के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?

बेलायतको राजनीतिमा कतिपय यस्ता व्यक्तिहरू छन्, जो प्रधानमन्त्री नबने पनि देशको राजनीतिक मार्ग परिवर्तन गर्न सफल भएका छन्। उदाहरणका लागि, इनोक पावेलले आप्रवासनलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याए। टोनी बेनले वामपन्थी समाजवादी विचारधारालाई बलियो बनाए। जेरेमी कोर्बिनले लेबर पार्टीलाई फेरि वामतर्फ फर्काउने प्रयास गरे। स्कटल्याण्डमा एलेक्स स्याल्मन्ड र निकोला स्टर्जनले स्वतन्त्रताको बहसलाई चर्काए। त्यस्तै, किअर हार्डीले श्रमिक राजनीति र लेबर पार्टीको जग बसाले। यी सबै नेताहरू सत्तामा नपुगे पनि बेलायतको राजनीति र सार्वजनिक बहसमा गहिरो परिवर्तन ल्याउन सफल भए।

नाइजेल फराज पनि यस्तै एक नाम हो। उनी कहिल्यै सरकारमा पुगेनन्, न त कुनै ठूलो पार्टीका नेता नै हुन्, तर उनको प्रभावले बेलायतको राजनीतिक परिदृश्य नै परिवर्तन भएको मानिन्छ। विशेषगरी ब्रेक्सिट अर्थात् बेलायतलाई युरोपेली संघबाट बाहिर निकाल्ने अभियानमा उनको भूमिका यति महत्त्वपूर्ण थियो कि धेरै विश्लेषकहरूले उनलाई “ब्रेक्सिटका मुख्य आर्किटेक्ट” समेत भन्ने गरेका छन्। गत आम निर्वाचनपछिका उपनिर्वाचनहरू, स्थानीय निर्वाचनहरू, र विशेष गरी गत मे ७ को स्थानीय निर्वाचनपछि अहिले फेरि बेलायतको राजनीतिमा उनको उदयसँगै एउटा प्रश्न खडा भएको छ, के नाइजेल फराज भविष्यमा बेलायतका प्रधानमन्त्री बन्न सक्छन्?

नाइजेल फराजको जन्म २ अप्रिल १९६४ मा बेलायतको लन्डनस्थित ब्रोम्लीमा भएको थियो। उनको पूरा नाम नाइजेल पल फराज हो। उनका पिता स्टक ब्रोकर थिए, जसको प्रभावले सायद उनमा बाल्यकालदेखि नै आर्थिक र व्यापारिक विषयमा रुचि बढ्यो। उनी मध्यमवर्गीय परिवारमा हुर्किए। उनले प्रतिष्ठित डल्विच कलेजमा अध्ययन गरे, जहाँ उनी पढाइभन्दा बढी वादविवाद र सार्वजनिक अभिव्यक्तिमा रुचि राख्थे भन्ने चर्चा छ।

राजनीतिमा आउनुअघि फराजले वित्तीय क्षेत्रमा स्टक ब्रोकरको रूपमा काम गरे। लन्डनको वित्तीय केन्द्रमा काम गरेको अनुभवले उनलाई बजार, कर प्रणाली, वित्तीय नीति र व्यापारसम्बन्धी मुद्दाहरूमा बलियो धारणा बनाउन मद्दत गर्‍यो। त्यसैले उनका भाषणहरूमा अर्थतन्त्र, कर कटौती, व्यापार स्वतन्त्रता र राज्यको हस्तक्षेप घटाउने कुरा बारम्बार सुनिन्छ।

