
(सन् १८१४ ओक्टोबर २४ — नोभेम्बर ३०)
युद्धको छोटकरी कथाः आङ्ल—गोर्खा युद्धको इतिहासमा (सन् १८१४ देखि १८१६) नालापानी खलङ्गाको लडाइँले अत्यन्त महत्त्वपूर्ण ऐतिहासिक स्थान ओगटेको पाइन्छ । जसलाई यसरी परिभाषित गर्न सकिन्छ ।
पहिलो कुराः गोर्खाली र अङ्ग्रेज फौजहरूको बीचमा यो पहिलो भयङ्कर लडाइँ थियो । जुन एक महिनाभन्दा बढी समयसम्म चल्यो । तैपनि यस युद्धमा दुवै पक्षको बीचमा विधिवत हार-जीत हुन सकेन । गोर्खाली फौजले आफैं सो गढीलाई छाडिदिए । त्यसपछि अङ्ग्रेज फौजले सो किल्ला कब्जा गर्न पुगेका थिए ।
दोस्रो कुराः यस युद्धमा नालापानी खलङ्गा किल्लाको रक्षा एवं सुरक्षा गर्न गराउन गोर्खा लडाका सैनिक, उनका परिवार, बालबालिका र बुढापाका लगायत ६०० जवान मात्र किल्लामा तैनाथ गरिएका थिए । उनीहरूसँग लडाइँ गर्न र किल्लालाई कब्जा गर्न ४५०० भन्दा बढी प्रशिक्षित दक्ष एवं आधुनिक हातहतियारहरूबाट लैस, साधन सम्पन्न सैनिकहरु ईष्ट इन्डिया कम्पनी सरकारले खटाई पठाएको थियो । अर्थात् गोर्खाली फौजभन्दा १० गुना बढी थियो । तैपनि अनैतिक र छलकपट गरेर अङ्ग्रेज फौजले सो किल्लामाथि कब्जा गरेको इतिहासमा उल्लेख गरिएको पाइन्छ ।
तेस्रो कुराः ईष्ट इन्डिया कम्पनी सरकारले गोर्खा साम्राज्यको विरुद्ध विधिवत युद्धको घोषणा नगरिकन एक्कासी देहरादुन केरि घाँटीस्थित गोर्खा सुरक्षा चौकीमाथि भीषण हमला गरिदिए । जुन युद्धको प्रचलित नियम र मान्यता विपरीतको आचरण थियो । तैपनि यस युद्धमा गोर्खाली फौजले छापामार युद्ध, गुरिल्ला युद्ध, धराप वा पासो थाप्ने युद्ध कलाको अद्भुत प्रदर्शन गरेर विश्वमा प्रख्यात हुन पुगेका थिए ।
चौथो कुराः नालापानी खलङ्गाको युद्धमा पहिलो पटक गोर्खाली फौजले गोर्खा महिला सैनिकहरूको उपशाखा (विंग) सन् १८१४ मा गठन गरेका थिए । सम्भवतः यो विश्वमा पहिलो प्रयास थियो । गोर्खा महिला सैनिकहरू पुरुष सैनिकसरह काँधमा काँध मिलाएर दुश्मनको विरुद्ध लडाइँ गरेर नयाँ इतिहास रचेका थिए ।
नालापानी खलङ्गा किल्लाः गोर्खाली सैनिक समतल वा मैदानी भूमिभन्दा पनि पर्वतीय भूमिमा अङ्ग्रेज फौजसँग युद्ध गर्न ईच्छुक थिए । यो उनीहरुको रणनीति थियो । फलस्वरूप उत्तराखण्ड प्रदेश देहरादुन शहरको घण्टाघरभन्दा उत्तर पूर्वतर्फको अग्लो पहाडको डाँडामाथि घना बाक्लो जंगल, विषालु झारपात र अत्यन्त दुर्गम स्थानमा गोर्खाली फौजले हतार हतारमा गोर्खा किल्लाको निर्माण गर्दै थिए । सो किल्लाको वरपर सालका ठूला ठूला रुख, हिंस्रक जङ्गली जनावरहरूको बथानहरू थिए । किल्लासम्म पुग्न अत्यन्त कठिन र ठाडो उकालो चढ्नु पर्दथ्यो । यस्तो विकट र दुर्गम स्थलमा गोर्खालीले अत्यन्त शक्तिशाली दुर्गको निर्माण गरेका थिए । जुन नालापानी, खलङ्गा वा कलंगाको नामले प्रसिद्ध छ ।
सो किल्लाको सुरक्षाका लागि गोर्खाली फौजले १२ फुटे बलियो पर्खाल चारैतर्फ खडा गरेका थिए । किल्लामा दुईवटा ढोकाहरू थिए । एउटा ठूलो र मुख्य ढोका थियो । किल्लाको पछाडि सानो एउटा गुप्त ढोका थियो । गुप्त ढोका गुप्तचरहरुको प्रयोगका लागि थियो । ठूलो ढोकाको अगाडि लामो चौडा एउटा खाल्टो खनिएको थियो । सो खाल्टोमा तिखो बाँस, सिस्नु, काँडा तथा विषालु झारपात आदि उमारिएका थिए । सोमाथि माटो र हरियो दुबो घाँसपातले छोपिएको हुन्थ्यो । किलाभित्र पस्न सुन्दर बगैंचा जस्तो देखिन्थ्यो वास्तवमा यो दुश्मनलाई अल्मल्याउने एउटा धराप, पासो वा ट्रयाप बनाईएको थियो ।
