
लन्डन । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा लन्डनमा नेपाली हिपहप संगीतको भव्य प्रस्तुति भएको छ । लन्डनको डाल्स्टन, ह्याक्नीस्थित अर्थ रिभोलुसनरी ह्याक्नी हलमा आयोजित ‘नेपहप नाइट २०८३’ मा नेपाली र्याप संगीतले दर्शकलाई उत्साहित बनाएको हो ।
मिलानोयर इभेन्ट्सद्वारा आयोजित कार्यक्रममा चर्चित र्यापर समीर घिसिङ (भिटेन) र साकार (लिल बुद्ध) ले एउटै मञ्चबाट प्रस्तुति दिएका थिए । करिब तीन महिनाको तयारीपछि आयोजना गरिएको कार्यक्रममा एक हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ । सुरुदेखि अन्त्यसम्म नै कार्यक्रमको माहोल उत्साहपूर्ण र रमाइलो बनेको थियो ।
कार्यक्रम साँझ ७ देखि मध्यरात १२ बजेसम्म सञ्चालन भएको थियो । भिटेनले ‘सिम्सिमे पानी’, ‘ड्रग एडिक्ट’, ‘हालखबर’, ‘हामी यस्तै त हो नि ब्रो’, ‘चुरोट’ लगायत आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए भने साकारले ‘नो पिस इन लभ’, ‘सुरु गरौं कब्जा अनि आउँछ मजा’ सहित विभिन्न हिट गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाए । साकारलाई डीजे इभिलाइभले साथ दिएका थिए ।
त्यस्तै, भिटेन र साकारले संयुक्त रूपमा प्रस्तुत गरेको ‘ल ल ल..’ गीतमा दर्शक झन् उत्साहित बनेका थिए । कार्यक्रममा स्थानीय समूह ‘अफलाइन’ र ‘पानी पुरी’ ले पनि प्रस्तुति दिँदै माहोल तताएका थिए ।
आयोजक मिलानोयर इभेन्ट्स लिमिटेडकी निर्देशक लुबिका रिमालले पहिलो कार्यक्रम नै सफल भएकोमा सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी गर्मीयाममा थप कार्यक्रम आयोजना गर्ने तयारी रहेको जानकारी दिइन् । कार्यक्रम सिड्नी गुरुङले सञ्चालन गरेकी थिइन् ।
यसैबीच, भिटेनको आधिकारिक युट्युब च्यानलमा ३० लाख सब्सक्राइबर पुगेको अवसरमा आयोजक मिलानोयर इभेन्ट्सले टावर ब्रिज क्षेत्रमा विशेष उत्सवसमेत आयोजना गरेको थियो । भिटेनले आफ्ना दर्शक तथा श्रोताप्रति आभार व्यक्त गरेका छन् ।
भिटेन अप्रिल २० मा नेपाल फर्कने कार्यक्रम रहेको छ । त्यस्तै, साकार र उनका डीजे पनि १६ अप्रिलमा नेपाल फर्किंदैछन् ।
