बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध

ढाका । बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५ देखि फेब्रुअरी – १५ सम्म आगमन भिसा (भिओए) निलम्बन गरेको जनाइएको छ ।

भुटान र नेपाल जस्ता छिमेकी देशका नागरिकहरूले बङ्गलादेशबाट आगमन भिसा सुविधा प्राप्त गर्थे । हाललाई त्यो व्यवस्था निलम्बन गर्ने निर्णय सम्बन्धित देशका सरकारहरूलाई आधिकारिक रूपमा सूचित गरी लागु गर्ने तयारी गरिएको जनाइएको छ ।

बङ्गलादेश सरकारका एक वरिष्ठ अधिकारीले जनवरी – १५ देखि फेब्रुअरी – १५ सम्म बङ्गलादेशले एक महिनाका लागि आगमन भिसा निलम्बन गर्ने उल्लेख गर्दै यो नियम बङ्गलादेशबाट आगमनमा भिसा सुविधा प्राप्त गर्ने सबै देशहरूमा लागू हुने बताउनु भएको छ ।

उहाँले आगामी राष्ट्रिय संसदीय चुनावलाई ध्यानमा राखि यस्तो निर्णय लिएको जनाउनु भएको छ ।

निर्वाचन अभियान जनवरी – २२ देखि सुरु हुने र यो समयमा पार्टीहरुले देशभरि र्याली गर्ने भएकाले सरकारले सीमा क्षेत्रमा सुरक्षा बढाउन र निर्वाचन अवधिमा सम्भावित हिंसा रोक्न यो कदम चालेको जनाइएको छ ।
विगतका चुनावको समयमा यस प्रकारको कदम चालिएको बताइएको छ ।

निर्वाचन समाप्त नभए सम्म यी भिसा सेवाहरू पुन ः सुरु हुने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय संसदीय चुनाव र केही सुधारहरूमाथि सार्वजनिक जनमतसंग्रह आगामी फेब्रुअरी – १२ मा बङ्गलादेशमा हुने कार्यक्रम तय भएको छ ।

आम चुनाव र जनमत सङग्रहको नेतृत्वमा, बङ्गलादेशले आफ्नो आन्तरिक सुरक्षा उपायहरू तीव्र बनाएको छ ।

देश भर सेना तैनाथ गरिएको छ भने सेना बाहेक अन्य सुरक्षा बललाई पनि आफ्नो कर्तव्य निर्वाह गर्न अत्यन्त सतर्क रहन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री