
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा हिन्दूराष्ट्रको माग गर्दै बबहरमहलबाट निकालेको बिरोध जुलुशमा सहभागी हुँदै । तस्बिर ः कृष्णराज गौतम, रासस
काठमाडौँ, २२ असार । मुलुकका सामाजिक गतिविधि तथा राजनीतिक भेटघाटमा व्यस्त रहने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ‘जाग हो जाग नेपाली, नवजवान हो’ भन्दै गाएको गीत व्यावसायिक गायक गायिकाको भन्दा कम थिएन ।
पार्टीले नयाँ संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता तथा गणतन्त्रलगायत विषयमा जनमत सङग्रह लिएर मात्र निर्णय गनुपर्ने माग गर्दै मंगलबार नयाँबानेश्वरस्थित संविधानसभा भवन अगाडि आयोजित विरोध प्रदर्शनमा अध्यक्ष थापाले सो गीत जोसिलो पाराले गाउँदा स्रोताले निकै रुचीपूर्ण सुने ।
उक्त कार्यक्रममा गायिका ज्ञानु राणा तथा पार्टीका उपाध्यक्ष राजीव पराजुली, सहायक महामन्त्री राजाराम श्रेष्ठ, नेता देवेन्द्र प्रधानलगायतले नाच्दै साथ दिए ।
असारे झरीमा रुजेका कार्यकर्तालाई गीतले एकीकृत गर्दै गएको थियो भने नयाँबानेश्वर मार्ग भई आवतजावत गर्ने सर्वसाधारणलाई समेत मनोरञ्जन दिएको थियो । पार्टीले प्रचलनमा ल्याएको ‘हाम्रो प्यारो राप्रपा नेपाल’ गीतका रचयिता समेत अध्यक्ष थापा हुन् ।
दोस्रो संविधानसभाको निर्वाचनपछि चौथो शक्तिको रूपमा स्थापित पार्टीलाई गतिशील बनाउन तथा लामो समयदेखि पार्टीले उठाउँदै आएको हिन्दू राष्ट्रलगायत विषयलाई पार्टीको कार्यसूचीमा राखेर जनमतलाई आकर्षित गर्न राजनीतिक, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
मस्यौदा समितिले निर्माण गरेको संविधानको प्रारम्भिक मस्यौदा हेरफेर भई ‘धर्म परिवर्तन’लाई मौलिक हकमा राख्ने, संविधानमा ‘समानता’ भन्ने शब्द राख्ने जस्ता कुरामा पार्टीले असहमति भई देशभर सशक्त विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । सोही अन्तर्गत बिरोध प्रदर्शन गरिएको हो ।
विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधानसभामा दुई तिहाइभन्दा बढी सदस्य हिन्दू राष्ट्रको पक्षमा भएको जिकिर गर्दै सीमित दलका शीर्ष नेताको स्वेच्छाचारिता कारण हिन्दू राष्ट्रलाई मर्माहात् गर्ने कार्य भएको बताए ।
पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङले हिन्दू राष्ट्र नेपालको गौरबसँग जोडिएकाले त्यसलाई कायम गर्न पार्टीले जति ठूलो त्याग गर्न सक्ने बताउँदै करिब ८० प्रतिशत हिन्दू रहेको मुलुकमा हिन्दू राष्ट्रमा सनातन संस्कृति र पहिचानलाई संविधानमा सुनिश्चित गर्नुपर्ने माग गरे ।
पार्टीले विभिन्न समयमा हिन्दू राष्ट्रको माग गर्दै देशव्यापीरूपमा रथ यात्रा, सनातन विधि परम्पराका पूजाआजा तथा अन्य चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
पार्टीका महिला विभाग प्रमुख एवम् सभासद् कुन्ती शाहीले संविधान निर्माण गर्ने सन्दर्भमा नेपाली जनताको आस्था, विश्वास र जीवन पद्धतिका रूपमा रहेको सनातन धर्म र मान्यतालाई कायम गरी नेपाललाई हिन्दू राष्ट्रका रूपमा स्थापित गर्न कसैले पनि रोक्न नसक्ने बताए ।
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका