लन्डन । लन्डनस्थित नेपाली दूतावासले सभामुख ओनसरी घर्तीमगर र प्रमुख दलका सचेतकहरुको सम्मानमा मंगलबार सांझ एक स्वागत कार्यक्रम गरेको छ ।
ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियनको निमन्त्रणामा यहांको संसदीय अभ्यास अध्ययन गर्न अहिले बेलायत रहेको ७ सदस्यीय प्रतिनिधिमण्डललाई स्वागत गरिएको हो ।
कार्यक्रममा बेलायती सांसद, लर्डस्, सरकारी अधिकारी, बेलायती विदेश र रक्षा मन्त्रालयका पदाधिकारी, काउन्सिलरहरु र नेपाली संघसंस्थाका प्रतिनिधि एवं पत्रकारहरु गरि करिब एकसय ५० जनाको उपस्थिति थियो ।
दूतावास भवनमा आयोजित उक्त कार्यक्रमका सहभागी त्यतिबेला दंग परे, जतिबेला रात्रीभोज र पिउने कार्यक्रमबाहेक औपचारिक भाषण कत्ति भएन । प्राय कार्यक्रम लामो मन्तव्यका कारण पत्यारलाग्दो बन्ने गुनासो भइरहंदा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले औपचारिक बोल्ने कार्यक्रम नै राखेनन् । सहभागीले सभामुख ओनसरी घर्तीमगरसंग अनौपचारिक वातचित र तस्विर भने मज्जाले लिए ।
भ्रमणमा सभामुखको नेतृत्वमा चार प्रमुख दलका प्रमुख सचेतकहरु नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकाल, एनेकपा (माओवादी) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दीलनाथ गिरी, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्दप्रसाद शर्मा यहां छन् ।
भ्रमणका सिलसिलामा प्रतिनिधिमण्डल खुबै व्यस्त रह्यो । १७ अप्रिल बिहान लन्डन ओर्लिएको संसदीय प्रतिनिधिमण्डललाई १८ अप्रिलमा उप सभामुख र वेज एण्ड मिन्स् अध्यक्षले स्वागत गरेका थिए । साथै हेड अफ द ओभरसी अफिस क्रिस्पिन पोयसरले बेलायती संसद र वेष्टमिनिष्टर संसदीय प्रणालीबारे अवगत गराए ।
संसदीय प्रतिनिधिमण्डलले पहिलो भेट वुमन एण्ड इक्वालिटिज कमिटी अध्यक्ष एवं एमपी मारिया मिलरसंग गरेको थियो । त्यसपछि फरेन अफेयर्स कमिटी सदस्य एमपी एन्ड्रियू रोसिनडेलसंग भेटवार्ता भएको थियो । सोही दिन विदेश मन्त्रालयको दक्षिण एसिया विभाग प्रमुख लाउरा क्लार्क, सर्वदलीय संसदीय समितिका नेपाल ब्रिटेन अध्यक्ष सांसद वीरेन्द्र शर्मा, सर्वदलीय संसदीय समितिका विश्वव्यापी टिबी रोग हेर्ने अध्यक्षसंग पनि भेटेको थियो । उल्लेखित विभिन्न भेटमा बेलायत नेपाल दौत्य सम्वन्ध, भूकम्प र पुनर्निर्माण योजना र डिएफआइडीको विकास कार्यक्रममा समन्वय तथा गोर्खाका गुनासा आदिबारे कुराकानी भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । १८ अप्रिल सांझ प्रतिनिधिमण्डललाई युनियनका कार्यकारी सदस्य एवं सर्वदलीय संसदीय समितिका नेपाल उपाध्यक्ष सांसद डेभिड वायनले एक रिसेप्सन दिएका थिए ।
१९ अप्रिल बिहान प्रतिनिधिमण्डलले वेष्टमिनिस्टर टुर गरेको थियो जसको नेतृत्व फरेन एण्ड कमनवेल्थ अफेयर्स स्याडो मिनिष्टर फेबियन हेमिल्टनले गरेका थिए । दिउसो प्रतिनिधिमण्डल लर्ड स्पिकर ब्यारोनेस डि सौजाले दिएको दिवाभोजमा सरिक भएको थियो ।
त्यसैगरि, प्रतिनिधिमण्डलले हाउस अफ कमन्स् सभामुख जोन बर्काउ, सांसद सिमा मल्होत्रा र अन्तर्राष्ट्रिय विकास समिति पदाधिकारीसंग पनि छलफल गरेको थियो । प्रतिनिधिमण्डलको साथमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री पनि सहभागी थिए ।
प्रतिनिधिमण्डलले बुधबार नर्दन आयरल्याण्डको संसद, कज वे इन्सटिच्युट अन द नर्दन आयरल्याण्ड कन्फ्लिक्ट, पुलिस सर्भिस अफ नर्दन आयरल्याण्ड जस्ता विभिन्न निकाय र नेपाली समुदायसंग छलफल गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल २२ अप्रिलमा लन्डन फर्केर भोलिपल्ट सांझ स्वदेश फर्कंदैछ ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा