नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । उहाँहरूबीच शनिबार साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको दुवै मन्त्रीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

भेटवार्ताका क्रममा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल भएको छ । द्विपक्षीय भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट भारत सरकार र भारतका जनतालाई अभिवादन गर्नुभएको थियो । उहाँले गत अप्रिल महिनामा मौरिससमा भएको नवौँ इन्डियन ओसियन सम्मेलनको साइडलाइनमा विदेशमन्त्री जयशङ्करसँग फलदायी छलफल भएको र पुनः भेट्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।

नेपालको नयाँ सरकारले सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश बोकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले आफूहरूसँग नजिकको छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ सङ्कल्प रहेको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै भारतको उच्चस्तरीय महत्त्वपूर्ण भ्रमण गर्नुभएको उल्लेख गर्दै नेपाल र भारत केवल दुई देश मात्र नभई एक गौरवशाली प्राचीन सभ्यताका साझेदार भएका बताउनुभएको थियो । “हामी यस सभ्यतागत सम्बन्धलाई आधुनिक विकासमुखी साझेदारीमा रूपान्तरण गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री खनालले नेपालले भारतसँगको सम्बन्धलाई उच्चतम् प्राथमिकता दिएको उल्लेख गर्दै नयाँ सरकार सार्थक, उद्देश्यपूर्ण र उच्चतम स्तरमा सम्बन्ध प्रगाढ बनाउन तयार रहेको बताउनुभयो ।

विदेशमन्त्री जयशङ्करले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै करिब दुई महिनाअघि मौरिससमा परराष्ट्रमन्त्री खनालसँग भएको भेट र छलफलको स्मरण गर्नुभएको थियो । विदेशमन्त्री जयशङ्करले द्विपक्षीय सम्बन्ध व्यापार, वाणिज्य, लगानी, ऊर्जा, विकास सहकार्य, शिक्षा, विपद् प्रतिक्रिया र संस्कृतिजस्ता क्षेत्रमा निरन्तर विकसित हुँदै आएको उल्लेख गर्दै दुई देशसँग त्यसलाई अझ अगाडि बढाउने स्टार्टअप, कृत्रिम बौद्धिकता, सूचना प्रविधि, नवीकरणीय ऊर्जा र अन्य नयाँ क्षेत्रहरूमा पनि नयाँ अवसर भएको बताउनुभएको थियो ।

परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री