मठ मन्दिर र देवालयः
प्राचीन समयमा कुमाऊँ, गढवाल र देहरादुन राज्यहरुमा कतिपय पूर्व राजवंश, राजा, शासकहरुका सतत् प्रयासबाट ठाउँ ठाउँमा अत्यन्त सुन्दर, मनमोहक, आकर्षक, मठ, मन्दिर र देवालयहरुको निर्माण गरिएको थियो । वास्तुकलाको दृष्टिकोणले सो सम्पदाहरु ज्यादै चर्चित र प्रख्यात थिए । गोरखाली फौजको आगमन हुनुभन्दा पहिले अधिकांश मठ, मन्दिर र देवालयहरुलाई केही मुस्लिम आक्रान्ता र रोहिला पठानहरुले तोडफोड गरिसकेका थिए । सो मठ, मन्दिर र देवालयहरुको बहुमुल्य आभूषण र पवित्र मूर्तिहरु लुटपाट गरिसकेका थिए । त्यस समयमा केही स्थानीय युवाहरुले विरोध गर्दा उनिहरुको हत्या गरेर रुखहरुमा झुन्ड्याई दिन्थे । स्थानीय महिलाहरुलाई जबर्जस्ती आफूसंगै लैजाने गर्दथे ।
केही लेखक तथा इतिहासकारहरुका अनुसार सन् १३९२ भन्दा पहिला मुस्लिम शासक ईव्राहिम विन गजनी र सन् १३९३ मा तैमुर लंगले कुमाऊँ, गढवाल र देहरादुनका कतिपय प्रसिद्ध मन्दिर र देवालयहरुलाई नराम्रोसंग तोडफोड गरेका थिए । धराशायी पारेका थिए । वादशाह, शाहजहाँको मुगल फौजले त्यस भेगमा भयङ्कर उत्पात मच्चाएका थिए । यसरी केही मुस्लिम आक्रान्ता तथा रोहिला पठानहरुले समय समयमा कुमाऊँ, गढवाल र देहरादुनमा आक्रमण गरेर मठ मन्दिरहरुमा लुटपाट र हत्या हिंसा गरेर स्थानीय जनताको सनातनी आस्थालाई निरुत्साहित पार्ने प्रयास गर्ने गर्दथे । त्यस समयमा एक प्रकारको धार्मिक त्राससम्म फैलिएको थियो । स्थानीय समाज भयभीत अवस्थामा थियो ।
इतिहासकार बद्रीदत्त पाण्डेका अनुसार “सब सोनेचाँदीका मुर्तियाँ, कलश, वर्तन आदी ले गए गये । और आसपासके मुल्क में खुब लुटपाट हुई । लोग घर छोडकर जंगलमे भाग गये । बहुत दुःखी व परेशान हो गये । लखनपुरद्वार, भिमताल, कटार मल, अल्मोडा में जो भग्न मूर्तियां देखने में आती है वे रोहिला की तोडी हुई है ।”(बद्रीदत्त पाण्डे, “कुमाऊँका इतिहास” श्याम प्रकाशन, अल्मोडा बुकडिपो सन् १९३१, पृष्ठ ३२७—३२८)।
गोरखाली फौजको धार्मिक आस्थाः
गोरखाली फौजका अधिकांश सेनानायक र सैनिकहरु कट्टर सनातनी थिए । उनिहरु हिन्दु धर्म दर्शन, जीवन पद्धति, एवं सनातनी परम्परामाथि प्रगाढ आस्था एवं विश्वास राख्दथे । त्यस्तै गोरखाली फौजका अन्य सैन्य अधिकारीहरु प्राकृतिक, तिब्बती बोन तथा बौद्ध धर्मालम्बीहरु थिए । केही टुनामुना तन्त्रमंत्र, झाँक्रीवाद, वायु, पितृ वा पुर्खा पूजा आदिमा गहिरो आस्था एवं विश्वास राख्दथे । यसरी सरसर्ती हेर्दा गोरखालीहरुको फौज वास्तवमा खस—आर्य एवं मूलबासी आदीवासी जनजाति समुदायका युवाहरुको मिलिजुली सैन्य सङ्गठन थियो ।
सन् १७६२ अगष्ट महिनामा राजा पृथ्वीनारायण शाहले आधुनिक शैलीमा पाँच वटा गोरखा पल्टनहरुको स्थापना गोरखा राज्यमा गरेका थिए । सो पल्टनहरुमा आदिवासी मगर, गुरुङ्ग जनजातिका युवाहरुको बाहुल्यता थियो । सोही पल्टनहरु नेपालको एकीकरण एवं सरहदको बिस्तार गर्ने अभियान अन्तरगत सन् १७९० मा महाकाली नदी तरेर कुमाऊँ राज्यको अनजान भूमिमा पाईला टेकेका थिए । त्यहाँ गोरखा राज्य कायम भएपछि मुस्लिम आक्रान्ता र रोहिला पठानहरुले कुमाऊँ, गढवाल र देहरादुनको भूमिमा भीषण हमला, लुटपाट र उत्पात मच्चाउने हिम्मत गर्न सकेनन् । त्यहाँको राजनीतिक र सामाजिक स्थिति स्थिर र शान्त हुन गयो भनेर कतिपय इतिहासकारहरुको भनाइ रहेको छ ।
धार्मिक सम्पदाको सरंक्षणः
गोरखा राज्यमा कतिपय टुटफुट, भत्किएका र ध्वस्त भएका प्रसिद्ध ऐतिहासिक पुरात्वातिक एवं पवित्र मन्दिर र देवालयहरुको खोजतलास गरियो । अधिकांश भत्काएका र क्षतिग्रस्त गरिएका प्रसिद्ध र पवित्र मन्दिर तथा देवालयहरुको गोरखा शासक प्रशासकहरुले जिर्णोद्वार एवं पुनर्निर्माण गरे । साथै कतिपय नयाँ मन्दिर र देवालयहरुको स्थापना गरेर हिन्दुहरुको धार्मिक आस्थालाई प्रोत्साहित गरे । धार्मिक पुनर्जागरणका अभियानहरु संचालन गरे ।
इतिहासकार बद्रीदत्त पाण्डेले अल्मोडा जनपदको प्रसिद्ध पातालदेवीको बारेमा यसरी उल्लेख गरेका छन् । “पातालदेवीका मन्दिर टुट गया था फिर गोरखा राज्य में नये सिरे से बनवाया गया ।” (ऐजन पृष्ठ ३४४) यसरी थाहा हुन्छ ; गोरखा राज्य पुरात्वातिक, ऐतिहासिक एवं धार्मिक महत्वका सम्पदाहरुको सरंक्षण सम्वर्धन गर्न गराउनका लागि ज्यादै सचेत थियो । साथै धार्मिक सम्पदाहरुको स्थापना र विस्तार गर्न गराउनका लागि पनि गोरखा राज्यमा धेरै प्रयास गरिएको पाइन्छ ।
धार्मिक सम्पदाको बिस्तारः
गोरखा राज्यमा (सन् १७९०—१८१६) कतिपय ठाउँहरुमा अत्यन्त कलात्मक, आकर्षक, सुन्दर र मनमोहक मठ, मन्दिर, यात्रु विश्रामस्थल, पाटीपौवा, ईनार, कुवा, बाउडीहरुको निर्माण सेना नायक एवं प्रशासकहरुले गराएको पाइन्छ । धार्मिक श्रद्धालु एवं भक्तजनहरुलाई मन्दिर र देवालयहरुसम्म पुग्न फराकिलो बाटोघाटो तथा तीर्थयात्रीहरुलाई सदावर्त अर्थात निःशुल्क खाना खाजा आदिको व्यवस्था पनि गोरखा राज्यमा गरिएको थियो ।
गुठीहरूः
गोरखा राज्यमा कतिपय प्रसिद्ध मन्दिर र देवालयहरूलाई सुचारु रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न गराउनका लागि आवश्यक पर्ने आर्थिक स्रोतहरू गोरखा शासकहरुले गुठी स्थापना गरेर जुटाइदिएका थिए । राज्यको केही जग्गा जमीन छुट्याएर कतिपय मन्दिर र देवालयहरूको नाममा गुठीहरू स्थापना गरेका थिए । सो व्यवस्था विधिवत ताम्रपत्रहरूमा उल्लेख गरेर सम्बन्धित मन्दिर देवालय र पुजारीहरूलाई प्रदान गरिएको थियो । आज पनि सो ताम्रपत्र वा सो को प्रतिलिपिहरू सम्बन्धित मन्दिर, देवालय, पुजारी र सरकारी म्युजियममा फेला पार्न सकिन्छ ।
पुजारीहरूः
गोरखा राज्यमा कतिपय प्रसिद्ध मन्दिर देवालयहरूको व्यवस्थापन गर्न गराउनका लागि नेपालबाट विज्ञ दक्ष र योग्य पुजारीहरू झिकाएर सो मन्दिर र देवालयहरूमा नियुक्त गरिएको थियो । उनीहरूको मुख्य काम कर्तव्य खटाइएको मन्दिर र देवालयहरूमा विधिपूर्वक नियमित पूजापाठ, हवन, किर्तन भजन तथा अन्य धार्मिक कार्यहरू सञ्चालन गर्ने । साथै मन्दिर र देवालयहरूको व्यवस्थापन गर्ने । फलस्वरूप गोरखा प्रशासनले उनीहरूलाई पूर्ण अधिकार एवं जिम्मेवारीहरू सुम्पिएको थियो । आज पनि कुमाउँ गढवाल र देहरादुनका कतिपय प्रसिद्ध एवं ऐतिहासिक मन्दिर र देवालयहरूमा नेपाली मूलका पुजारीहरूका सन्ततिहरू पुजारी पदमा कार्यरत रहेको फेला पर्दछन् ।
परम्पराको निरन्तरताः
गढ राज्यका पूर्व राजा, राजवंश शासक तथा राजदरवारियाहरूले आआफ्नो शासनकालमा केही मठ मन्दिर र देवालयहरूलाई तोकिदिएको दस्तुर र अन्य सुविधाहरूलाई गोरखा राज्यमा निरन्तरता दिइएको थियो । कुनै हेरफेर गरिएको थिएन । यस बारेमा इतिहासकार एवं लेखक। पण्डित हरिकृष्ण रत्डीले आफ्नो पुस्तकमा यसरी टिप्पणी लेखेका छन् । “गोरखा लोगों ने गढवालके राजाओं को दी हुई मुआफी, जागिरें गूठँ इत्यादि दानापत्रों को कमी नही किया । बल्की अपनों सनदों से भी प्रष्ट किया । क्यों की वो भी कट्टर हिन्दु थे ।” (सम्पादक डा. यशवन्त सिंह कठोच, “गढवालका इतिहास” भागिरथी प्रकाशन गृह, नया टिहरी, सन् २००२, पृष्ठ २४६) । इतिहासकार एवं ग्राफिक डिजाइनर ज्योति थापा मनिका अनुसार गोरखा राज्यमा (सन् १७९०—१८१६) श्री केदारनाथ, श्री गुप्तकाशी, श्री गंगोत्री, सुर्यकुण्ड, नर्वदा गौरीघाट आदि पवित्र धार्मिक सम्पदाहरुलाई राजकीय सरंक्षण प्राप्त थियो । (ज्योति थापा मनि, “द खुकुरी ब्रेव” रुपा पब्लिकेशन, नयाँ दिल्ली, सन् २०१५ पृष्ठ ३८२) ।
गंगोत्री धामः
सनातनी धर्मावलम्बीहरूको सानो चारवटा धामहरू मध्ये बद्रीनाथ, केदारनाथ, यमुनोत्री र एउटा गंगोत्री धाम पनि हो । जुन अत्यन्त पवित्र एवं पुनीत तीर्थस्थल हो । यो धाम भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी भन्ने जिल्लामा अवस्थित छ । समुद्र सतहदेखि ३१०० मिटर अर्थात् १०२०० फिटको उचाईमा यो धाम अवस्थित छ । यस स्थलबाट अनुमानित १० मीलको दूरीमा उत्तरपूर्वतिर समुद्र सतहदेखि १३ हजार ५७० फिटको उचाइमा भागिरथी गंगाको उद्गमस्थल गोमुख छ । गोमुख आकृति भएको गुफाबाट अत्यन्त बेगले गङ्गा नदीको पवित्र र निर्मल धाराहरु बग्ने गर्दछ । भनिन्छ राजा भागिरथीले अथक ध्यान तपस्या गरेर माता गंगाजीलाई पृथ्वीमा अवतरण गराएका थिए । यसै स्थलमा भागिरथी शिला पनि छ । जहाँ सदियौं देखि तीर्थयात्रीहरूले पितृपिण्ड दिने चलन रहेको छ ।
गंगोत्री धाम वास्तवमा सनातनी धर्मावलम्बीहरूको अत्यन्त पवित्र, धार्मिक स्थल, आध्यात्मिक दर्शन, आस्था, भक्ति, ध्यान, तपस्या, आराधना, प्राकृतिक सौन्दर्य, आकर्षक एवं मनमोहक पर्यावरणको संगमस्थल हो । यस पुण्य भूमिमा आएर श्रद्धालु भक्तजन तीर्थयात्री तथा पर्यटकहरू समेतले असीम शान्ति आत्मीय सुख एवं सन्तोषको अनुभूति गर्दछन् । यस स्थलमा भ्रमण गर्नेहरूले प्राय एक प्रकारको अलौकिक आनन्दको अनुभूति गर्ने गर्दछन् ।
गांगोत्री मन्दिरः
केही जानकारहरूका अनुसार प्राचीन समयमा यस पवित्र तीर्थस्थलमा कुनै मन्दिर र देवालयहरूको भौतिक संरचनाहरू थिएन । प्राय भक्तजनहरु आ—आफ्नो गाउँघरबाट पैदल यात्रा गर्दै गंगा माताको उद्गम स्थलमा आई पुग्दथे । गंगा नदीको निर्मल र पवित्र धाराहरुको पूजा आराधना गर्ने गर्दथिए । केही समय पछि स्थानीय सेमवाल पुजारी तथा अन्य भक्तजन तीर्थयात्रीहरूले आफ्नो गाउँघरहरूबाट देवी देवताको मूर्तिहरू काँधमा बोकेर यस स्थलमा हरेक वर्ष ल्याउने गर्दथे । भगिरथी शिला वा वरपर सो मूर्तिहरू प्रतिस्थापित गरेर पूजापाठ र आराधना गर्ने गर्दथिए । छ महिना सम्म त्यहि पूजापाठ र आराधना गरिन्थ्यो । पछि शीतकालमा सो क्षेत्रमा हिमपात शुरु हुन्थ्यो । अतः मूर्तिहरु आ—आफ्नै गाउंघरहरुमा बोकेर फर्काउने चलन थियो । हरेक वर्ष मूर्तिहरुलाई ओहोरदोहोर गर्दा टुटफुट हुने डर हुन्थ्यो । साथै पुजारी र भक्तजनहरुलाई पनि ज्यादै कष्ट, दुःख भोग्नु पर्द थियो ।
१७ र १८औँ शताब्दीमा त्यस भेगमा गोरखा राज्य व्यवस्था थियो । गढवाल राज्यको सुब्बा अर्थात् गभर्नर गोरखाली फौजका सेनापति जनरल अमरसिंह थापा थिए । स्थानीय गाउँले तथा सेमवाल पुजारीहरूले भोग्दै आएका समस्या र पीरमर्का गभर्नर अमरसिंह थापालाई अवगत गराए । उनीहरूको अनुरोधमा गंगोत्री मन्दिरको निर्माण कार्य सबभन्दा पहिला सन् १८०४ मा गोरखा राज्यमा सुरु गरिएको थियो । सो बारेमा गढ राज्यको प्रसिद्ध इतिहासकार शिव प्रसाद डवराल चारणले आफ्नो रचनामा यसरी उल्लेख गरेका छन् । “अमरसिंह थापाले गंगोत्री मन्दिरको निर्माण गराएका थिए ।” (डा. बिनोद थापा पृष्ठ १३०) यसरी १८औं शताब्दीमा पहिलो पटक गंगोत्री मन्दिरको निर्माण गोरखा राज्यको सेनापति अमरसिंह थापाले गराएका थिए भनेर विकिपिडिया वा गुगल समेतमा उल्लेख गरिएको पाइन्छ ।
भनिन्छ त्यस समयमा सो मन्दिरको आकार सानो थियो । सेतो ग्रेनाइटको अत्यन्त चहकिलो एवं उज्यालो २० फुटे ढुङ्गाबाट बनाइएको थियो । नेपालको परम्परागत स्थापत्यकला अर्थात् पेगोडा शैलीमा सो मन्दिरको निर्माण गराइएको थियो । कुमाउँ गढवाल र देहरादुनबाट गोरखा राज्य विस्थापित भएपछि २०औँ शताब्दीमा भारत जयपुर राज्यको राजघरानाले सो मन्दिरलाई अझ भव्य र ठूलो बनाएको पाइन्छ । सम्भवत नागर शैलीको स्थापत्यकलामा सो मन्दिरको पुनर्निर्माण गरियो । आजभोलि हरेक वर्ष मई महिनादेखि अक्टोबरसम्म विश्वभरिका लाखौं धर्मालम्बीहरू सो मन्दिरमा दर्शन गर्न तथा पूजापाठ गर्न ओइरो लाग्छ । साथै विश्वभरिका पर्यटकहरूको पवित्र गंगोत्री मन्दिरको अवलोकन गर्न ताँती लाग्छ ।
भागिरथी मन्दिरः
सन् १७९७ को हाराहारीमा भागीरथी मन्दिरको निर्माण पनि गोरखाली फौजका सेनापति जनरल अमरसिंह थापाले गर्न लगाएका थिए भनेर इतिहासकारहरूको भनाइ रहेछ । इतिहासकार डा. विनोद थापाले सो मन्दिरको बारेमा यसरी टिप्पणी गरेका छन् । “उनले सो मन्दिर काठै काठको बनाई सुनको भागिरथीको मूर्ति प्रतिस्थापन गरी बनाएका थिए । पूजाआजा गर्न अन्य मन्दिरमा झैँ गुठीको समेत बन्दोबस्त गरिदिएका थिए । उक्त मन्दिर भित्र अहिले पनि “नेपालको बत्ती भनेर एउटा छुट्टै बत्ति बाल्ने गरिन्छ ।” प्रसिद्ध इतिहासकार सूर्यविक्रम ज्ञवालीको अनुसार गंगोत्री मन्दिर सम्म पुग्न बाटो पनि बनाएका थिए । सानो भवन पनि उनले रु ५०० खर्च गरेर बनाउन लगाएका थिए । (डा. बिनोद थापा एै पृष्ठ १३२)
आज भोली हरेक वर्ष विश्व भरिका भक्तजन एवं तीर्थयात्री गंगोत्री मन्दिरमा दर्शन, पूजापाठ र आराधना गर्न आउन्छन् । त्यस्तै विश्व भरिका पर्यटकहरु पनि यस रमणयीक स्थलको अवलोकन गर्न आउंछन । तर कस्लाई थाहा हुन्छ । अठारौं शताब्दीको प्रारम्भमा गोरखाली फौजको एउटा जनरल अमर सिंह थापाले गंगोत्री र भागिरथको मन्दिर स्थापना गराएका थिए । इतिहासको पानामा यी लुकेको सत्य तथ्य हुन् ।
श्री माँ भद्रकाली मन्दिर देहरादुन :
सन् १८०४ मा देहरादुन उपत्यकामा गोरखालीहरूको शासन सत्ता कायम भइसकेको थियो । त्यस समयमा सो राज्यको प्रशासक सुब्बा अर्थात् गभर्नर पदमा कप्तान बलभद्र थापा (कुँवर) कार्यरत थिए । आंग्ल गोरखा युद्ध (सन् १८०४) शुरु हुनु भन्दा पहिले उनले माताको आशीर्वाद पाउनका लागि श्री माँ भद्रकालीको मन्दिर निर्माण गराएका थिए भनेर भनिन्छ । सो मन्दिर राजधानी देहरादुनबाट १४ कि.मि.को दुरीमा सहारनपुर रोड स्थित सुरुङको नजिक भेटिन्छ ।
त्यस समयमा गोरखाली फौज प्रायः खुकुरीको भरमा लडाई गर्ने गर्दथे । अतः श्री माँ भद्रकालीको मन्दिर भित्र पनि देवीको मूर्ति सँगै पछाडि पट्टि गोरखालीको विश्व प्रसिद्ध हतियार खुकुरीको पनि प्रतिस्थापना गरिएको छ । श्री माँ भद्रकालीको पूजापाठका साथै “खुकुरी”को पनि आराधना भक्तजनहरूले गर्दै आएका छन् । वास्तवमा यो गोरखाली समुदायको लागि ठूलो सम्मानको कुरा हो । उत्तराखण्ड प्रदेशका कतिपय पर्वतीय समुदायहरूमा “खुकुरी”लाई शक्तिको रूपमा पूजा प्रार्थना गर्ने चलन रही आएको छ । यस मन्दिरको स्थापनाको बारेमा यसरी लेखिएको छ । “श्री माँ भद्रकालीजी मन्दिर सेनापति बलभद्र थापा, सन् १८०४” । यसबाट प्रमाणित हुन्छ त्यस समयमा गोरखाली फौजका सेनानायकहरू सनातन धर्मका संरक्षण र सम्बर्धन प्रति सजग र सचेत थिए ।
रुद्रेश्वर महादेव मन्दिर नालापानी :
राजधानी देरादुनको प्रसिद्ध मन्दिर श्री रुद्रेश्वर महादेव नालापानी गाउँको उत्तरतिर झन्डै १ हजार फुटको उचाइमा अवस्थित छ । यो देहरादुनको सबभन्दा प्राचीन मन्दिर हो । भनिन्छ नेपालबाट ग्याहर वटा रुद्राक्षको बिरुवाहरू ल्याएर यस मन्दिरको वरपर रोपिएको थियो । त्यसैले यस मन्दिरको नाम रुद्रेश्वर महादेव पर्न गयो । यस मन्दिरको संस्थापक महन्त पुजारी श्री जगन्नाथ गिरी थिए । उनी नेपाली मूलका पुजारी वा महन्त थिए ।
कुनै समयमा महाभारत कालका धर्मगुरु द्रोणाचार्यको आगमन यस स्थलमा भएको थियो । उनले यस परिसरमा तपस्या गरे त्यसैले यो स्थान द्रोणाचार्य कुटी वा आश्रमको नामले पनि प्रख्यात हुन गयो । ऋषि द्रोणाचार्यको नामले देहरादुन नामाकरण भयो भनेर केहीको भनाइ पनि छ । त्यस समयमा खलंगा नालापानी किल्लामा जम्मा छ सय जवान गोरखाली रक्षकहरु तैनाथ थिए । किल्लाको गोरखाली रक्षकहरु श्री रुद्रेश्वर महादेवलाई आफ्नो सरंक्षक एवं ईष्ट देवता मान्दै आएका थिए । त्यसै लागि गोरखा राज्यमा श्री रुद्रेश्वर महादेवको मन्दिरलाई राजकीय सम्मान र मान्यता प्राप्त थियो ।
खलङ्गा मेला :
सन् १९७४ मा नालापानीको परिसरमा “बलभद्र कुँवर विकास समिति”ले त्रिशुल स्थापना गरेको थियो । सम्भवत त्यसै समय देखि सो परिसरमा दुई दिवसीय गोरखा मेलाको आयोजना (३० नोभेम्वर र १ डिसेम्वर) बलभद्र कुँवर खलंगा विकास समितिले आयोजना गर्दै आएको पाइन्छ । सो अवसरमा अंग्रेजी फौजको विरुद्ध कसरी गोरखाली फौज लडेका थिए सो बारेमा युवा पिढीलाई जानकारी गराइन्छ । साथै गोरखा समाजको संस्कृति, सामाजिक परम्परा, परिधान, गर गहना, खानपिनको परिकार व्यञ्जन, कला, नौमति बाजा र खुकुरी नृत्यहरुको भव्य प्रदर्शन गरिन्छ ।
गुरु राम राय दरबार झण्डा मोहल्ला :
भनिन्छ गढ नरेशको आग्रहमा हिमाञ्चल प्रदेशबाट श्री गुरु राम राय र उनको समुदाय देहरादुनको धामावाला क्षेत्रमा बसाई सरेका थिए । त्यस स्थानमा भव्य झन्डा दरबारको निर्माण गरे । सो क्षेत्रको सुरक्षा गरेको हुँदा गढ नरेशले उनलाई सातवटा गाउँहरू दान स्वरूप दिएका थिए । यस विषयमा कर्नेल शमशेर थापाले यसरी उल्लेख गरेका छन् । “गोरखा राज्यमा सन् १८०४ मा गुरु दरबारका महन्त हरसेवक महाराजलाई दुईवटा ताम्रपत्रहरू प्रदान गरि उनको अधिपत्यका सातवटै गाउँहरू बकरार राखे र सँगसँगै ८ आनाको कढाह प्रसाद (हलुवा) वितरण गर्ने आदेश पनि दिए । त्यसबेला आठ आनाको प्रसादले लगभग २०० जनालाई पुग्दथ्यो ।” (कर्नेल शमशेर बहादुर थापा “हिमालयको फेदी म काली नदी देखि सतलुज सम्म” सरस्वती प्रेस, देहरादुन सन् १९४४, पृष्ठ ३९ ४०) आजभोलि यस स्थानमा ठूलो मेला लाग्दछ । उत्तर भारतका पन्जाबी समुदायका ठूला संख््यामा श्रद्धालु भक्तजनहरूको आगमन हुन्छ । गोरखा राज्यमा धार्मिक सम्पदाहरूको संरक्षण गरिन्थ्यो । श्री टपकेश्वर महादेव, चन्द्रेश्वर महादेव, चन्द्रवनी पातालेश्वर महादेव मन्दिर, नागेश्वर महादेव मन्दिर आदि मन्दिरहरू पनि गोरखा राज्यमा संरक्षित थिए भनेर भनिन्छ ।
साहित्यकार र कलाकारहरूको सम्मान :
भनिन्छ गोरखा राज्यमा कवि कलाकार एवं साहित्यकारहरूलाई राजकीय सम्मान प्रदान गर्ने चलन थियो । गढ राज्यका महान चित्रकार, इतिहासकार तथा दार्शनिक श्री मौलारामलाई गोरखा राज्यले राजकीय सम्मान प्रदान गरेको थियो । उनको हिँड्डुल सजिलो होस् भनेर डोटी राज्यबाट घोडा झिकाई उनलाई उपहार प्रदान गरिएको थियो । जागिरमा पाँच वटा गाउंहरु उनको नाममा नामसारी गरिएको थियो । स्वर्ण मुकुट पहिराएर उनलाई सार्वजनिक रुपमा सम्मान गरिएको थियो । यसरी स्थानीय साहित्य र संस्कृतिलाई गोरखा राज्यले प्रोत्साहित गरेको पाइन्छ ।
भनिन्छ गोरखा राज्यका तत्कालीन सेनानायक र सुब्बाहरु अमर सिंह थापा, रणजोर थापा, बम शाह, दस्तदिल चौतरिया तथा कप्तान बल बहादुर कुंवर थापा आदिसंग कवि र चित्रकार मौलारामसंग पनि सुमधुर सम्बन्ध थियो । उनले पनि “गढ राज्य वंश काव्य” को रचना गर्नु भएको थियो । जस्मा गोरखालीहरुको पश्चिम अभियान बारेमा रोचक वर्णन गरिएको छ । सो ग्रन्थावली प्रसिद्ध इतिहासकार शिव प्रसाद डवराल चरणले खोजतलाश गरेर प्रकासित गरेका थिए ।
पर्वतीय युद्ध कला
गोरखाली सैनिकहरु पर्वतीय युद्धकलामा ज्यादै निपुण, कुशल र अनुभवी थिए । कप्तान हेरशीले गोरखाली सैनिकहरुको बारेमा यसरी टिप्पणी गरेको पाइन्छ । “गोरखाली फौज निडर र शत्रुको परवाह गर्दैनन् उनिहरु संधै प्रसन्न र हंसिलो रहन्छ । उनिहरु कहिले पनि थाकेको वा विचलित भएको महसुस गर्दैनन् ।” वी.डी. सनवालले “नेपाल एण्ड ईष्ट इन्डिया कम्पनी” भाग ५ मा गोरखालीहरुको शौर्यता बारे यसरी वर्णन गरेका छन् । “जनरल बेनर्टमाटले गोरखालीको खुकुरीको भयंकर मारकाट नहेरी सक्दा भयले युद्धभूमिदेखि भागिकन लापता भए । एकजना अङ्ग्रेज इतिहासकारको भनाइ छ कि अहिलेसम्म सुनेको थिएन । एउटा सेना नायक (जनरल) आफ्नो सैनिकहरुलाई युद्ध भूमिमा छाडीकन भागे तर यो पहिलो चोटी हो ।” (कर्नेल शमशेर बहादुर थापा, एैजन र पृष्ठ ४९)
ईष्ट इन्डिया कम्पनी सरकारको विशाल र साधन स्रोत सम्पन्न आधुनिक फौजलाई गोरखाली फौजको विरुद्ध लड्न ज्यादै हम्मेहम्मे पर्दथे । अतः उनिहरुले समय समयमा छलकपट र कुटनीतिको सहारा लिएर गोरखाली फौजलाई पराजित गर्ने प्रयास गर्दथे ।
सैनिक कुटनीतिः
त्यस समयमा कुमाउं राज्यमा गभर्नर अर्थात सुब्बा पदमा बम शाह चौतरिया थिए । उन्को अङ्ग्रेजहरुसंग हिमचिम थियो । अङ्ग्रेज शासकहरुले डोटी प्रदेशलाई कुमाऊं र गढवालको बीचमा “बफर र स्वतन्त्र” राज्य बनाएर बम शाहलाई त्यहाँको राजा बनाउने प्रस्ताव राखे । तर आफ्नो मातृभूमिप्रति गद्दारी गर्न चौतरिया बम शाहलाई स्वीकार भएन । तुरन्तै सो प्रस्ताव अस्वीकार गरेर अङ्ग्रेजहरुको विरुद्ध युद्धको तयारी गर्न थाले ।
यस सन्दर्भमा इतिहासकार बद्रिदत्त पाण्डेले यसरी टिप्पणी गरेका छन् “चौतरिया बम शाहने बहुत कुछ अङ्ग्रेजाेंको साथ देने पर भी देश द्रोह नही किया । यद्दपि अङ्ग्रेज उनको डोटीका स्वतन्त्र नृपति बनाने को तयार थे ।” (एैजन ४३२ ) त्यसपछि ईस्ट इन्डिया कम्पनी सरकारको गभर्नर जनरललाई बारेक हेस्टिङले “गोरखालीको देशभक्ति र देश हितैषीको भावनाको प्रशंसा गरे । गुणगान गरे । अन्य अधिकांश अङ्ग्रेज लेखक र इतिहासकारहरूले गोरखालीहरूको अदम्य उत्साह, साहस, स्वाभिमान, इमान्दारिता, शौर्यता र वीरताको धेरै प्रशंसा गरेका छन् ।
गोरखा शासनबारे नकारात्मक टिप्पणीहरूः
अधिकांश अङ्ग्रेज लेखक र इतिहासकारहरूले (जे.बी. फ्रेजर, एटिक्सन, ट्रेल, एफ.बी. रेपर, हेरेशी, गाडनर आदि) गोरखालीहरूको २५ वर्षे शासन पद्धतिलाई मध्यकालीन युगको बर्बर, असभ्य, निरंकुश एवं अत्याचारी शासन भनेर आफ्नो दस्तावेज, डायरी, सस्मंरण, रिपोर्ट, गजेटियर आदिमा उल्लेख गरेको पाइन्छ ।
उनीहरूका अनुसार गोरखा राज्यमा धेरै प्रकारको कर वा टेैक्स गोरखा शासकहरूले लगाउन थालेका थिए । जसले कर वा टैक्स तिर्दैन थिए उनीहरूको परिवारलाई दास दासी बनाएर हरिद्वारको गोरखा चौकीमा राखेर स्थानीय मेलामा बेचबेखन वा लिलाम गरी दिन्थ्ये । १० देखि ३० वर्षसम्म उमेरका महिला र पुरुषलाई जम्मा १० देखि १५० रुपैयाँ लिएर बेच्ने गर्दथे । यसै सन्दर्भमा स्काटिश यात्री जे.वी. फ्रेजेर यसरी टिप्पणी गरेका छन् । गोरखालीहरूले २५ वर्षे शासनकालमा जम्मा २ लाख स्थानीय मानिसहरूलाई दास दासी बनाएर बेचेका थिए । त्यस समयमा राज्यको कुल जनसङ्ख्या कति थियो सो बारेमा भने केही उल्लेख गरिएको पाइँदैन ।
गोरखालीहरूको न्यायप्रणाली पनि अवैज्ञानिक, अव्यवहारिक तथा असंवैधानिक थियो भनेर कतिपय अङ्ग्रेज लेखकहरुले लेखेका छन् । कुमाऊं गढवालका स्थानीय युवाहरू गोरखाली फौजमा कार्यरत थिए । तर उनीहरूलाई तल्लो दर्जामा राखिन्थ्यो । कृषि उत्पादन घट्दो अवस्थामा थियो । गाउँघर उजाड भइसकेका थिए भनेर कतिपय अङ्ग्रेज लेखकहरूले टिप्पणी गरेको पाइन्छ । यसै सन्दर्भमा इतिहासकार एटिक्सनले गोरखालीहरूको शासन व्यवस्था अमानवीय, जङ्गली एवं असभ्य थियो । अङ्ग्रेजहरूको शासन व्यवस्था ज्यादै सभ्य, उदार र जनताको हितैषी व्यवस्था थियो भनेर तुलना पनि गरेका छन् ।
कुमाऊ,ँ गढवाल र देहरादुन राज्यहरूमा के कस्तो सामाजिक एवं राजनीतिक परिस्थितिमा गोरखा शासन पद्दतिको आगमन भएकोे बारेमा अङ्ग्रेज इतिहासकार वा लेखकहरुले विश्लेषण गरेको पाइँदैन । तर गोर्खालीहरूको शासन पद्धतिको केही कमीकमजोरी र त्रुटीहरूलाई विस्तारमा उल्लेख गरेका छन् । बढाइचढाई लेखेको पाइन्छ ।
केही रचनात्मक कार्यहरुः
गोरखाली शासन पद्दतिमा केही त्रुटी, कमी, कमजोरी र आन्तरिक समस्याहरू थिए । तैपनि गोरखा राज्य व्यवस्थामा कतिपय रचनात्मक एवं सकारात्मक कार्यहरू पनि भएका थिए । फलस्वरूप स्थानीय जनताहरुबाट गोरखा शासनको विरुद्ध ठूलो सङ्ख्यामा कुनै शसक्त विरोध र विद्रोह भएको पाइँदैन । तर केही प्रशासकहरु वा सुब्बाहरुप्रति सानातिना व्यक्तिगत विरोध र विद्रोह गरेको देखिन्छ ।
(क) गोरखालीहरूको आगमन हुनुका साथै कुमाऊं, गढवाल र देहरादुनमा आन्तरिक अराजकता, उत्पात र बाह्य आक्रमणहरू पूर्णरूपमा समाप्त हुन गयो । २५ वर्षसम्म शान्ति र राजनीतिक स्थिरता कायम भयो ।
(ख) राज्यको सम्पूर्ण भूभागलाई सानो सानो प्रशासनिक इकाईहरूमा विभाजित गरेर प्रशासनलाई गाउँघरको दैलो दैलोसम्म पु¥याउने प्रयास भयो ।
(ग) कृषि योग्य भूमिलाई उर्वराको क्षमताको आधारमा वर्गीकरण गरेर न्यायपूर्ण भूमिकर लागू गरिरहेको थियो ।
(घ) पहिलो पटक कृषि ऋण (तकावी) कृषकहरूलाई उपलब्ध गराएर कृषि उत्पादन बढाउने प्रयास गरियो ।
(ङ) जग्गाको वास्तविक मोही वा काश्तकारलाई भूमिको हकदार बनाएर भूव्यवस्थामा सुधार गरियो ।
(च) बांझो जमिन जग्गालाई कर्मयोग्य भूमिमा परिवर्तन गरेर सुकुम्बासीहरूको समस्या समाधान गर्ने प्रयास गरियो ।
(छ) बाटो घाटो सञ्चारको व्यवस्था गरेर सकेसम्म राज्यको सम्पूर्ण इलाकाहरूलाई जोड्ने प्रयास गरियो ।
(ज) नैथड अल्मोडामा पहिलो पटक न्यायालय भवन निर्माण गरियो । न्याय प्रणालीलाई संस्थात्मक एवं विकेन्द्रीकृत गर्ने प्रयास गरियो । स्थानीय लेखक साहित्यकार र दार्शनिकहरूलाई राजकीय सम्मान गरेर स्थानीय साहित्य, संस्कृति एवं कलाको विकास गर्ने गराउने प्रयास पनि गरियो ।
(झ) धार्मिक, पुरातात्विक महत्वका मठ, मन्दिर र देवालयहरूको जीर्णोद्वार, पुर्ननिर्माण तथा नयाँ नयाँ धार्मिक सम्पदाहरूको स्थापना गरिएका थिए । यसरी सनातन धर्मको संरक्षण र उत्थानको प्रयास गोरखा राज्यमा गरिएको पाइन्छ ।
सारांशः
(क) छोटो अवधिमा गोरखा राज्यमा कतिपय रचनात्मक एवं सकारात्मक जनकल्याणका कार्यहरू भएको पाइन्छ । तर सो विषयमा अधिकांश अङ्ग्रेज लेखक एवं ईतिहासकारहरुले विशेष रुचि देखाएको पाइँदैन । अतः सो उपलब्धिहरु ओझेलमा परेका छन् । नवयुवक गोरखाली इतिहासकारहरूले सो विषयमा खोजतलास र अध्ययन गरेर जनसमक्ष ल्याउनु पर्ने प्रयास गर्नु पर्ने ।
(ख) भारतीय गोरखालीहरूको साहित्यिक, सामाजिक र सांस्कृतिक संस्थाहरूले गढ राज्यका प्रसिद्ध दार्शनिक साहित्यिक मौलारामको “गढ राज्य वंश काव्य” ग्रन्थाबलीको पुनः प्रकाशनको प्रयास गर्नु पर्ने ।
(ग) अन्तमाः भारतीय इतिहासकार प्राध्यापक श्री वसुदा पाण्डेको अनुसार “Gurkha misrule in Kumaun and Garhwal was not that harsh. This could well have been a belief cultivated by the British so as to portray their administration in better light”.
नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।