तमु धीं यूकेले गर्‍यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्‍याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म

लन्डन । तमु धीं यूकेले यही २४ मेमा हुने २४ औं गोर्खा कप २०२६ अन्तर्गत मुख्य विधा (पुरुष) फुटबल प्रतियोगितामा सहभागी टोलीहरूको संख्या ४० पुर्‍याउने निर्णय गरेको छ ।

पछिल्ला वर्षहरूमा गोर्खा कपप्रति बढ्दो आकर्षण, विभिन्न क्लबहरूको उच्च सहभागिता चाहना तथा प्रतियोगिताको लोकप्रियतालाई मध्यनजर गर्दै ३२ टिमबाट ४० पुर्‍याउने निर्णय लिइएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले आगामी शुक्रबार १६ मे भित्र दर्ता गर्नुपर्नेछ । ३२ टिम यसअघि नै दर्ता भइसकेको छ ।

प्रतियोगिता अल्डरसटस्थित क्वीन्स एभिन्यूमा संचालन हुने छ । तमु धीं यूकेका मिडिया सेक्रेटरी एसके गुरुङका अनुसार भेट्रानतर्फ १६ टिम दर्ता भएको छ । महिलातर्फ ४ टीम खेलाइने छ ।

टिम दर्ताका लागि ५ अप्रिलदेखि खुला गरिएको थियो । आवश्यक टीम पूरा भएको भन्दै दर्ता प्रक्रिया बन्द गरिएको थियो । यसपटक गोर्खा कपमा खाना (रेष्टुरेन्ट), व्यापारिक तथा सामुदायिक गरी १ सय १० हाराहारीमा स्टलहरू रहनेछन् ।

गोर्खा कप संयोजकमा तमु धीं यूके स्पोर्ट्स सेक्रेटरी क्या. दीपक घले हुनुहुन्छ । बेलायतको सबैभन्दा ठूलो नेपाली इभेन्ट ‘गोर्खाकप’ को गत वर्षको संस्करणमा त्यसबेलासम्मकै धेरै करिब १७ हजार दर्शकको उपस्थिति थियो। यसपटक उक्त संख्या झन् बढेर २० हजारभन्दा बढी पुग्ने अपेक्षा गरिएको अध्यक्ष जुमकाजी गुरुङको भनाइ छ ।

गोर्खा कपमा यसपटक सबै विधा तथा स्थानका लागि पुरस्कार राशी पनि बढाइएको छ। मुख्य विधाका विजेताको पुरस्कार राशी ३५ सय पाउण्ड पुर्‍याइएको छ ।

यस्तो छ गोर्खा कप फुटबल प्रतियोगिताको पुरस्कार राशि
यस वर्ष मेनतर्फका विजेताले ३ हजार ५ सय पाउन्ड र भेटेरानतर्फका विजेताले १ हजार ८ सय पाउन्ड प्राप्त गर्नेछन् । गत वर्ष मेनतर्फ ३ हजार र भेटेरानतर्फ १ हजार ५ सय पाउन्ड पुरस्कार राशी थियो ।

यसवर्ष मेनतर्फ उपविजेताले २ हजार पाउन्ड र भेटेरानतर्फका उपविजेताले १ हजार २ सय पाउन्ड पाउनेछन् । महिलातर्फका विजेताले ६ सय पाउन्ड र उपविजेताले ४ सय पाउन्ड प्राप्त गर्नेछन् ।

टिम दर्ता शुल्क मेन र भेटेरानतर्फ ३ सय ५० पाउन्ड तथा महिलातर्फ ३ सय पाउन्ड तोकिएको थियो ।

गत वर्ष २३ औँ संस्करणमा मेनतर्फ नेपाली ड्रिम, भेटेरानतर्फ हिमालयन र महिलातर्फ रन्डर बोल्ट विजेता बनेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई ट्रफीसहित पुरस्कार प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राइकरलाई पनि सम्मान गरिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

२४ औं गोर्खा कप २०२६ ले यस वर्ष पनि रोमाञ्चक, प्रतिस्पर्धात्मक तथा उत्साहपूर्ण फुटबल माहोल सिर्जना गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ। प्रतियोगिताले खेलाडी, समर्थक तथा समुदायलाई एकताबद्ध गर्दै खेल भावना र फुटबल संस्कृतिको उत्सव मनाउने विश्वास लिइएको छ। आयोजकका अनुसार गोर्खा कपले हरेक वर्ष उल्लेखनीय संख्यामा प्रवेश आवेदन प्राप्त गर्दै आएको छ, जसले फुटबल समुदायभित्र प्रतियोगिताको बढ्दो प्रतिष्ठा र महत्त्वलाई झल्काउँछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री