बेलायती प्रधानमन्त्री स्टार्मर – भारतीय समकक्षी मोदी भेट : दुई देशबीको सम्बन्धमा ‘नयाँ ऊर्जा’

लन्डन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती समकक्षी किर स्टार्मरलाई भारतमा स्वागत गर्दै दुई देशबीचको सम्बन्धमा ‘उल्लेखनीय प्रगति’ भएको बताउनुभएको छ । उहाँहरूले द्विपक्षीय व्यापार र आर्थिक अवसरहरूलाई ‘अतुलनीय’ रूपमा बढाउने वाचा गर्नुभएको छ ।

जुलाईमा लन्डनमा हस्ताक्षर भएको व्यापार सम्झौतापछि १२५ सदस्यीय प्रतिनिधिमण्डलसहित स्टार्मर पहिलो पटक भारत भ्रमणमा आउनुभएको हो ।

सम्झौताअनुसार भारतले बेलायती ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरण आयातमा कर कटौती गर्नेछ भने बेलायतले भारतबाट फ्रोजन झिँगेमाछा, कपडा, जुत्ता र खाद्य उत्पादनमा शुल्क घटाउनेछ ।

प्रधानमन्त्री मोदीले यस सम्झौताले आयात लागत घटाउने, युवाहरूका लागि नयाँ रोजगारी सिर्जना गर्ने र व्यापार प्रवद्र्धन गर्ने बताउनुभयो । उहाँले स्टार्मरलाई उहाँको भ्रमणले सम्बन्धमा ‘नयाँ ऊर्जाको प्रतीक’ भएको भन्दै, दुवै देशका जनताका लागि उज्ज्वल भविष्य निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भारत र बेलायतको वार्षिक द्विपक्षीय व्यापार करिब ५४ अर्ब ८० करोड डलरको छ र दुवै देशमा छ लाखभन्दा बढी रोजगारीमा योगदान उपलब्ध गराउँछ ।

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को तथ्याङ्कअनुसार सन् २०२२ मा भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो र यो वर्षको अन्त्यसम्म जापानलाई उछिनेर चौथो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ ।

स्टार्मरले भारतको तीव्र विकास र सम्भावनालाई विशेष महत्त्व दिँदै भन्नुभयो, “म यहाँ आएदेखि देखेको सबै कुरा प्रमाण हो कि तपाईं सफलताको बाटोमा हुनुहुन्छ । त्यसैले हामी त्यो यात्रामा साझेदार बन्न चाहन्छौँ ।”

भ्रमणका क्रममा दुई नेताले रक्षा सहयोग सम्झौता पनि घोषणा गर्नुभयो र भारतमा क्याम्पस खोल्ने नौवटा ब्रिटिश विश्वविद्यालयलाई समर्थन गर्दै शैक्षिक सम्बन्धलाई प्रवद्र्धन गर्ने योजनामा सहमति जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री