वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?

लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले वेल्स राज्यको कुम्ब्रानमा नेपाली समुदायसँग अन्तरक्रिया गरेको छ ।

वेल्सका कुम्ब्रान, कार्डिफ र ब्रेकनबाट आएका झण्डै ४० कम्युनिटी लिडरहरुसँग महासंघले शनिबार ६ जुनमा अन्तरक्रिया गरेको हो । त्यसक्रममा वेल्सस्थित नेपाली समुदायका प्राथमिकता र अपेक्षाबारे जानकारी लिँदै समाचार लेखन र सम्प्रेषणबारे प्रशिक्षण दिएको नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष बिमला सेनेले जानकारी दिनुभयो । उहाँका अनुसार ७ बुँदे वेल्स घोषणापत्र पनि जारी गरिएको छ ।

महासचिव खेमराज रानाभाटले समुदायसँग सम्बन्ध सुधार, परिचय आदानप्रदान र अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभएको छ।

वेल्स गोर्खा कम्युनिटी उपाध्यक्ष धनकुमारी थोक्लिहाङले ‘हेल्थ एण्ड सेफ्टी’बारे जानकारी दिएको कार्यक्रममा शाखाकी उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य दिनुभएको थियो । उहाँले पत्रकार समाजको ऐनामात्र होइन्, सामूहिक आवाज र समुदायमा ल्याउने एकमाध्यम पनि रहेको बताउनुभयो ।

कार्यक्रममा फोनिज यूके अध्यक्ष बम सूर्यवंशीले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूके र यसका गतिविधिबारे अवगत गराउनुभयो । फोनिज यूके पूर्वअध्यक्ष गोमा रानाले आदिवासी पत्रकारहरुको प्रोत्साहजनका लागि फोनिज यूकेले बर्सेनि पुरस्कार प्रदान गरिँदै आएको बताउनुभयो ।

कार्यक्रममा महासचिव रानाभाटले समाचार, सञ्चार र जिम्मेवार रिपोर्टिङ विषयमा एक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

मन्तव्य व्यक्त गर्ने क्रममा नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभीओले आममानिसमा पत्रकारिता र यसको आचारसंहिताबारे जानकारी नभएको जनाउँदै यसतर्फ सचेत गराउन आवश्यक रहेको सुझाव दिनुभयो । कार्यक्रम जानकारीमूलक र पहिलोपटक भएको भन्दै उनले शाखाप्रति आभार समेत व्यक्त गर्नुभयो ।

एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका अध्यक्ष डा.विकास रानाभाटले गैरआवासीय नेपालीको वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दामा बेलायतका पत्रकारहरुको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।

एनआरएनए यूके वेल्स राज्य परिषदका अर्का अध्यक्ष दीपक सुब्बा योंगदेनले अन्तरक्रिया कार्यक्रम गरेकामा शाखालाई धन्यवाद दिनुभयो ।

वेल्स राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष एवं एनआरएनए यूके पूर्वउपाध्यक्ष रामचन्द्र पोखरेल, वेल्स गोर्खा कम्युनिटी अध्यक्ष सीता राई, धर्म संस्कृति अभियान बेलायतका अध्यक्ष पण्डित डा. थानेश्वर पाण्डेय, वेल्स गोर्खा कम्युनिटीका संस्थापक अध्यक्ष एवं केवाइसी यूके सल्लाहकार बद्री योङ्या, किरात याक्थुङ चुम्लुङ (केवाइसी) वेल्स अध्यक्ष खड्ग चोङवाङ, इ कमर्स व्यवसायी प्रकाश कँडेल,नेप्लिज समाज कार्डिफकी उपाध्यक्ष शो भाराणा पोखरेललगायतले धारणा राख्नुभयो ।

कार्यक्रममा शाखाका सचिव तथा एनआरएनए आईसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले ७ बुँदे वेल्स घोषणापत्र वाचन गर्नुभएको थियो । घोषणापत्रमा वेल्समा बाक्लिएको नेपाली समुदायका गतिविधि तथा समस्याहरु उजागर गर्न शाखाले सक्दो पहल गर्ने, नेपालीपन, भाषा, साहित्य, संस्कार र संस्कृतिलाई दोश्रो पुस्तामा हस्तान्तरण गर्न समुदायबाट प्राप्त सुझाव गम्भीरतापूर्वक लिने, शाखालाई यूकेका विभिन्न ठाउं समेट्ने र विकेन्द्रिकरण गर्ने सुझावलाई महत्वका साथ लिने लगायत प्रतिबद्धता छन् ।

शाखा अध्यक्ष विमला सेनेले सबैलाई धन्यवाद ज्ञापन गर्दै समुदायसँग सहकार्य गर्न अन्तरक्रियालाई निरन्तरता दिने कार्ययोजनाबमोजिम कार्यक्रम भएको बताउनुभयो । अध्यक्ष सेनेले अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री