
तेहरान । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ । युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो अधिकारको मान्यता, क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म सङ्घर्ष रोक्न नसकिने स्पष्ट पारेको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल एक्समार्फत रुस र पाकिस्तानका नेतासँग भएको कुराकानीपछि आफ्नो देश शान्तिप्रति प्रतिबद्ध रहेको दोहोर्याउनुभएको छ । उहाँका अनुसार ‘यहुदी शासन र अमेरिकाले भड्काएको’ यो युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको इरानका वैध अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गर्नु, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनु र भविष्यमा इरानमाथि आक्रमण नहुने कडा अन्तर्राष्ट्रिय ग्यारेन्टी दिनु हो ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । सो आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला सैयद अली खामेनी, उच्च सैन्य कमान्डरहरू तथा सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) ले इजरायलका विभिन्न स्थानलाई लक्षित गर्दै प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घका लागि इरानका स्थायी प्रतिनिधि अमिर–सइद इरवानीका अनुसार फेब्रुअरी २८ यता अमेरिकी र इजरायली सैन्य कारबाहीका कारण महिला तथा बालबालिकासहित कम्तीमा एक हजार ३४८ सर्वसाधारणको मृत्यु भएको छ भने १७ हजारभन्दा बढी घाइते भएका छन् ।
यसबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले खाडी सहयोग परिषद् (जिसिसी) देशहरू र जोर्डनमाथि इरानले गरेको आक्रमणको निन्दा गर्दै प्रस्ताव पारित गरेको छ । १५ सदस्यीय परिषद्मा प्रस्तुत उक्त प्रस्ताव १३–० मतले पारित भएको थियो । प्रस्तावलाई बहराइनले नेतृत्व गरेको थियो र १३० भन्दा बढी देशले सह–प्रायोजन गरेका थिए, जसमा भारत पनि समावेश छ । चीन र रुस मतदानमा सहभागी भएनन् ।
प्रस्तावमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र जोर्डनमाथि इरानले गरेको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै कडा शब्दमा निन्दा गरिएको छ । साथै होर्मुज जलडमरूमध्य बन्द गर्ने इरानी चेतावनीप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
यसै क्रममा इराकको सुरक्षा मिडिया सेलका प्रमुख साद मानका अनुसार इराकको तट नजिक दुई तेल ट्याङ्करमा आक्रमण भएको छ । उक्त घटनामा ३८ जना चालक दलका सदस्यलाई उद्धार गरिएको छ भने एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
उता इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले ‘अपरेसन ट्रु प्रोमिस–४’ को ४०औँ चरण सुरु भएको घोषणा गरेको छ । इरानको मेहर समाचार एजेन्सीका अनुसार यसअन्तर्गत अमेरिकी सैन्य आधार, तेल अभिव र हाइफा क्षेत्रमा विभिन्न मिसाइल प्रहार गरिएको छ । ‘गदर’, ‘इमाद’, ‘खेबर शेकान’ र ‘फताह’ नामका मिसाइलहरू प्रयोग गरिएको दाबी गरिएको छ ।
इरानले खाडी क्षेत्रका तेल ट्याङ्करहरूमा आक्रमण गरेको तथा होर्मुज जलडमरूमध्य बन्द गरेको घटनाले विश्व ऊर्जा आपूर्तिमा असर परेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाएको छ ।
राज्य सञ्चारमाध्यम प्रेस टिभीले सार्वजनिक गरेको भिडियोमा पर्सियन खाडी र होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजहरूको गतिविधि कडाइका साथ निगरानी भइरहेको देखाइएको छ । उक्त फुटेजमा इरानी सुरक्षा बलका स्पिडबोटहरू सक्रिय रहेको र सानो गतिविधि भए पनि जहाजहरू लक्ष्य बन्न सक्ने चेतावनी दिइएको देखिन्छ ।
न्युयोर्क टाइम्सका अनुसार इरानको प्रतिआक्रमणले पश्चिम एसियाभर रहेका कम्तीमा १७ अमेरिकी सैन्य आधार तथा अन्य संरचनामा क्षति पुर्याएको छ । यो निष्कर्ष स्याटेलाइट तस्बिर, सामाजिक सञ्जाल भिडियो, अमेरिकी अधिकारीहरूको भनाइ र इरानी राज्य सञ्चारमाध्यमका रिपोर्टहरूको विश्लेषणपछि निकालिएको हो ।
बहराइन, जोर्डन, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियामा रहेका अमेरिकी आधारहरू पनि आक्रमणको निशानामा परेको बताइएको छ । तीमध्ये अमेरिकी थाड मिसाइल रक्षा प्रणालीका रडारहरू सबैभन्दा महँगो क्षति भएको उल्लेख गरिएको छ ।
यसका साथै इराक, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियामा रहेका अमेरिकी कूटनीतिक नियोगहरूमा पनि आक्रमण भएको जनाइएको छ ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका युद्ध जितेको दाबी गर्नुभएको छ । तर मिशन पूर्ण रूपमा सम्पन्न नभएसम्म अमेरिकी सेना क्षेत्रमै तैनाथ रहने उहाँले बताउनुभएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