यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो रहेको बताउनुभएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा शनिबार सहारा यूकेको १४औं वार्षिक च्यारिटी डिनर नाइटमा सम्बोधन गर्नुहुँदै दुवाडीले देशका लागि दूतावास बेलायतका नेपाली संघसंस्थासँग सहकार्य गरेर काम गर्न अग्रसर रहेको बताउनुभयो । उहाँले अरु संस्थालाई पनि सहारा यूकेजस्तै देश र समुदायमा राम्रो छाप छोड्ने खालका कार्य गर्न सुझाउनुभयो ।

छिट्टै संघसंस्थाका प्रतिनिधिहरुसँग दूतावासले भेटघाट राख्ने पनि उहाँको भनाइ थियो । दूतावासले समुदायबाट सधैं रचनात्मक सुझाव सल्लाह अपेक्षा गरेको उहाँले बताउनुभयो । अल्डरसटमा बसोवास गर्ने वृद्धवृद्धालाई लक्षित गर्दै दूतावासले घुम्ती कन्सुलर शिविर गर्ने सोच बनाएको जनाउँदै दुवाडीले स्थानीय संघसंस्थाले स्थान व्यवस्था गरिदिए एक/डेढ महिनाभित्र शिविर सञ्चालन गर्न दूतावास तयार रहेको बताउनुभयो ।

उहाँले आफू भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका लागि लागिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा समाजमा योगदान दिएका विभिन्न व्यक्तिलाई अवार्ड समेत प्रदान गरिएको छ ।

औपचारिक कार्यक्रम समापन अघि संस्थाका अध्यक्ष कृष्ण गुरुङले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै संस्थाका गतिविधिबारे बताउनुभयो । महासचिव क्याप्टेन (रि.) पिताम्बर गुरुङले हेल्थ एन्ड सेफ्टीबारे जानकारी दिँदै सुरु गरेको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक शारदा गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।

यसवर्ष बेलायतमा सक्रिय सामाजिक अभियन्ताद्वय सहारा यूकेका संस्थापक सल्लाहकार तथा तमु धीं यूके पूर्वअध्यक्ष रामचन्द्र गुरुङ सहारा यूके स्पेशल अवार्ड र र सहारा यूकेका सल्लाहकार एवं तमुधिं यूके संस्थापक सदस्य चन्द्रबहादुर गुरुङलाई सहारा यूके अवार्ड २०२५ प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि दुवाडी, सहारा यूके अध्यक्ष गुरुङ र फस्ट लेडी जीना गुरुङले उनीहरुसहित दम्पतीलाई अवार्ड, दोसल्ला, पछ्यौरा र पुष्पगुच्छासहित सम्मान गर्नुभयो ।

कार्यक्रममा द भ्वाइस अफ नेपालकी प्रतिष्पर्धी गायिका निता पुनले गायन प्रस्तुत गर्नुभएको थियो भने सयपत्री कल्चरल ग्रुपका कलाकारहरुले विविध नाच देखाएका थिए । कार्यक्रममा राफल ड्र पनि खेलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री