विदेशमा रहेका नेपालीको भोटिङ राइट्स कार्यान्वयन गराउन सरकार लागिरहेको छ : मन्त्री घिसिङ

लन्डन । नेपाल सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विदेशमा रहेका नेपालीको भोटिङ राइट्स कार्यान्वयन गराउन सरकार लागिरहेको बताउनुभएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)को नागरिकता तथा भोटिङ राइट्स समितिले आइतबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री घिसिङले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूको भोटिङ राइट्स कार्यान्वयनका लागि अध्यादेश जारी गर्न सरकारले काम गरिरहेको जानकारी दिनुभएको हो । उहाँले गृह मन्त्रालयले हाल दुई महत्त्वपूर्ण विषय—एनआरएन नागरिकता तथा विदेशी भूमिबाट मतदान अधिकारबारे गृहकार्य गरिरहेको बताउनुभयो ।

“विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूको भोटिङ राइट्स कार्यान्वयनका लागि अध्यादेश जारी गर्न सरकारले काम गरिरहेको छ । निर्वाचन आयोगबाट समयाभावको कुरा आएको छ, तर कुनै पनि हालतमा विदेशमा रहेका नेपालीले भोट गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ,” उहाँले भन्नुभयो ।

उहाँले मतदानका लागि खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षासम्बन्धी पक्ष र त्यहाँका सरकारसँगको सहकार्यसम्बन्धी चुनौतीहरूबारे पनि जानकारी दिनुभयो ।

ब्रिटिस गोर्खाहरूले उठाउँदै आएका वंशजको नेपाली नागरिकताको निरन्तरताबारे मन्त्री घिसिङले लन्डनमै आफूले उक्त मागको स्पष्ट रूपमा समर्थन गरेको स्मरण गराउनुभयो । दोहोरो नागरिकताको विषय भने निर्वाचित संसद्ले मात्र सम्बोधन गर्न सक्ने उहाँको भनाइ छ ।

एनआरएनए आईसीसीका अध्यक्ष महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने कार्यमा अब ढिलाइ गर्न नहुने बताउनुभयो ।

संघका पूर्वअध्यक्ष कुल आचार्यले आफू गैरआवासीय नेपाली नागरिकता लिने पहिलो व्यक्ति भएको स्मरण गर्दै नागरिकता लिएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि यसको कार्यान्वयन नभएको भन्दै दुख व्यक्त गर्नुभयो ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले वंशजको नेपाली नागरिकता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालले वैदेशिक लगानी आकर्षित गर्ने भने पनि गैरआवासीय नेपालीलाई नेपालमै लगानी गर्न सहज वातावरण बनाउन नसकिएको उल्लेख गर्नुभयो ।

वरिष्ठ अधिवक्ता डा नारायण घिमिरेले गैरआवासीय नेपाली ऐन २०६४ मा रहेका त्रुटिका कारण समस्या जटिल बनेको बताउँदै एकीकृत अध्यादेश वा कम्तीमा मतदान कार्यविधि बनाएर नै अघि बढ्न सकिन्छ भन्नुभयो ।

गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष डा केशव पौडेल, अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, एनआरएन नागरिकता लिएका सुरेश राज गौतम, राधा पौडेललगायतका वक्ताले एनआरएन नागरिकतालाई व्यावहारिक रूपमा लागू गर्न सरकारसँग आग्रह गर्नुभयो ।

संघका उपाध्यक्ष विश्वासदीप तिगेला, सल्लाहकार विष्णु सुवेदी, एनआरएनए एनसीसी थाइल्यान्डका सञ्जय ढकाल, एनआरएनए युकेका प्रवक्ता डा कुलप्रसाद कँडेल लगायतले जेन जी आन्दोलनबाट आएको सरकारले साहसिक निर्णय गर्दै गैरआवासीय नेपालीका माग सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री