पहिलो हमलाको तयारीः सन् १८१४ अक्टोबर २२ का दिन कर्णेल मावीको नेतृत्वमा अङ्ग्रेज फौजको एउटा टोलीले देहरादुन उपत्यकाको केरी घाँटीमा स्थित सुरक्षा चौकीमाथि अकस्मात हमला गरिदियो । चौकीका अधिकांश लडाकाहरू नालापानी खलङ्गा किल्लामा मोर्चाबन्दी गर्न स्थानान्तरण भइसकेका थिए । फलस्वरूप सो चौकीलाई सजिलैसँग अङ्ग्रेज फौजले कब्जा गरे । अङ्ग्रेज फौजले देहरादुनको खुडबुडा भन्ने ठाउँमा सैनिक शिविर खडा गरे । कर्णेल मावी ज्यादै उत्साहित थिए ।
कर्णेल मावीले आफ्नो गुप्तचरहरूलाई नालापानी खलङ्गा किल्लाको वस्तुस्थिति तथा गोर्खाली रक्षकहरूको गतिविधिहरू बारे सूचना सङ्कलन गर्न ठाडा गाउँमा पठाइदिए । यो गाउँ किल्लाको छेउछाउमा थियो । उनीहरूको गुप्त सूचना अनुसार किल्ला कमजोर अवस्थामा छ । किल्लाको रक्षकहरूको सङ्ख्या थोरै छ । बाटोघाटोमा छेकबार गरेर आक्रमण गरियो भने गोर्खाली फौजले सजिलैसँग आत्मसमर्पण गर्न सक्छन् भन्ने जानकारी कर्णेल मावीमा जाहेर गरे । सोही गुप्त सूचनाको आधारमा कर्णेल मावीले एउटा चिठ्ठी स्थानीय पत्रवाहक हस्ते कप्तान कुँवरलाई पठाइदिए । “युद्ध गरेर रगत बगाउनु भन्दा पनि खलङ्गा किल्ला विना शर्त अङ्ग्रेज फौजलाई हस्तान्तरण गरी आत्मसमर्पण गर्नु” भन्ने आशय सो चिठ्ठीमा उल्लेख गरिएको थियो ।
स्वाभिमानी, देशभक्त र राष्ट्रवादी २५ वर्षीय कप्तान बलभद्र कुँवरले पत्रवाहक दूतलाई भने “मध्ये रात्रिमा चिठ्ठी पढ्ने र जवाफ दिन हाम्रो चलन छैन” “तिम्रो साहेबलाई भनिदेउ हाम्रो भेट चाँडै नै लडाइँको मैदानमा हुनेछ ।” उनले कर्णेल मावीको चिठ्ठी च्यातेर त्यही आगोमा फालिदिए । कप्तान बलभद्र कुँवरको अपमानजनक जवाफ र व्यवहारबाट कर्णेल मावी ज्यादै रिसाए । अचम्मित पनि भए । मुट्ठीभर गोर्खाली फौजका कप्तान अङ्ग्रेज सरकारको विशाल र साधन सम्पन्न फौज सामु अलिकति पनि डराएनन् ।
कर्णेल मावीले आफ्नो मातहतको फौजलाई तुरुन्तै नालापानी खलङ्गाको गोर्खा किल्लामाथि भीषण एवं भयङ्कर हमला गर्न आदेश जारी गरे । किल्लाको दक्षिणतर्फ राजपूर गाउँको बाटो भएर गोर्खाली सैनिकहरू भाग्न सक्छन् भनेर उनीहरूलाई छेक्न त्यहाँ घोडसवार सैनिक खटाई पठाइदिए ।
पहिलो हमलाः सन् १८१४ अक्टोबर २४ तारिखको बिहान झिसमिसे उज्यालोमा कर्णेल मावीको नेतृत्वमा नालापानी खलङ्गा किल्लामाथि भीषण एवं भयङ्कर हमला सुरु गरियो । शक्तिशाली ६ पाउन्डको तोपको गोलाहरूबाट किल्लाको पर्खाललाई हानेर भत्काउने प्रयास गरियो । त्यस समयमा गोर्खा महिला सैनिक विंग (उपशाखा)ले स्थानीय माटो, ढुङ्गा चुन र मुढाको मसलाद्वारा पर्खालको जोडाई गर्दै थिए । पर्खालको माटोको जोडाई सुक्न पनि पाएको थिएन तोपको गोलाको वर्षा सो पर्खालमाथि हुन थाल्यो ।
तैपनि गोर्खाली महिला सैनिकदल अलिकति पनि विचलित र भयभीत भएनन् । निर्माण कार्य जारी राखि केही महिला गुलेली र ढुङ्गामुढा चलाएर दुश्मनको आक्रमणको प्रतिआक्रमण गर्दै थिए । केही खाना पकाउन लागेका थिए भने केही बालबालिकालाई दूध खाजा खुवाउँदै थिए । केही बालबालिका गुलेलीको लागि माटोको मट्याङ्ग्रा बनाइराखेका थिए । कोही धनुवाणहरू मिलाउँदै थिए । आधुनिक हातहतियारहरू थोरै भएकाले घरेलु हातहतियार चलाएर शत्रुको सामना गर्दै थिए ।
नालापानी खलङ्गा किल्लामाथि पहिलो हमला अन्तर्गत अङ्ग्रेज र गोर्खाली फौजहरूको बीचमा घमासान एवं भीषण लडाई भयो । पर्वतीय, छापामार र गुरिल्ला युद्धकलामा पोख्त एवं दक्ष गोर्खाली फौज समक्ष कर्णेल मावीको फौज टिक्न सकेन । उनीहरूको सैन्य अधिकारी र सैनिकहरू धेरै मारिए । केही घाइते भए र केही रणस्थलबाट भागमभाग गरे । उनको तोपको गोलाले किल्लाको एउटा ढुङ्गा पनि भाँच्न सकेन ।
अतः कर्णेल मावी ज्यादै हताश र निराश भए । जबसम्म शक्तिशाली तोप, बन्दुक तथा थप पैदल सेना आउँदैनन् तबसम्मका लागि किल्लामाथि आक्रमणको सम्पूर्ण कारबाही स्थगित गर्ने निर्णय गरे । शक्ति सञ्चयको लागि देरादुनको खुडबुडा सैनिक शिविरतर्फ आफ्नो फौजका साथ उनी फर्किए । यसरी अङ्ग्रेज सरकारको गोर्खा किल्लामाथि पहिलो हमला पूर्णरूपमा विफल र असफल भयो । सो युद्धका प्रत्यक्षदर्शी ब्रिटिस इतिहासकार जेम्स फ्रेजरले सो हमलाबारे यसरी टिप्पणी गरेका थिए – “the battle also had significant repercussions shaking British Army” केही बुढापाकाका अनुसार बेलायतको संसदमा प्रतिपक्षी दलले प्रश्न गरे “एउटा सानो तथा साधारण दुर्गलाई अझसम्म किन ध्वस्त पार्न सकिएन ।” तर रक्षा मन्त्रालयबाट सन्तोषजनक जवाफ प्राप्त भएन ।
दोस्रो हमलाः नालापानी खलङ्गा युद्धको बारेमा विश्वका कतिपय सैनिक संस्थानहरूमा चर्चा परिचर्चा हुन थाल्यो । यो युद्ध बेलायत सरकारको प्रतिष्ठासँग जोडिएको थियो । फलस्वरूप मेजर जनरल रार्बट जिलेस्पी आफ्नो अन्य जरुरी कामहरू छाडेर मेरठ छाउनीबाट देहरादुनको खुडबुडा सैनिक शिविरमा आइपुगे । यस युद्धको कमान्ड आफै सम्हाल्न निर्णय गरे र दोस्रो हमलाको लागि तयारी सुरु गरे । उनी आठ किंग रोयल आइरिस रेजिमेन्ट सँग जोडिएका थिए । युद्ध योजना, रणनीति, युद्धकला र सामरिक क्षेत्रमा अनुभवी र दक्ष जनरल थिए । दक्षिण भारतको भेलोर विद्रोहलाई दबाउन, टिपु सुल्तानको विरुद्ध कारबाही गर्न तथा इन्डोनेसिया जावा युद्धमा उनि ज्यादै प्रख्यात चर्चित भइसकेका थिए ।
नालापानी खलङ्गा युद्धको कमाण्ड सम्हाल्ने बित्तिकै मेजर जनरल जिलस्पीले खुडबुडाबाट सैनिक शिविरलाई टप्पड गाउँमा स्थानान्तरण गरे । यो गाऊँ नालापानी खलङ्गा किल्लाको छेउछाउमा थियो । सबभन्दा पहिले १२ पाउण्डका तोप, ६.पाउण्डका मोटट्रार्स, हाबितजर्स तोप, आधुनिक बन्दुक, पिस्तौल, तरवार, भाला, बन्चरो, गोलीगठ्ठा, बारुद आदि हात्तीमा राखेर नालापानी टप्पड गाउँमा पु¥याउन लगाए । साथै रङ्गी बिरङ्गी सैनिक पोशाक, जुत्ता, मोजा, टोपी, साफा पगडी, खाद्यान्न, बाँसको सिँढी, स्टेचर आदि जम्मा गर्न लगाए । भान्से, धोबी, सूचिकार, सार्की, कम्पाउन्डर, भरिया र बाटो देखाउने स्थानीय पथप्रदर्शक र गुप्तचरहरू पनि जम्मा गरे । उनको कमान्डमा ३००० हिन्दुस्तानी सैनिक, ५३ रेजिमेन्ट पैदल सेनाको तीन कम्पनी, ब्रिटिश सैनिक, सातौँ बङ्गाल रिशाला, बंगाल होर्स आर्टलरी (तोपखाना) र घोडसवार सैनिक दल पनि थियो ।
मेजर जनरल जिलेस्पीले आफ्नो मातहतको फौजलाई पाँच भागहरूमा विभाजित गरे । (क) क्याप्टेन जोन फास्टलाई आफ्नो सैनिक टोलीको साथ नालापानी खलङ्गा किल्लाको पश्चिम डाँडा लाखोन्ड गाउँ । (ख) मेजर केलीलाई आफ्नो टोलीको साथ उत्तरतिर खरसाली गाउँ । (ग) क्याप्टेन जोन क्याम्पेनलाई आफ्नो टोलीको साथ अष्ठल गाउँबाट किल्लामाथि हमला गर्न खटाई पठाए । (घ) ले.कर्णेल कारपेन्टरलाई आफ्नो सैनिकका साथ नालापानी गधेरा स्थित ठारापानी गाउँमा सिँढीका साथ । (ङ) मेजर लाडलोलाई किल्लाको दक्षिण तर्फ द्रोण कुटीको निकट अतिरिक्त फौज (रिजर्भ फोर्स) संगै तयार बस्ने आदेश जारी गरे ।
सन् १८१४ अक्टोबर २७ तारिखमा बिहान दस बजेर पाँच मिनेटमा एउटा तोप पाँच पटक पड्काइनेछ । सो संकेत हुनेछ । १२ बजे सम्म शक्तिशाली तोपको गोला किल्लामाथि फालिनेछ । तोपको गोलाले किल्लाको पर्खालमा प्वाल पार्नेछ । किल्लाको केही भागहरू भत्किनेछन् । यसरी किल्लाभित्र पस्ने बाटोहरू बन्ने छन् । अनि चारै तर्फबाट पैदल सेनाले किल्लामाथि एकैपटक, एकै समयमा र एकै साथ हमला गरेर गोर्खाली सैनिकहरूलाई बन्दी बनाउने छ । आत्मसमर्पण गराएर किल्ला माथि ब्रिटिश सरकारको राष्ट्रिय झण्डा युनियन ज्याक फहराउने निर्देशन जारी गरे ।
सन् १८१४ अक्टोबर २६ को मध्यरातिमा चारै कमाण्डहरू आ—आफ्नो सैनिक टोलीका साथ तोकिएको स्थानमा मोर्चाबन्दी गर्न पुगिसकेका थिए । भोलिपल्ट अर्थात सन् १८१४ अक्टोबर २७ मा भ्रमवश तोपखाना शाखाले बिहानको झिसमिसे उज्यालोमा तोपबाट नालापानी किल्लामाथि गोलाहरु फाल्न शुरु ग¥यो । तोपको आवाज सुनेपछि चारैजना कमाण्डरहरू अक्कमक्क परे । दुर्गम पहाड, खोलानाला, छहरा र वनजङ्गलको आवाजमा दोहोरो संवाद गर्न गाह्रो थियो । साधन पनि थिएन । अतः एकै पटक, एकै समय, र एकै साथ किल्लामाथि जनरल जिलेस्पीको हमला गर्ने युद्ध योजना असफल भयो ।
चारै जना कमाण्डरहरूले आआफ्नो पारामा किल्लामाथि आक्रमण गर्न अगाडि बढे । केही स्थानीय पथप्रदर्शकले बाटो देखाउन गल्ती गरे । किल्लाको चारैतर्फ घना वनजङ्गल र विषालु झारपात थियो । यसै समयमा गोर्खाली फौजले गुरिल्ला र छापामार युद्ध सुरु गरिहाले । कुनबेला, कुन समयमा कताबाट गोर्खाली सैनिक खुकुरी नचाउँदै आउँथ्यो र ४०/५० जनालाई छप्काएर लुकि हाल्थ्यो ।
साथै किल्लाको बुर्जाबाट तोप, बन्दुक, धनुवाण, गुलेली, ढुङ्गामुढा आदिको प्रहार पनि सुरु भइसकेको थियो । किल्लाको अगाडि राखिएको धराप वा ट्रयापमा अल्झेर शत्रुका सैनिकहरू मर्न थाले । त्यसै समयमा लेफ्टिनेन्ट एलिसको नेतृत्वमा पयोनियर्स दलले पर्खालमाथि चढ्न बाँसको सिँढी (भर्याङ) राख्न सफल भइसकेका थिए । तर गोर्खा महिला विंगले सो सिंढीमा आगो लगाइदिए । लेफिनेन्ट केनेडी पनि आफ्नो दलका साथ किल्लाको पर्खालनिर पुगिसकेका थिए । गोर्खाली फौजको भयङ्कर आक्रमणले गर्दा अङ्ग्रेज फौज पछि हट्न थाले । जनरल जिलस्पीले किल्लामाथि चार्ज गर (आक्रमण गर) भन्दा पनि सैनिकहरूमा भागदौड मच्न थाल्यो । कोही पनि अगाडि बढ्न मानेनन् । युद्धस्थल छाडेर भाग्न थाले ।
मेजर जनरल जिलेप्सीको पहलः फलस्वरूप सैनिकहरूको मनोबल र हौसला बढाउन जनरल जिलेस्पी एक हातमा तरवार र अर्को हातमा पिस्तौलका साथ किल्लाको मुख्य ढोकातिर बढ्न थाले । अग्लो जिउज्यान र टाउकोमा आकर्षक टोपी र रङ्गीबिरङ्गी सैनिक पोशाकमा “मेरो पछि आउ” भन्दै किल्लाको मुख्य ढोकालाई भत्काउन अगाडि बढे । उनका मातहतका सैनिकहरुमा फेरि अदम्य उत्साह र हौसला बढ्न थाल्यो । उनी विश्वासपात्र अङ्गरक्षकका साथ किल्लाको मुख्य ढोकासम्म पुगिसकेका थिए । त्यसै बेलामा जमदार जोहर सिंह थापा मगरले तोपको मुख तलतिर झारेर गोला फाले । सोही गोलाको एउटा छर्रा मेजर जनरल जिलेस्पीको छातीमा लाग्यो । उनी आफ्नो विश्वास पात्र अङ्गरक्षक फ्रेडिक योगंको काखीमा ढले । साथै जोरले कराए । —one more shot for the honor of the down.
जमदार जोहरसिंह थापा मगर नालापानी खलङ्गा युद्धमा तोपखाना शाखा प्रमुख पदमा थिए । “उनकै नेतृत्वमा हानेको तोपको गोलाले नालापानी युद्धमा जनरल जिलेस्पीको मृत्यु भएको थियो ।” (शिवप्रसाद शर्मा “नेपालको सैनिक इतिहास” शाही नेपाली जंगी अड्डा काठमाण्डौं १९९२, पृष्ठ ३९५, लक्ष्मी बस्न्यात “जमदार जोहर सिंह थापा मगरको वीरता” सेवा सुमन, २०६२ बि.सं., सैनिक श्रीमती संघ, पृष्ठ ३५)
युद्धस्थलका प्रत्यक्षदर्शी पत्रकार बेनी स्ट्राटको अनुसार सो युद्धमा एकजना जनरल, ३० जना सैन्य अधिकारी तथा ८०० जनाभन्दा पनि बढी सैनिकहरू युद्ध स्थलमा मारिएका थिए । कतिपय घायल भए । जनरल जिलेस्पी र अन्य सैन्य अधिकारीहरूको शव खोजतलास गरेर ससम्मान सम्बन्धित निकायलाई गोर्खाली फौजले जिम्मा लगाइदिए । घाइते शत्रु सैनिकहरूको प्राथमिक उपचार पनि गोर्खाली फौजको मद्दतले गरियो ।
यसरी नालापानी खलङ्गाको गोर्खा किल्लामाथि अङ्ग्रेज फौजको दोस्रो हमला पनि पूर्ण रुपमा असफल भयो । ईस्ट इन्डिया कम्पनी सरकारले जनरल जिलेस्पीको सहायक कर्णेल मावीलाई सो युद्धको नयाँ कमान्डर नियुक्त गरिदियो । तर जबसम्म थप हात हतियार र पैदल सेना आइपुग्दैन तबसम्म किल्ला माथि तेस्रो हमलाको कारबाही स्थगित गर्ने उनले निर्णय गरे । साथै किल्लालाई थप सहयोग र सहायता नपुगोस भनेर ठाउँ ठाउँमा घोडसवार सैनिक टोलीहरू तैनाथ गरिदिए । आफू आफ्नो फौजका साथ युद्धको तयारी गर्न र शक्ति सञ्चय गर्न खुडबुडाको सैनिक शिविर तिर प्रस्थान गरे ।
अल्मोडाबाट चौतारिया बम शाहले पठाएको हातहतियार तथा काठमाडौँबाट पठाइएका थप सैनिकहरुलाई अङ्ग्रेज घोडसवार सैनिकहरुले बाटोमा रोकिदिए । कुमाउँ र गढवालबाट पठाइएको थप सैन्य सामग्रीहरु पनि किल्लाभित्र पुग्न पाएन । यसरी जे जति सैन्य सामग्री खजाना तथा सैनिकहरु किल्लाभित्र बाँकी थियो सोहीको भरमा दुश्मनसँग मुकाबिला गर्नु पर्यो ।
तेस्रो हमलाः तीन सातासम्म अङ्ग्रेज फौजको सारा बन्दोबस्ती पुरा भएपछि सन् १८१४ नोभेम्बर २४ को बिहानदेखि नै किल्लामाथि तोपको गोला र बन्दुकको गोली प्रहार गर्ने कर्णेल मावीले हुकुम जारी गरे । दुई दिनसम्म गोर्खाली तथा अङ्ग्रेज फौजको बीचमा घमासान एवं भयावह युद्ध भयो । तेस्रो दिन किल्लाको पर्खालको केही भागहरु भत्केर सानो प्वाल बनेको थियो । सोही प्वालबाट अङ्ग्रेज फौजका केही सैनिकहरूले भित्र प्रवेश गर्ने प्रयास गरे । “त्यसै समयमा श्री पुरानो गोर्खागण मगर पल्टनका वीर योद्धा जमदार सिंहबीर घर्तीमगरले सो युद्धमा अद्भुत शौर्य एवं पराक्रमको प्रदर्शन गरे । कर्णेल मावीले नेतृत्व गरेका सैनिकहरूमध्ये एक दर्जनभन्दा बढीलाई मार्न सफल भएका थिए भने दर्जनौंलाई घाइते बनाए । उनको साहसलाई बलभद्र कुँवरले मुक्तकण्ठले प्रशंसा गरी पुरानो गोरखगणको मनोबल बढाइदिए” (नेपालको सैनिक इतिहास भाग २ नेपाली जङ्गी अडा, काठमाडौँ सन् २००९, पृष्ठ ५८८)
तेस्रो हमलामा “गोर्खाली फौजतर्फ सुब्बा चन्द्रवीर थापा, सुब्बा नाथ माझी, सुबेदार दलजित कुँवर, जमदार दलजित शाही आदिले यस युद्धमा आफ्नो ज्यान गुमाए भने कतिपय घाइते भएका थिए ।”(नेपाली सेनाको इतिहास,” जङ्गी अडा, काठमाडौँ सन् २०१२ पृष्ठ १९४) अङ्ग्रेज फौजतर्फ क्याप्टेन पार्कर, लेफ्टिनेन्ट लक्स फोर्ड, हेरिगटन, क्याप्टेन जोन क्याम्पबेल लगायत १५ जना अफिसरहरु र ९०० भन्दा पनि बढी सैनिकहरू रणस्थलमा मारिएका थिए । कतिपय घाइते भएका थिए । केही रणस्थलबाट भागेका थिए । फलस्वरूप कर्णेल मावीको मन खुम्चेको थियो । उनी हतास थिए । अतः तेश्रो हमलाको सम्पूर्ण कारबाही रोक्न र खुडाबुडा शिविरमा फर्किन आफ्नो मातहतको फौजलाई आदेश दिए । यसरी तेस्रो हमला पनि असफल भयो । इतिहासकार जेम्स फ्रेजरले सो बारेमा यसरी टिप्पणी गरे —”the small party which held small part for more then one month against so comperhansive large force”
खानेपानीको मुहानः नालापानी खलङ्गाको युद्धस्थलबाट अङ्ग्रेज फौज पछि हट्न थालेका थिए । त्यसै समयमा गुप्तचरहरूले कर्णेल मावीलाई गुप्त सूचना पठाए । सो अनुसार नालापानी खलङ्गा किलाबाट अनुमानित एक किलोमिटर दक्षिण पूर्वमा बाक्लो जङ्गलको बीचमा एउटा सिमसार छ । त्यही सिमसारको पानी जम्मा गरेर गोर्खाली फौजले एउटा सानो दह (पोखरी) बनाएको छ । जसलाई स्थानीय समाजले “सागर दह” भन्दछन् । सो दहबाट निस्किने पानीलाई माटोमुनि पुरेर बाँसको ढुङ्ग्राबाट लुकाएर किल्ला सम्म पुर्याउने व्यवस्था गरिएको छ । त्यसैबाट गोर्खाली महिलाहरूले डोकोमा बोकेर किल्लाभित्र माटोको घ्याम्पामा (माटोको गाग्रो) मा खानेपानी जम्मा गरेका थिए । जसमा सवा सय घ्याम्पा खानेपानी जम्मा गरिएको थियो । हाल अधिकांश घ्याम्पा (माटोको गाग्रा)े तोपको गोलाको गर्जन र गोलीको छर्रा लागेर फुटेर खानेपानी भुइँमा बगिराखेको छ ।
“सागर दह”को पानीको मुहानलाई थुनि दिएपछि वा अन्तै कतैतिर फर्काइ दिएपछि किल्लाभित्र पानीको आपूर्ति बन्द हुनेछ । खानेपानी नपाएपछि गोर्खाली फौजले आफै अङ्ग्रेज सरकारको समक्ष आत्मसमर्पण गर्न बाध्य हुनेछ” भन्ने गुप्त सूचना पाउने बित्तिकै कर्नेल मावीले पैदल सेना र तोपखाना शाखालाई गोर्खाली फौजको विरुद्ध फेरि मोर्चाबन्दी गर्न आदेश जारी गरे । साथै क्याप्टेन बकलाई आफ्नो टोलीको साथ सागरदहको खानेपानीको मुहान थुन्न वा अरु दिशातिर फर्काउनका साथै गुप्त नाला बाँसको ढुङ्ग्रोहरु भत्काउन निर्देशन दिए । साथै डोकोमा खानेपानी ओसार्ने गोर्खाली महिलाहरूमाथि गोलीप्रहार गर्ने हुकुम पनि जारी गरे । भनिन्छ —किल्लाभित्र खानेपानीको आपूर्ति बन्द भएपछि कप्तान बलभद्र कुँवर र उनका सहायकहरुले काँचो चामल चपाएर भोक मेटाउन थाले । केही बुढापाका महिला तथा बालबालिकाहरु खानेपानी नपाएपछि मुर्छा परि भुइँमा ढल्न र छटपटिन थाले ।
एउटै स्वरः भनिन्छ अनुमानित एक सातासम्म खानेपानीको आपूर्ति किल्लाभित्र हुन सकेन । अनि सबै पानी, पानी, एक थोपा, पानी तिर्खाई मेटाइ देउ भनी राखेका थिए । चिच्याइ राखेका थिए । यस्तो हृदय विदारक र सोचनीय अवस्थामा पनि सबैको एउटै आवाज र स्वर थियो । “बैरीको अगाडि झुक्न हुँदैन लडाइँ गरेर बैरीलाई हराउनु पर्दछ । हामीले जित्नुपर्छ ।” भनिन्छ —नालापानी खलङ्गाको युद्धबाट गोर्खाली फौजको एउटा आदर्श वाक्य नारा (motto) निस्किएको थियो जुन आजसम्म यथावत कायम छ । “कायर हुनुभन्दा मर्नु बेस ।”
किल्ला छाड्नुपर्ने बाध्यताः किल्लाभित्र एक थोपा खानेपानी छैन । थप सैन्य सामग्री र सैनिकको आपूर्ति बैरीले रोकिराखेको छ । उता गोर्खालीले जितेको अरु ठाउँको रक्षा पनि गर्नुपरेको छ अतः किल्ला भित्र बसिराख्नुको कुनै औचित्य छैन । यी कुराहरू विचार गरेर कप्तान बलभद्र कुँवर र उनका सहयोगीहरूले नालापानी किल्ला परित्याग गर्ने निर्णय गरे । साथै अङ्ग्रेज फौजको विरुद्ध कुनै अन्य सामरिक ठाउँमा मोर्चाबन्दी गर्ने निर्णय गरे ।
सन् १८१४ नोभेम्बर ३० तारिखमा नालापानी खलङ्गा किलाको मुख्य ढोका बिहानको झिसमिसे उज्यालोमा खुल्यो । त्यस समयमा अङ्ग्रेज फौज र तोपखाना शाखाले सो किल्लालाई चारैतर्फबाट घेराबन्दी गरेको थियो । तैपनि कप्तान बलभद्र कुँवर र उनका साथमा ७० जना लडाका योद्धाहरू काँधमा बन्दुक हातमा नाङ्गो खुकुरी र कम्मरमा भुजाली भिरेर बाहिर निस्किन थाले । सिधै नालापानी गधेरा गाउँको निकटको खोलामा गएर मनभरि स्वच्छ र निर्मल पानी खाए र आ—आफ्नो तिर्खा मेटाए । कर्णेल मावी ज्यादै खुसी र हर्षित थिए । उनीहरू अब आफै आत्मसमर्पण गर्न आउँछन् भनेर सोचिराखेका थिए । त्यसै समयमा खोलापारी अग्लो ढुङ्गामा उभिएर ठूलो स्वरमा कप्तान बलभद्र कुँवरले भने “कर्णेल मावी तिमीले लडाई गरेर नालापानी खलङ्गाको गोर्खा किल्ला जित्न सकेनौ, हामी आफंैले किल्ला खाली गर्दैछौं जाउ अब तिमीहरु कब्जा गर ।”
किल्ला खाली भएपछि : सन् १८१४ नोभेम्बर ३० तारिख दिउँसोको समयमा मेजर केली आफ्ना सैनिक टोलीको साथमा नालापानी खलङ्गाको गोर्खा किल्लाभित्र डराँउदै प्रवेश गरेका थिए । त्यहाँ तावांको दुई वटा मेटलको तोप र गोला बारुद फालिएको थियो । भुईँमा शबहरू थिए कतिपय सैनिक घाइते अवस्थामा थिए । एक थोपा पानी भनेर माग्दै थिए । एउटा बच्चा आफ्नो मृत आमाको काखमा खेल्दै थियो । सबै शबहरूलाई जलाउने,गाड्ने र घाइते सैनिकहरुलाई बन्दी बनाउने निर्देशन मेजर केलीले आफ्नो मातहतको टोलीलाई दिए । नालापानी खलङ्गा किल्लासँग अङ्ग्रेजहरू ज्यादै क्रोधित र रिसाएका थिए । अतः मेजर केलीले हात्तीद्वारा सो किल्लालाई भत्काउन आदेश दिए । तर सो प्रयास पनि सफल हुन सकेन । अनि शक्तिशाली तोपका गोला, बन्दुकको गोली, तरवार र भालाको प्रहारबाट सो किल्लालाई पूर्ण रुपमा धराशायी गर्न निर्देशन दिए । त्यसपछि आगो बालेर जलाउने र सधैंका लागि नालापानी खलङ्गा किल्लाको नाम निशान यस धरतीबाट मेटाइदिने कडा उर्दी मेजर केलीले आफ्नो फौजलाई जारी गरे ।
तीन पटकसम्म नालापानी खलङ्गा किल्लामाथि शक्तिशाली तोपको गोलाको वर्षा गरियो । चौथो पटक खानेपानीको आपूर्ति पूर्ण रुपमा बन्द गरियो । साथै एक महिनाभन्दा पनि बढी समय सम्म बन्दुकको गोली, तरवार, भाला र तोपको गोला प्रहारबाट सो किल्लाको अस्तित्व मेटाउने प्रयास अङ्ग्रेज फौजले गरे । तर उनीहरु पूर्णरूपमा असफल भए ।
झन्डै २५० वर्ष भइसकेको छ । लामो समय बितिसकेको छ । तैपनि आजसम्म नालापानी खलङ्गाको गोर्खा किल्लालाई जीर्ण, धराशायी, ध्वस्त र भग्नावशेष अवस्थामा देख्न सकिन्छ । आज पनि यो किल्ला मेटिएको छैन । यस भग्नावशेष दुर्गले हाम्रो पूर्वजको गौरवशाली र गौरवमय इतिहासको झझल्को दिइराखेको छ । उनीहरुको अदम्य साहस, उत्साह, धैर्यता, शौर्यगाथा, दृढईच्छाशक्ति तथा पराक्रमको ऐतिहासिक गाथा सुनाइराखेको छ । त्यो हो “आयो गोर्खाली जय महाकाली ।”
स्मृति स्मारक : नालापानी खलङ्गा युद्धमा सहिद भएका मेजर जनरल रार्वट जिलेस्पीको सम्झना एवं सम्मानमा ईष्ट इन्डिया कम्पनी सरकारले “स्मृति स्मारक शिलालेख” स्थापना गर्ने निर्णय गर्यो । साथै सो युद्धमा गोर्खा सैनिकहरूको वीरता र युद्ध कौशलताबाट कायल भएका शत्रु फौजका कमाण्डर कप्तान बलभद्र कुंवर (थापा) को नाममा पनि संस्मरण स्तम्भ निर्माण गर्ने निर्णय गरियो । सम्भवतः विश्वको सैन्य इतिहासमा यो पहिलो र अन्तिम उदाहरण होला , दुश्मन फौजको सेनापतिको नाममा पनि सम्मान र सम्झना शिलालेख वा स्मृति स्मारक खडा गरिएको । सो शिलालेखमा यसरी लेखिएको छ As a tribute of respect for our gallant adversary Balbhadra Singh and his brave Gurkhas … “
