नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने

‘वर्ष पत्रकारिता सम्मान पुरस्कार’ का लागि वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, सल्लाहकारहरू नवीन पोखरेल, नरेश खपाङ्गी मगर, ध्रुवराज आर्याल र अध्यक्ष विमला सेने सम्मिलित सिफारिस समिति गठन

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले आगामी १० जुलाई २०२६ मा १५औं स्थापना दिवस मनाउने भएको छ ।

अध्यक्ष विमला सेनेको अध्यक्षतामा मंगलबार सम्पन्न कार्यसमिति बैठकले वार्षिक उत्सवका अतिरिक्त पत्रकारिता तालिम, समाजसँग अन्तरक्रिया र प्रतिष्ठित ‘वर्ष पत्रकारिता सम्मान’ पुरस्कारका लागि छनौट समिति गठन गर्ने निर्णयसमेत गरेको हो । वार्षिक उत्सव समारोह अल्डरसटस्थित एम्पायर हलमा हुनेछ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । कार्यक्रमको सहसंयोजकमा उपाध्यक्ष प्रमिला लाबुङ राई तथा सदस्यहरूमा गोमा राना, नगेन्द्र नेम्वाङ र विश्वास दीप तिगेला रहनुभएको छ ।

प्रचार–प्रसार समितिको संयोजक महासचिव खेमराज रानाभाट, सहसंयोजक उपाध्यक्ष शिव भण्डारी, स्वागत तथा हल व्यवस्थापन समितिको संयोजक गोमा राना, सहसंयोजक मञ्जु भण्डारी खरेल, आर्थिक सहयोग संकलन समितिको संयोजकमा कोषाध्यक्ष एस. के. गुरुङ, सहसंयोजकको जिम्मेवारी सहकोषाध्यक्ष सुरेन्द्र इङ्नामलाई दिइएको छ ।

शाखाले हरेक वर्ष प्रदान गर्दै आएको ‘वर्ष पत्रकारिता सम्मान पुरस्कार’ का लागि यस पटक वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, सल्लाहकारहरू नवीन पोखरेल, नरेश खपाङ्गी मगर, ध्रुवराज आर्याल र अध्यक्ष विमला सेने सम्मिलित सिफारिस समिति गठन गरेको छ । यस समितिले छनौट गरेको पत्रकारलाई वार्षिक उत्सवमा सम्मान गरिनेछ ।

पत्रकारहरूको व्यावसायिक क्षमता वृद्धिका लागि महासंघले विभिन्न तालिम कार्यक्रमसमेत सार्वजनिक गरेको छ। आगामी ६ जुन २०२६ मा वेल्सको कुम्ब्रानमा स्थानीय सामाजिक संघसंस्थाहरूसँग अन्तरक्रियाका साथै “न्यूज रिपोर्टिङ नोट तयारी” सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।

त्यसैगरी, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर ३ मे २०२६ मा केन्द्रसँगको समन्वयमा “वर्तमान पत्रकारिताको चुनौती र सम्भावना” विषयमा भर्चुअल प्रशिक्षण आयोजना हुने जानकारी दिइएको छ। बैठकले आगामी २६ र २७ जुलाई २०२६ मा जापानको नारितामा हुने वैदेशिक शाखाहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा यूके शाखाको तर्फबाट प्रभावकारी सहभागिता जनाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री