
काठमाडौँ, १३ साउन । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले सम्मान गर्नुभयो ।
गत फ्रेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण २३ रजत र ३४ काँस्यसहित ६० पदक जितेको थियो । उक्त प्रतियोगितामा व्यक्तिगत र टिम इभेन्ट्समा पदक जितेका १७९ खेलाडी, ५१ प्रशिक्षक तथा १८ सङ्घलाई पुरस्कृत गरिएको हो । सोअनुसार व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका निमा घर्ती मगर र फुपुल्हामु खत्रीले जनही रु पाँच लाख पाए । त्यसैगरी फुटबल टोलीका २० खेलाडीलाई भने जनही रु दुई लाख प्रदान गरियो । उनीहरुलाई पनि रु पाँच लाख प्रदान गरिने निर्णय गरिएको भए पनि प्राविधिक कारणले रु दुई लाख मात्र प्रदान गर्न सकिएको बताइएको छ ।
त्यसैगरी व्यक्तिगत स्पर्धामा रजत जित्ने प्रत्येक खेलाडीले रु तीन लाख पाउँदा काँस्य जित्नेले जनही रु दुई लाख हात पारे । साथै टिम इभेट्समा रजत जित्नेले रु एक लाख ५० हजार तथा काँस्य जित्नेले रु एक लाख हात पारे । त्यस्तै विभिन्न खेलका ५१ प्रशिक्षकले रु ५० हजारदेखि तीन लाखसम्म प्राप्त गरे भने १८ खेलकुद सङ्घले रु दुई लाखदेखि पाँच लाखसम्म पुरस्कार पाए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल खेल परम्परा र संस्कृतिका दृष्टिकोणले गौरवशाली देश भएको बताउनुभयो ।
लिगलिगकोटमा दौडिएर जित्ने मात्र राजा हुने परम्पराको दृष्टान्त दिँदै उहाँले यस्तो परम्परा अन्य देशमा भएको आफूलाई थाहा नभएको चर्चा गर्नु भयो । उहाँले भन्नुभयो – “दौडिएर राजा हुने कुरा छोडिदिउँ, तर अब दौडिएरै स्वर्ण पदक भने तपाइँहरुले लिनुपर्छ ।”
प्रधानमन्त्री ओलीले नेपाली खेलकुद क्षेत्रले केही सुःखद सफलता हासिल गरेको भए पनि त्यसैमा चित्त बुझाएर नबस्न खेलाडीलाई आग्रह गर्दै भन्नुभयो – “यो सन्तुष्ट भइहाल्ने क्षेत्र परेन थप सफलताका लागि प्रयास गर्नुपर्छ ।” उहाँले आफू जुनसुकै पदमा रहे पनि खेलकुद र खेलाडीका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन