
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गैरआवासीय नेपाली सङ्घले सञ्चालनमा ल्याउन लागेको विकास कोषका लागि विद्यमान नियमावली आवश्यकताअनुसार परिमार्जन गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को उच्चस्तरीय प्रतिनिधि मण्डलसँगको छलफलमा उहाँले नीतिगत व्यवस्था तथा अनुमति प्रदान गर्न सक्दो सहयोग गर्ने बताउनुभयो । मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावलीहरू छिटो परिमार्जन गरी फण्ड सञ्चालनमा रहेका अवरोध हटाइने उल्लेख गर्दै समाधानतर्फ सकारात्मक तथा व्यावहारिक कदम चालिने आश्वासन दिनुभयो ।
एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले विश्वभर रहेका नेपाली नेपालमा लगानी गर्न उत्सुक रहेको बताउँदै आइपिओमा ८५ प्रतिशत सहभागिता सुनिश्चित गर्न अनुरोध गर्नुभयो । उहाँले आगामी दिनमा प्रवासी समुदायले नेपाल डेभलपमेन्ट फण्डमार्फत देशको आर्थिक र विकास योजनामा अझ प्रभावकारी रूपमा सहयोग गर्ने बताउँदै सरकारले गर्ने विकास प्रयासहरूमा साथ दिने प्रतिबद्धता जनाउनुभयो । संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले फण्ड सञ्चालनका लागि आवश्यक नियमावली तत्काल परिमार्जन गर्न आग्रह गर्नुभयो । पूर्वअध्यक्ष कुमार पन्तले लम्बिँदै आएको प्रक्रिया सहज बनाउन नीतिगत सुधार गर्न माग गर्नुभयो ।
प्रतिनिधिमण्डलले फण्ड सञ्चालनका लागि देखिएका विभिन्न चुनौतीबारे विस्तृत धारणा पेस गरेको थियो । सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली सङ्घको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको छ ।
उक्त कोषमा सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुने जनाइएको छ ।
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन