एक जमाना बेलायतको नेपाली डायस्पोरामा उनको कत्रो बोलवाला थियो । उनीसंग पैसा थियो, साथीभाइको साथ थियो अनि साहस । अल्डरसट बस्ने उनी लन्डनमा भइरहने हरेक कार्यक्रममा ट्याक्सी चढेर पुग्थे । कविता भन्ने कार्यक्रम होस् वा च्यारिटी कार्यक्रम, उनको सहभागिता देखेर आयोजक छक्क पर्थे ।
तर, अहिले समय उनको पक्षमा छैन् । साथीभाइ साथमा छैनन् । एक सप्ताहन्त व्यवसायी एवं समाजसेवी ध्रुव केसीको साथ अल्डरसटस्थित उनको घर पुग्दा वातावरण सुनसान लाग्थ्यो । लन्डन भएका पुराना साथी बेला बेला उनलाई भेट्न पुगे पनि अरु बेला शुन्य छ उनको दैनिकी, मानौं एकान्तवास छन् उनी । उनको हेरचाहमा श्रीमति मिरा कार्की छिन् त्यो बाहेक शुन्य प्राय छ माहोल । दाहिने भाग चल्दैन । बोली राम्ररी बुझिन्न । अहिले बाहिर निस्कन नसक्ने गरि थलिएका छन् । दिनमा दुई घण्टा सरकारले उपलव्ध गराएको केयररले यताउति डुलाउंछन् । बेला बेला लाइब्रेरी समय बिताउने थलो बन्छ । नत्र अधिकांश समय ह्वीलचिअरको सहारामा बिताउनु परेको छ ।
उनी अर्थात हरिविभोर कार्की । बेलायतको नेपाली समुदायमा परिचित नाम हो यो । जीवनको उत्तरार्धमा उनलाई भगवानले पनि हेरेनन् । एक्कासी स्ट्रोक भएर ६ महिना लामो अस्पताल बसाइपछि घर फर्केका उनी ५ वर्ष यता असक्त छन् । ‘मैले के बिराएको थिएं र ? अहिले यसरी खुम्चिनु पर्दा ज्यादै दुःख लाग्छ’, ७० वर्षीय कार्कीको बिलौना थियो ।
ब्रिटिश आर्मी भर्ती भइ करिब ६ वर्ष सेवा गरेर सन् १९६८ मे महिनामा बेलायत उत्रिए उनी । भारतीय व्यापारी रिजु भगवानानीको स्पोन्सरमा लन्डनस्थित क्वालिटी रेष्टुरेन्टमा काम गर्न वर्क परमिट लिएर लन्डन टेकेका थिए कार्की । कार्कीसंगै श्याम महर्जन र मोहम्मद रफी आएका थिए नेपालबाट । नेपाल छंदा होटलमा काम गर्थे उनी तर रेष्टुरेन्टमा काम गरेको बानी थिएन । लन्डन आएपछि मालिक भगवानानीले तिमी प्रशासनिक काम मै पोख्त छौ भनेपछि कार्की नेपाल गएर अन्तर्वार्ता लिंदै नेपालीलाई बेलायत झिकाउने जिम्मेवारीमा रहे । उनले अन्तर्वार्ता लिएर धनबहादुर माली, इश्वर मानन्धर, पूण्यदास मधुकामी, सेते गुरुङ, लन्डन आएका थिए ।
कार्की चन्चल स्वभावका थिए, एकै ठाउंमा रहेर काम गर्न नसक्ने । क्वालिटीमा काम छाडेर त्यसकै अर्को शाखा नटराज गएका उनले उक्त रेष्टुरेन्ट आगलागी भएपछि भोल्गा रेष्टुरेन्टमा काम थाले । यहां पनि छाडेर मार्बल आर्च नजिक पोर्टम्यान इन्टर कन्टिनेन्टल होटल प्रवेश गरे जागिर खान । यही क्रममा वेष्ट मिनिष्टर कलेजबाट एफ आर सी एस परीक्षा पास गरे होटल म्यानेजमेन्टमा ।
शैक्षिक योग्यता र कामको अनुभवले अब आफैं केही गरौं भन्ने साहस आयो उनमा । उनी आफैंले रेष्टुरेन्ट चलाए अल्डरसटमा । करिब ३५ वर्ष जोनी गोर्खा नामक रेष्टुरेन्ट सञ्चालन गरे उनले । आफू पनि भूपू ब्रिटिश आर्मी भएकाले गोर्खाहरुको ‘घर’ अल्डरसट रोजेका थिए लोकेशन । कार्कीले सन् २००१ सम्म उक्त रेष्टुरेन्ट चलाए । रेष्टुरेन्टबाट अवकास लिएपछि उनले आफ्नो आत्मबृत्तान्त लेखेका छन् जोनी गोर्खाज् इज वीथ मि । उक्त पुस्तकमा कार्कीले बेलायतमा देखे भोगेका क्षण उल्लेख गरेका छन् । भेटमा कार्कीले विगत सम्झिए, ‘रेष्टुरेन्ट चलाउन सजिलो थिएन । योग्य मान्छे पाउन मुश्किल थियो । कर्मचारी काम सिकेर बीचैमा छाडिदिंदा धेरै पटक म र श्रीमतिले मात्र व्यवसाय धानेका थियौं ।’
एक जमाना समाजसेवामा मरिहत्ते गर्ने कार्की अहिले बेसहारा जस्तै बनेका छन् । पाका व्यवसायी एवं समाजसेवी ध्रुव केसी कार्कीको योगदान नेपाली समुदायले सधैं सम्झिरहने बताउंछन् ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित