बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता

लन्डन । तमु धीं यूकेको आयोजनामा आगामी मे २४ मा २४ औं गोर्खा कप हुँदै छ ।

अल्डरसटस्थित क्वीन्स एभिन्यूमा संचालन हुने उक्त प्रतियोगिताका लागि मुख्य विधातर्फ ३२ टिम दर्ता भएको तमु धीं यूकेका मिडिया सेक्रेटरी एसके गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भेट्रानतर्फ १६ टिम दर्ता भएको छ । महिलातर्फ ४ टीम खेलाइने छ ।

टिम दर्ताका लागि ५ अप्रिलदेखि खुला गरिएको थियो । आवश्यक टीम पूरा भएकाले दर्ता प्रक्रिया शुक्रबारदेखि बन्द भएको छ । मे पहिलो सातासम्मको लागि टीम दर्ता खुला गरिएको भए पनि आवश्यक टीम दर्ता भइसकेपछि दर्ता बन्द गर्नुपरेको उहाँले प्रस्ट पार्नुभयो ।

गत आइतबारदेखि नै खुला गरिएको स्टल दर्ता पनि जारी छ। यसपटक गोर्खा कपमा खाना (रेष्टुरेन्ट), व्यापारिक तथा सामुदायिक गरी १ सय १० हाराहारीमा स्टलहरू रहनेछन् । जसमध्ये खानाका लागि आवश्यक संख्याका स्टल बुक भइसकेको छ भने अन्य बुकिङ जारी रहेको आयोजकले जनाएको छ ।

गोर्खा कप संयोजकमा तमु धीं यूके स्पोर्ट्स सेक्रेटरी क्या. दीपक घले हुनुहुन्छ । बेलायतको सबैभन्दा ठूलो नेपाली इभेन्ट ‘गोर्खाकप’ को गत वर्षको संस्करणमा त्यसबेलासम्मकै धेरै करिब १७ हजार दर्शकको उपस्थिति थियो। यसपटक उक्त संख्या झन् बढेर २० हजारभन्दा बढी पुग्ने अपेक्षा गरिएको अध्यक्ष जुमकाजी गुरुङको भनाइ छ ।

गोर्खा कपमा यसपटक सबै विधा तथा स्थानका लागि पुरस्कार राशी पनि बढाइएको छ। मुख्य विधाका विजेताको पुरस्कार राशी ३५ सय पाउण्ड पुर्‍याइएको छ ।

यस्तो छ गोर्खा कप फुटबल प्रतियोगिताको पुरस्कार राशि
यस वर्ष मेनतर्फका विजेताले ३ हजार ५ सय पाउन्ड र भेटेरानतर्फका विजेताले १ हजार ८ सय पाउन्ड प्राप्त गर्नेछन् । गत वर्ष मेनतर्फ ३ हजार र भेटेरानतर्फ १ हजार ५ सय पाउन्ड पुरस्कार राशी थियो ।

यसवर्ष मेनतर्फ उपविजेताले २ हजार पाउन्ड र भेटेरानतर्फका उपविजेताले १ हजार २ सय पाउन्ड पाउनेछन् । महिलातर्फका विजेताले ६ सय पाउन्ड र उपविजेताले ४ सय पाउन्ड प्राप्त गर्नेछन् ।

टिम दर्ता शुल्क मेन र भेटेरानतर्फ ३ सय ५० पाउन्ड तथा महिलातर्फ ३ सय पाउन्ड तोकिएको थियो ।

गत वर्ष २३ औँ संस्करणमा मेनतर्फ नेपाली ड्रिम, भेटेरानतर्फ हिमालयन र महिलातर्फ रन्डर बोल्ट विजेता बनेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई ट्रफीसहित पुरस्कार प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राइकरलाई पनि सम्मान गरिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री