थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने

माघी महोत्सवमा राजदूत दवाडी सहभागी हुने

लन्डन । बेलायतमा क्रियाशील थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा यूकेले दोस्रो पटक थारु माघी महोत्सव आयोजना गर्ने भएको छ ।

थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो महोत्सव बुधबार १४ जनवरी २०२६ मा लन्डनस्थित होटल हिल्टन गार्डेन इन हिथ्रोमा सम्पन्न हुनेछ ।

कार्यक्रमबारे जानकारी दिँदै आयोजक समितिका सदस्य ओम संग्रामले माघी पर्व केवल सांस्कृतिक उत्सव मात्र नभई थारु समुदायको सामाजिक एकता, आत्मसम्मान र पहिचानको प्रतीक रहेको बताउनुभयो। उहाँका अनुसार, परदेशमा बसोबास गरिरहेका थारु समुदायलाई आफ्नै संस्कृति, भाषा र परम्परासँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

आयोजकका अनुसार महोत्सवमा थारु समुदायको प्रमुख पर्व माघी (खिचरी, तिला सक्राइत, खिचडी, खिचरा)को ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गरिनेछ। कार्यक्रममा थारु परम्परागत खानाका परिकार, मौलिक नृत्य, सांगीतिक प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।

महोत्सवमा बेलायतका विभिन्न सहरहरूबाट थारु समुदायका साथै अन्य नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकहरूले परदेशी जीवनमा रहेका थारु समुदायलाई एकताबद्ध गर्ने, नयाँ पुस्तामा सांस्कृतिक चेतना विकास गर्ने तथा आपसी सहकार्य सुदृढ बनाउने लक्ष्य लिएको बताएका छन्।

कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। त्यसैगरी, आदिवासी जनजाति महासंघ यूकेको अध्यक्ष मेजर (से.नि.) योगेश कोयी राई विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्। साथै, बेलायतस्थित विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता तथा बुद्धिजीवी व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।

महोत्सवमा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि प्रवेश टिकट ३० पाउण्ड निर्धारण गरिएको छ। दिउँसो १ बजेदेखि राति १० बजेसम्म चल्ने कार्यक्रममा पारिवारिक तथा सांस्कृतिक वातावरणमा माघी पर्व मनाइनेछ।

थारु कल्याणकारिणी सभा यूकेले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई थारु संस्कृति, पहिचान र एकताको उत्सवमा सहभागी हुन निमन्त्रणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री