उनको राजनीतिक यात्रा भने अरू परम्परागत राजनीतिज्ञहरूको जस्तो थिएन। सुरुमा उनी कन्जरभेटिभ पार्टीप्रति आकर्षित थिए। तर, बेलायतको युरोपेली संघसँगको सम्बन्धलाई लिएर उनी असन्तुष्ट बन्दै गए। उनको विचारमा बेलायतले आफ्नो सीमा, कानुन, अर्थतन्त्र र नीति निर्माणमाथिको पूर्ण अधिकार गुमाउँदै गएको थियो। यही असन्तुष्टिले उनलाई सन् १९९३ मा स्थापना भएको यूके इन्डिपेन्डेन्स पार्टी (यूकेआईपी) तिर तान्यो।

यूकेआईपीमा प्रवेश गरेपछि फराज बिस्तारै पार्टीको मुख्य व्यक्ति बने। उनी सरल भाषामा बोल्ने, जनताको असन्तुष्टि र आक्रोशलाई आफ्नो भाषणमा समावेश गर्ने तथा अरू नेताहरूभन्दा फरक शैली अपनाउने भएकाले चर्चित भए। उनले आप्रवासन, राष्ट्रिय पहिचान, सीमा सुरक्षा, युरोपेली संघको प्रभाव र “ब्रसेल्सबाट शासन” विरुद्ध चर्का कुराहरू उठाउन थाले। सन् १९९९ मा उनी पहिलो पटक युरोपेली संसदका सदस्य (एमईपी) निर्वाचित भए। त्यहाँ उनले युरोपेली संघको खुलेर आलोचना गरे। सन् २०१४ को युरोपेली संसद चुनावमा यूकेआईपीले ठूलो सफलता पायो। पार्टीले बेलायतमा सबैभन्दा धेरै मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्‍यो, जुन बेलायती राजनीतिमा एउटा ऐतिहासिक घटना मानियो। यसले युरोपेली संघप्रति जनताको असन्तुष्टि कति बढिरहेको थियो भन्ने देखायो।

फराजको राजनीतिक जीवनको सबैभन्दा ठूलो उपलब्धि भनेको ब्रेक्सिट अभियान नै हो। बेलायत युरोपेली संघमा बस्ने कि बाहिरिने भन्ने विषयमा धेरै समयदेखि बहस चलिरहेको थियो। तर, फराजले यसलाई आम नागरिकको भावनासँग जोडिदिए। उनले “टेक ब्याक कन्ट्रोल” अर्थात् “सार्वभौमिकता पुनःप्राप्ति” भन्ने भावनालाई बलियो बनाए। उनको तर्क थियो, बेलायतले आफ्नो सीमामा कसलाई प्रवेश दिने भन्ने निर्णय आफैँ गर्नुपर्छ, कानुन विदेशी संस्थाले होइन बेलायतले बनाउनुपर्छ, र करदाताको पैसा बेलायतकै विकासमा खर्च हुनुपर्छ।

सन् २०१६ को ऐतिहासिक ब्रेक्सिट जनमत संग्रहमा “लीभ” अर्थात् युरोप छाड्ने पक्षको जित भएपछि फराज राष्ट्रिय राजनीतिका एकदमै प्रभावशाली व्यक्ति बने। यद्यपि, उनले त्यसपछि यूकेआईपीको नेतृत्वबाट राजीनामा दिए र केही समय राजनीतिक रूपमा ओझेलमा परे जस्तो देखिए। धेरैले उनको भूमिका सकियो भन्ने अनुमान गरे। तर बेलायती राजनीतिमा फराजको कथा त्यहीँ टुंगिएन।

ब्रेक्सिटपछि पनि बेलायतमा आप्रवासन, महँगी, राष्ट्रिय पहिचान, सार्वजनिक सेवा संकट र अर्थतन्त्रका विषयमा बहस चलिरहेको छ। यही सन्दर्भमा फराजले नयाँ राजनीतिक प्लेटफर्मका रूपमा रिफर्म यूकेलाई अघि बढाए। यो पार्टीले आफूलाई पुराना राजनीतिक दलहरूको विकल्पका रूपमा प्रस्तुत गर्न खोज्यो। रिफर्म यूकेले विशेष गरी अवैध आप्रवासन नियन्त्रण, कर सुधार, सरकारी खर्च घटाउने, ऊर्जा नीति पुनरावलोकन तथा “राजनीतिक शुद्धता”

विरुद्धको एजेन्डा उठायो। त्यसमाथि पुराना दुई मुख्य पार्टीको आन्तरिक द्वन्द्वको फाइदा पनि उसको पार्टीलाई भयो।

फराजको लोकप्रियताको एउटा कारण उनको बोल्ने शैली पनि हो। उनी जटिल राजनीतिक भाषा प्रयोग गर्दैनन्। उनी पब, बजार, स्थानीय समुदाय र श्रमिक वर्गका मानिसले बुझ्ने भाषा प्रयोग गर्छन्। धेरै समर्थकहरू भन्छन् कि उनी घुमाईफिराई कुरा गर्दैनन्। यही कारणले गर्दा कतिपय मानिसले उनलाई “जनताको भाषा बोल्ने नेता” मान्छन्। तर, यही स्पष्टवादिता धेरैका लागि विवादको कारण पनि बनेको छ। आलोचकहरूले फराजमाथि आप्रवासीविरोधी राजनीति गरेको, सामाजिक विभाजन बढाएको र डर तथा असन्तुष्टिलाई राजनीतिक फाइदाका लागि प्रयोग गरेको आरोप लगाउँछन्। कतिपयले उनलाई राष्ट्रवादी र दक्षिणपन्थी नेताको रूपमा हेर्छन्। विशेषतः मुस्लिम आप्रवासन, शरणार्थी नीति तथा बहुसांस्कृतिकतासम्बन्धी उनका अभिव्यक्तिहरू बारम्बार विवादित बनेका छन्।

अमेरिकी राजनीतिसँग पनि उनको राम्रै हिमचिम छ। खासगरी डोनाल्ड ट्रम्पसँगको उनको सम्बन्ध निकै चर्चामा रह्यो। फराजलाई ट्रम्पको समर्थक मानिन्छ। ब्रेक्जिट अभियान सफल भएपछि उनले ट्रम्पसँगको भेटघाटलाई बाक्लो बनाए, ट्रम्पका चुनावी सभाहरूमा सहभागी भए, र अमेरिकी राष्ट्रवाद तथा “अमेरिका फर्स्ट” नीतिमा आफ्नो समर्थन जनाए। कतिपय विश्लेषकहरूले त फराजलाई “ब्रिटिश ट्रम्प” भनेर पनि तुलना गर्ने गरेका छन्।

उनी बेलाबेलामा आर्थिक र संस्थागत विवादमा पनि तानिँदै आएका छन्। युरोपेली संसदमा हुँदा खर्च र भत्तामा अनियमितता गरेको भन्ने आरोप लाग्यो, राजनीतिक चन्दामा अपारदर्शिता देखाएको भन्ने कुरा उठ्यो, बैंकिङ सेवासम्बन्धी विवाद (विशेषगरी बैंक खाताको विषयलाई लिएर), र राजनीतिक अभियानमा प्रयोग भएका कतिपय अभिव्यक्तिका कारण उनी बारम्बार समाचारमा छाए। हालै, एक क्रिप्टो व्यापारीबाट पाँच लाख पाउन्ड चन्दा लिएको र महँगो घर किन्दा पैसाको स्रोत नखुलेको भन्ने विषयमाथि उनीमाथि अनुसन्धान भइरहेको छ। तर, उनका समर्थकहरू भने विपक्षीहरूले फराजलाई कमजोर पार्न खोजिरहेका छन् भन्छन्।

राजनीतिक रूपमा हेर्दा, पछिल्ला स्थानीय निर्वाचनहरूमा रिफर्म यूकेले राम्रै प्रगति गरेको देखिन्छ। विशेषगरी, २०२४ को स्थानीय चुनाव र त्यसपछि भएका उपनिर्वाचनहरूमा यो पार्टीले सोचेभन्दा धेरै सिट जित्यो र धेरै काउन्सिलहरूमा आफ्नो उपस्थिति जनाउन सफल भयो। विशेषगरी हालैको स्थानीय निर्वाचनमा उनको पार्टीले निकै ठुलो सफलता हासिल गरेकोले यो जन भावनालाई कायम राख्न सके भने उनी भावी प्रधानमन्त्री हुनसक्ने सम्भावना देखिन्छ। तर चुनौती भने धेरै ठूलो छ। लेबर पार्टीले आफ्नो नेता परिवर्तन गरेर गुमेको शाख जोगाएर यसलाई रोक्ने प्रयास गरिरहेको देखिन्छ। अब आउदो जुन १८ मा मेकरफिल्ड क्षेत्रमा हुने उपनिर्वाचनको परिणामले धेरै कुरा निर्धारण गर्नेछ।
यो निर्वाचनमा अमेरिकी टेक अर्बपति एलन मस्कको संलग्नताले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ। अमेरिकामा ट्रम्पलाई जिताएका मस्कको सम्बन्ध नाइजेल फराजसँग पनि निकै चिसो भएको छ। यस निर्वाचनमा उनले नाइजल फराजसँग छुटेका पूर्व रिफर्म सांसद रूपर्ट लोवेले स्थापना गरेको एकदमै दक्षिणपन्थी पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सङ्केत गरेका छन्। उनको रिस्टोर पार्टीले ५३ वर्षीया स्थानीय व्यवसायी रेबेका शेफर्डलाई उम्मेदवारको रूपमा खडा गरेको छ। हालैको एक मत सर्वेक्षण अनुसार, उनले समर्थन पाइरहेकी छिन्, जसले रिफर्मका व्यक्तिहरूलाई तर्साएको छ। ग्रेटर म्यानचेस्टर निर्वाचन क्षेत्रका ३६९ उत्तरदाताहरूमा गरिएको सर्वेक्षण मत सर्वेक्षणमा, अनिर्णीत मतदाताहरूलाई हटाउँदा, रिस्टोर ब्रिटेन ७% मतका साथ तेस्रो, रिफर्म ४०% मतका साथ दोस्रो र लेबर ४३% मतका साथ पहिलो स्थानमा छन्।

राजनीति सधैँ एकैनासको हुँदैन। यदि लेबर पार्टी कमजोर हुँदै गयो, आप्रवासन र आर्थिक संकट बढ्दै गयो, र जनतामा स्थापित दलहरूप्रतिको असन्तुष्टि बढ्दै गयो भने फराज र रिफर्म यूकेको प्रभाव झनै बढ्न सक्छ। आज जुन कुरा असम्भव जस्तो लाग्छ, बेलायतको राजनीतिमा त्यस्ता घटनाहरू पहिले पनि भएका छन्। आखिर, एक समय ब्रेक्जिटलाई पनि धेरैले असम्भव भनेकै विषय थियो। लामो समयसम्म दुई दलीय व्यवस्था जस्तो देखिएको बेलायतमा रिफर्म सहित लिब डेम र ग्रीन पार्टीको पनि मजबुत हैसियत देखिँदै गएका छन् ।

नाइजेल फराजको कथा केवल एक व्यक्तिको कथा मात्र होइन। यो बदलिँदो बेलायतको कथा पनि हो। यहाँ पुराना राजनीतिक समीकरणहरू भत्किरहेका छन्, नयाँ असन्तुष्टिहरू जन्मिरहेका छन्, र जनताले परम्परागत दलहरूभन्दा फरक आवाज खोजिरहेका छन्। भविष्यमा उनी प्रधानमन्त्री बन्ने हुन् कि होइनन्, त्यो समयले बताउला, तर बेलायतको राजनीतिमा उनले छोडेको छाप भने धेरै वर्षसम्म मेटिने छैन।

(लेखक अधिवक्ता श्रेष्ठ तीन दशकदेखि बेलायतमा बसोबास गर्दै विभिन्न विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री