताद्वय माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बन्नुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रम बनाउँदा पनि अध्यक्ष दाहाल नै प्रस्तावक हुनुहुन्थ्यो । तर पहिलोपटक प्रधानमन्त्री बन्न एमालेको साथ पाउनुभएका अध्यक्ष दाहालले यसपटक एमालेको साथ र सहयोग पाउनुभएन ।
संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादी सबैभन्दा ठूलो शक्तिका रुपमा स्थापित भएसँगै उहाँले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाउनुभएको थियो । नेपालका वामपन्थी नेतामध्ये दोस्रोपटक प्रधानमन्त्री हुने अध्यक्ष दाहाल पहिलो व्यक्ति हुनुहुन्छ ।
तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुनुभयो भने त्यसपछि क्रमशः दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई र केपी ओली त्यो पदमा आसीन हुनुभयो ।
अघिल्लो पटक २१ राजनीतिक दलको समर्थनमा दुई तिहाइभन्दा बढी अर्थात् ४६४ मतका साथ प्रधानमन्त्री पदमा दाहाल निर्वाचित हुनुभएको थियो ।
दशवर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गरेका अध्यक्ष दाहाल बालुवाटारमा सार्वजनिक भएको १० वर्षमै मुलुकको कार्यकारी प्रमुख बनेर दोस्रो पटक बालुवाटार प्रवेश गर्न सफल हुनुभयो ।
कास्की ढिकुर पोखरीमा छविलालको छवि बनाउनुभएका दाहालले राजनीतिमा कल्याण, विश्वास, निर्माणजस्ता उपनाम हँुदै ‘प्रचण्ड’का रुपमा ख्याति आर्जन गर्नुभएको हो ।
पहिलो पटक प्रधानमन्त्री हँुदा दिल खोलेर सघाएको एमाले अहिले विपक्षमा उभिएको छ । प्रमुख दलहरुबीच राष्ट्रिय सहमतिको सरकार गठनको प्रयासले परिणाम दिन नसकेपछि पहिलो ठूलो दलको समर्थनमा संसद्मा तेस्रो भूमिकामा रहेको माओवादीको नेतृत्वमा सरकार गठनको चाँजोपाजो मिलेको हो ।
कार्यकारी अधिकारसहितको प्रत्यक्ष राष्ट्रपतीय प्रणालीको वकालत गर्नुभएका अध्यक्ष दाहालमा मुलुकको शक्ति सन्तुलनका कारण सो एजेन्डाले मूर्तरुप लिन नसकेपनि कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी दोहोरिन पुगेको छ ।
यस पटक उहाँले आफ्नै समर्थनमा रहेको केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव लिएर सदन छिर्नु भयो ।
विगतमा भएको सहमति कार्यान्वयन नगरेको तथा समर्थन गरेको दललाई बेवास्ता गरेर भूमिकाविहीन तुल्याएको आरोप लगाउँदै अध्यक्ष दाहालले ओलीविरुद्ध मोर्चाबन्दी गर्नुपर्ने स्थिति सिर्जना भएको प्रतिक्रिया दिनुभएको थियो ।
विगत दश वर्षसम्म एक अर्काविरुद्ध कटाक्ष गरेर उभिएका लोकतान्त्रिक र वामपन्थी शक्तिबीचको यो गठबन्धन सत्ताको लागि मात्र हुने त होइन भनेर आशङ्का गर्नेहरु पनि छन् । विसं २०२८ मा पुष्पलाल समूहको सदस्यता लिएर वामपन्थी आन्दोलनमा होमिएका अध्यक्ष दाहालले सुरुका दिनमा शिक्षण पेसासमेत अङ्गाल्नु भएको थियो ।
विसं २०५२ फागुन १ गतेदेखि सुरु भएको सशस्त्र द्वन्द्वको नेतृत्व गर्नुभएका दाहाललाई तत्कालीन शाही सरकारको गतिविधिले संसद्वादी दलसँग राजनीतिक सहकार्य गर्ने वातावरण बनाएको थियो । फलस्वरुप २०६३ मङ्सिर ७ गते नेपालको इतिहासमै महत्वपूर्ण दस्तावेजको रुपमा रहेको १२ बँुदे सहमतिले उहाँलाई नेपालको खुला राजनीतिमा अवतरण गरायो ।
नेपालको राजनीतिक क्षेत्रमा प्रखर वक्ताको रुपमा पहिचान बनाउन सफल नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूलाई लागेको बोल्ने र आफ्नो वचनमा अड्न नस्कने नेताको रुपमा पनि चित्रण गर्ने गरिन्छ ।
नयाँ संविधान कार्यान्वयन, नेपालले चीन र भारतबीचमा सन्तुलन कायम राख्दै अगाडि बढ्नु अध्यक्ष दाहालका प्रमुख चुनौती हुन् । संविधान कार्यान्वयन गर्न २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्ने अहं जिम्मेवारी अध्यक्ष दाहालमाथि छ ।
राजनीतिमा फरक विचार राख्नेहरुविरुद्ध आक्रामक शैलीमा उत्रने तथा भावुक भई निर्णय लिने उहाँको बानीलाई कमजोरीका रुपमा पनि हेर्ने गरिन्छ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा