व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण

बेलायतमा वर्षभरि मनाइने चाडपर्व, धार्मिक चलन र राजनीतिक प्रक्रियाहरूमध्ये एउटा यस्तो पुरानो चलन पनि छ, जसको धार्मिक आधार हजारौं वर्ष पुरानो भए पनि त्यसको असर आजको आधुनिक संसद्, विद्यालय, पर्यटन, व्यापार र पारिवारिक जीवनसम्म फैलिएको पाइन्छ। त्यो हो ‘व्हिटसन’, जसलाई ‘व्हिटसन्डे’ वा धार्मिक शब्दमा ‘पेन्टेकोस्ट’ पनि भनिन्छ। अहिलेका धेरै बेलायतीहरूलाई यो ‘स्प्रिङ बैंक होलिडे’ सँग जोडिएको एउटा लामो छुट्टीको मौका जस्तो मात्र लाग्न सक्छ तर यसको इतिहास धार्मिक आस्था, सामाजिक परिवर्तन, औद्योगिक विकास र संसदीय अभ्याससँग जोडिएको छ।
धेरैलाई थाहा नहुन सक्छ कि बेलायतमा अहिलेको बैंक होलिडेको चलन, विद्यालयको ‘हाफ–टर्म’ बिदा, संसद्को विशेष आराम र वसन्त ऋतुको सामाजिक चहलपहलमा यस व्हिटसनको प्रभाव छ। यसले बेलायतको एउटा महत्त्वपूर्ण गुण पनि देखाउँछ। आफ्ना पुराना धार्मिक र सांस्कृतिक चलनलाई पूरै नत्यागीकन आधुनिक र व्यवहारिक रूपमा ढाल्ने क्षमता।
धर्मको हिसाबले हेर्दा, ‘पेन्टेकोस्ट’ क्रिश्चियन धर्मको एउटा ठूलो दिन हो। यो इस्टरपछि ठ्याक्कै ५०औं दिनमा आउने भएकाले यसलाई ग्रीक भाषाको पेन्टेकोस्टे अर्थात् “पचासौँ” भन्ने शब्दबाट राखिएको हो। क्रिश्चियन धर्म अनुसार, येशू ख्रीष्ट स्वर्ग गएपछि उनका चेलाहरूमा ‘पवित्र आत्मा’ आएको दिन यही हो। धार्मिक पुस्तकहरूमा लेखिए अनुसार यस दिन चेलाहरूले धेरै भाषामा कुरा गर्न थालेका थिए र धेरै धर्मका ज्ञाताहरूले यसलाई “क्रिश्चियन चर्चको जन्मदिन” पनि भन्ने गरेका छन्।
यही धार्मिक अवसरसँगै बेलायतमा एउटा रमाइलो सामाजिक चलन विकास भयो। मध्यकालमा नयाँ मानिसहरूलाई चर्चमार्फत ‘बप्तिस्मा’ (दीक्षf )दिने काम यही समयमा धेरै हुन्थ्यो। बप्तिस्मा लिनेहरूले सफा देखिन सेतो कपडा लगाउने गर्थे। धेरै इतिहासकारहरूका अनुसार “ह्वाइट सन्डे” अर्थात् “सेतो आइतबार” भन्ने शब्द नै छोटो हुँदै ‘व्हिटसन’ बन्न गएको हो। यद्यपि, केही भाषाका जानकारहरूले यो शब्द पुरानो अंग्रेजी भाषाबाट आएको हो भन्छन्, तर सेतो कपडासँग जोडिएको कुरा धेरैले मान्छन्।
मध्ययुगीन बेलायतमा व्हिटसन एउटा धार्मिक कार्यक्रम मात्र नभएर यो एउटा ठूलो सामाजिक उत्सव पनि थियो। गाउँ–शहरमा मेला लाग्ने, घोडा दौड हुने, सामूहिक भोज खाने, गीत गाउने, नाच्ने र धेरै मानिसहरू एकै ठाउँमा भेला हुने गर्थे। औद्योगिक क्रान्तिअघिको बेलायतमा धेरै किसान र मजदुरहरूले वर्षमा थोरै बिदा मात्र पाउने भएकाले व्हिटसनलाई गर्मी यामको सुरुमा आउने एउटा ठूलो बिदाको रूपमा लिइन्थ्यो। कतिपय इतिहासकारहरूले यसलाई “काम गर्ने मानिसहरूको गर्मीको चाड” भनेर पनि भनेका छन्।
विशेषगरी १९औँ र २०औँ शताब्दीको सुरुतिर ‘व्हिट मन्डे’ बेलायतको सबैभन्दा व्यस्त दिनहरूमध्ये एक मानिन्थ्यो। रेल सेवा बढेपछि धेरै मानिसहरू समुद्रको किनार, गाउँ र धार्मिक ठाउँहरूमा घुम्न जान्थे। म्यानचेस्टर, लिभरपुल र बर्मिङ्घम जस्ता शहरहरूबाट हजारौं मजदुर परिवार केही दिनको लागि आराम गर्न बाहिर निस्कन्थे। केही लेखोटहरू अनुसार १९३०–५० को दशकमा व्हिटसनको छुट्टी बेलायतको रेल सेवाका लागि क्रिसमसभन्दा पनि व्यस्त समय हुन्थ्यो।
तर समयसँगै एउटा समस्या देखिन थाल्यो। इस्टर र पेन्टेकोस्ट चन्द्रमाको आधारमा हुने भएकाले हरेक वर्ष व्हिटसनको मिति फरक भइरहन्थ्यो। कहिले मे महिनाको बीचमा, कहिले जुनको सुरुमा पर्ने भएकाले विद्यालय, उद्योग र कामकाजमा समस्या आउन थाल्यो। यही समस्यालाई हटाउन बेलायत सरकारले सन् १९७१ मा एउटा महत्त्वपूर्ण निर्णय गर्यो।
बैंकिङ एन्ड फाइनान्सियल डिलिङ्स एक्ट १९७१ अनुसार ‘व्हिट मन्डे’ को मिति परिवर्तन हुने कुरालाई हटाएर मे महिनाको अन्तिम सोमबारलाई सधैँको लागि सार्वजनिक बिदा बनाइयो, जसलाई आज ‘स्प्रिङ बैंक होलिडे’ भनिन्छ। यस परिवर्तनले धार्मिक चलनलाई पूरै हटाएन तर यसलाई आधुनिक आर्थिक र प्रशासनिक आवश्यकता अनुसार मिलाइयो। त्यसैले आज पनि धेरै चर्चहरूले पेन्टेकोस्टलाई धार्मिक रूपमा मनाउँछन् भने धेरै मानिसहरूले ‘स्प्रिङ बैंक होलिडे’को रूपमा लामो छुट्टी मनाउँछन्।
बेलायतमा सार्वजनिक बिदाको आफ्नै इतिहास छ। धेरैलाई बैंक होलिडे भनेको बैंक बन्द हुने दिन मात्र हो जस्तो लाग्छ तर यसको अर्थ धेरै गहिरो छ। सन् १८७१ मा राजनीतिज्ञ तथा बैंकर सर जोन लुबकले सार्वजनिक बिदा सम्बन्धी कानून ल्याएपछि ‘बैंक होलिडे’ औपचारिक रूपमा सुरु भएको मानिन्छ। सुरुमा केही दिन बैंकहरू बन्द गरिने भएकाले यसको नाम बैंक होलिडे रहन गयो तर पछि यसले सबैको जीवनमा प्रभाव पार्‍यो।
अहिले इङ्गल्याण्ड र वेल्समा वर्षमा ८ वटा बैंक होलिडे हुन्छन् भने स्कटल्याण्डमा ९ र नर्दन आयरल्याण्डमा १० दिनसम्म सार्वजनिक बिदा हुन्छ । यदि बिदा शनिबार वा आइतबारमा परेमा त्यसको सट्टा सोमबार ‘सट्टा बिदा’ दिने नियमले काम गर्ने मानिसहरूको आराम गर्ने अधिकारलाई सुरक्षित गरेको देखिन्छ।
विद्यालयको पढाइमा पनि व्हिटसनको प्रभाव देखिन्छ। मे महिनाको अन्तिमतिर पर्ने ‘हाफ-टर्म ब्रेक’ अहिले बेलायतका धेरै विद्यार्थीहरूको लागि छोटो तर महत्त्वपूर्ण छुट्टी बनेको छ। इङ्गल्याण्डमा ९० लाखभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका छन्, जसले गर्दा यो हप्ता देशमा घुम्न जाने, होटल बुक गर्ने, धेरै खर्च गर्ने जस्ता कामहरू धेरै हुन्छन्।
यही समयमा बेलायती संसद्को ‘व्हिटसन रिसेस’ पनि सुरु हुने भएकाले राजनीति र प्रशासनमा पनि यसको असर देखिन्छ। बेलायतको संसद् वर्षभरि लगातार चल्दैन, यसमा विभिन्न समयमा ‘रिसेस’ अर्थात् विश्राम दिइन्छ। सामान्यतया संसद्मा क्रिसमस, इस्टर, फेब्रुअरी हाफ–टर्म, व्हिटसन, समर र पार्टी कन्फरेन्स गरी वर्षमा ६ पटक जति छुट्टी हुन्छ।
बेलायतको संसद्को व्हिटसन रिसेसलाई विशेष रूपमा महत्त्वपूर्ण मानिन्छ, किनकि यसले सांसदहरूलाई आफ्नो क्षेत्रमा फर्कने मौका दिन्छ। धेरै सांसदहरूले यस समयमा स्थानीय मानिसहरूका समस्या सुन्ने, वृद्धाश्रम, सामुदायिक भवन र स्थानीय व्यवसायहरूको भ्रमण गर्छन्। यो तरिकाले बेलायती संसदीय प्रणालीलाई जनतासँग जोड्ने काम गर्छ।
तर संसद् बन्द हुनुको आलोचना पनि हुने गरेको छ। कतिपयले सांसदहरूले गरी विशेषगरी आर्थिक समस्या वा राजनीतिक तनाव भएको बेलामा “धेरै बिदा” लिने गरेको तर्क गर्छन। तर समर्थकहरू संसद् भवनमा लगातार छलफल गर्नु मात्र लोकतन्त्र होइन जनतामाझ गएर उनीहरूको समस्या बुझ्नु पनि लोकतन्त्रको एउटा भाग हो भन्ने तर्क गर्दछन ।
संसद्को वार्षिक विश्रामको समयमा वेस्टमिन्स्टर दरबार अर्थात् ऐतिहासिक संसद् भवनमा मर्मत, सुरक्षा जाँच र प्राविधिक स्तरोन्नतिको कामलाई तीव्रता दिइन्छ। यसबाहेक, सर्वसाधारणका लागि विशेष ‘मार्गनिर्देशित भ्रमणहरू’ सञ्चालन गरिनु अर्को चाखलाग्दो पक्ष हो। प्रत्येक वर्ष लाखौं पर्यटकहरूले संसद् भवनको अवलोकन गर्छन्।
आर्थिक दृष्टिकोणबाट हेर्दा, बेलायतमा बैंक होलिडेले दोहोरो प्रभाव पार्छ। एकातिर, उत्पादन र कार्यालय समयमा कमी आउँदा केही आर्थिक गतिविधिहरूमा अस्थायी असर पर्छ, तर अर्कोतिर पर्यटन, होटल, रेस्टुरेन्ट, खुद्रा व्यापार र मनोरञ्जन क्षेत्रमा खर्च उल्लेख्य रूपमा बढ्छ। विश्लेषकहरूका अनुसार बैंक होलिडेको सप्ताहन्तमा लाखौं बेलायती परिवारहरू यात्रा, किनमेल, बगैंचा सुधार, बारबेक्यू र सामाजिक जमघटमा सहभागी हुने भएकाले अर्थतन्त्रको उपभोग पक्ष बलियो हुन्छ।
सांस्कृतिक रूपमा हेर्दा, व्हिटसनले बेलायतको एउटा महत्त्वपूर्ण पहिचान “परम्परा र आधुनिकताको संयोजन”लाई प्रमाणित गर्दछ। यहाँ पुरानो धार्मिक अभ्यासलाई हटाइएको छैन, तर आधुनिक समाजका आवश्यकता अनुसार परिवर्तन गरिएको छ। यही कारणले गर्दा बेलायतमा चर्च जाने मानिसहरूको संख्या घट्दो क्रमको भए पनि क्रिसमस, इस्टर, पेन्टेकोस्ट, हार्भेस्ट फेस्टिभल जस्ता सांस्कृतिक–धार्मिक अवसरहरूको सामाजिक प्रभाव अझै पनि कायम छ।
व्हिटसन आज केवल चर्चको धार्मिक समारोह मात्र होइन,यो बेलायती समाजले परम्परा, व्यवहारिकता, लोकतन्त्र र आधुनिक जीवनबीच कसरी सन्तुलन कायम गर्छ भन्ने एउटा सशक्त उदाहरण पनि हो।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री