सारासं ः इतिहास साक्षी छ (क) हिमवत्खण्डप्रदेशमा पहिलो पटक महान बलभद्र कुंवर र उनको गोर्खाली फौजले शक्तिशाली अङ्ग्रेज साम्राज्यको विरुद्ध सशक्त लडाइँ गरेका थिए । जस्को मुख्य लक्ष्य ब्रिटिस सरकारको औपनिवेशिक शासन सत्ताको यस देवभूमिमा अनाधिकृत प्रवेशलाई पूर्ण रुपमा रोक्नु थियो । उनले आफ्नो जिउज्यानको परवाह नगरिकन यस देवभूमिको रक्षा गर्नका लागि अङ्ग्रेज फौजको विरुद्ध यृद्धघोष गरेका थिए । जसलाई नालापानी खलङ्गाको प्रसिद्ध युद्ध भनेर भनिन्छ ।
(ख) यस युद्धले गोर्खाली जातिको गौरवशाली एर्व गौरवमय इतिहास, अदम्य बहादुरी, धैर्यता, साहस र आँटको कथा विश्वभरिमा फैलाई दिएको थियो । अतः नालापानी खलङ्गाको गोर्खा किल्ला विश्व भरिका सम्पूर्ण गोर्खाली भाषाभाषीका लागि एउटा ऐतिहासिक, पुनीत, धार्मिक, पवित्र, सामाजिक, साँस्कृतिक एवं जातीय पहिचानको केन्द्रिय स्थल बन्न पुगेको पाइन्छ ।
(ग) उत्तराखण्डमा सदियौंदेखि बसोबास गर्दै आएका गोर्खाली भाषाभाषी समुदायले यस पुनीत एवं पवित्र स्थलको मर्मत सम्भार र हेरचाह गर्दै आएका छन् । स्थानीय गोर्खाली भाषाभाषीहरुको सामाजिक र साँस्कृतिक संघ संस्थाहरु, जस्तै बलभद्र कुंवर बिकास समिति, बीर गोर्खा कल्याण समिति, गोर्खा कल्याण फाउण्डेशन, गोर्खा डेमोक्रेटिक फ्रन्ट आदिले यस स्थलको संरक्षणमा योगदान दिंदै आएको पाइन्छ ।
(घ) भारत सरकार र उत्तराखण्ड सरकारले पनि नालापानी खलङ्गा किल्लाको परिसरको भौतिक पुर्वाधारको विकासमा अतुलनीय योगदान दिएको पाइन्छ । यसै क्रममा उत्तराखण्ड प्रदेशका गोर्खालीहरूको सामाजिक साँस्कृतिक संस्था “बलभद्र कुंवर खलङ्गा विकास समिति”को आयोजनामा हरेक वर्ष नोभेम्बर महिनामा खलङ्गा नालापानी युद्ध स्मृति दिवस मेला मनाउने गरिन्छ । सो अवसरमा गोर्खाली फौजको ऐतिहासिक युद्धको गाथा, गोर्खाली समुदायको सामाजिक परम्परा, खानाको परिकार, लुगा गहनाको पहिरन र साँस्कृतिक कार्यक्रमहरूको प्रदर्शन गरिन्छ ।
मन्तव्यः (क) गोर्खाली समुदायको गौरवशाली ईतिहास एवं जातीय पहिचान बारे नयाँ पुस्तालाई जानकारी गराई राख्नका लागि यस पवित्र स्थलको थप संरक्षण, सम्बर्धन तथा बिकास गर्नु गराउनु उत्तराखण्ड राज्यका गोर्खालीहरूको माग रहेको छ । अतः सबैभन्दा पहिले
(१) नालापानी गोर्खा किल्लाको जिर्णोद्वार वा पुननिर्माणको कार्य हुनु पर्ने ।
(२) त्यहाँ गोर्खा युद्धकला तथा गोर्खा समाजको ऐतिहासिक, सामाजिक, साँस्कृतिक पहिचान दिन सक्ने एउटा “गोर्खा सङ्ग्रहालय” अर्थात म्यूजियम स्थापना हुनुपर्ने ।
(३) गोर्खाली समुदायको ईतिहासको अध्ययन, अनुसन्धानका लागि पुस्तकालय र डकुमेन्ट्री प्रदर्शन हल (अडिटेरियम) पनि निर्माण गर्नु पर्ने ।
(ख) सो सम्बन्धमा सम्पूर्ण भारतीय गोर्खाली भाषाभाषीहरुको सामाजिक, साँस्कृतिक एवं साहित्यिक संघ संस्थाहरुबाट पहल हुनु पर्ने । भारत सरकार र उत्तराखण्ड सरकारको तर्फबाट बढी सहयोग र योगदान परिचालन हुनुपर्ने । वाराणसीको पशुपतिनाथ मन्दिरलाई नेपाल सरकारले जसरी सहयोग गर्दैछ त्यसैगरि नालापानी खलङ्गाको गोर्खा किल्लाको संरक्षण र बिकासमा पनि अभिरुची लिनु पर्ने हो । यस अभियानमा बलभद्र खलङ्गा बिकास समितिले अन्य गोर्खाली संघ संस्थाको सहयोगमा संयोजन र समन्वयको भूमिका खेल्न अझ बढी प्रयास गर्नुपर्ने आवश्यकता देखिन्छ ।

नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी