
कुनै पुस्तक पढ्नु अघि लेखकीय (भूमिका) पढ्ने बानी छ । कतिपय कवि/लेखकहरूको सृजनात्मक भावना बुझ्न यसले मद्दत गर्दछ । अझ भनौं, कविको साहित्यिक चिन्तन, विचार र सैद्धान्तिक दृष्टिकोणको बारेमा प्रस्ट बुझेर पुस्तक अध्ययन गर्दा लेखनको गहिराइसम्म पुग्न सकिन्छ । कवि रोशन यक्सोको कृति सम्झनाको चोमोलुङ्मा (कवितासङ्ग्रह) पुस्तक प्रकाशित भएदेखि मनमा कौतूहल उत्पन्न हुन थालेको हो ।
कृति प्रकाशन अघि नै उनको धेरै फुटकर कविताहरू पढ्ने अवसर मिलेको थियो । तिनै कविताहरू सम्झेर गम खाएँ । तर पुस्तकको पाना पल्टाएजस्तो नहुँदोरहेछ । केही अपुरो/अधुरो भएजस्तो महसुस भयो र कृति हात लाग्नसाथ पुस्तकको पानाहरू पल्टाउन हतार गरे । कृति प्रकाशनको सन्दर्भमा कविको संक्षिप्त भनाइ पढेर मन गदगद भयो । कविसँग साहित्यप्रतिको सोच र कविता लेखनको प्रभाव वाल्यकालबाटै सुरू भएको रहेछ ।
कवि रोशन यक्सोको कृति सम्झनाको चोमोलुङ्मा (कवितासङ्ग्रह) पाठकहरूको लागि सम्झना योग्य कृति हुन् । ४० थान कविता समेटिएको सङ्ग्रहभित्र स्वदेश तथा विदेशको जीवन भोगाइका अनुभूतिहरू समेटिएका छन् । कवितामा देश प्रेम, आफन्तको माया र राज्यको कमीकमजोरीहरूप्रतिको चिन्ता व्यक्त गरिएको छ । कवि स्वयं परदेशी जीवन बाँचिरहेको हुनाले देश छोड्नुको पीडा, देशको विद्यमान विकृति, विसंगति र पहिचानको खोजीलगायतका विषय कवितामा समेटिएको पाइन्छ ।
यस सङ्ग्रहको पहिलो कविता-
‘आमा रकः आफ्नालाई पर्खनेहरू’
केही अंश…
पर्खनु-
गाह्रो हुन्छ ।
निरन्तर कसैलाई पर्खनु- झन् गाह्रो
आउने/नआउने केही टुङ्गो बेगर पर्खनु- सबैभन्दा कठिन ।
आमा रक-
घाम-पानी-आँधी-हुरी केही नभनी
कठोर साधनारत तपस्वीझैं
सदियौंदेखि आफ्नो प्रिय मान्छे पर्खिरहेछिन्
••••••••••••
हङकङको उत्तर मश्चिम क्षेत्र शा तीनस्थित ऐतिहासिक मूर्ति ‘आमा रक’लाई बिम्ब बनाएर गहन कविताको रचना गरिएको छ । समुद्रमा माछा मार्न गएको श्रीमानको पर्खाइमा बसेकी श्रीमतीको मूर्ति (आमा रक)ले परिवार र आफन्तसँगको बिछोड र यसबाट उत्पन्न माया, त्याग र आशाको दरिलो भावहरू कवितामा व्यक्त गरिएको छ । कुनै पनि निश्चित वस्तु प्राप्तिको लागि जीवनलाई समर्पण गर्नु निकै कठिन कार्य हो भन्ने कविताको यथार्थ हो। कविता लेख्दै गर्दा कतै आफै परदेशमा भुल्ने त हैन ? कवि स्वंय आफूप्रति चिन्ता व्यक्त गरेका छन् । मानव समुदाय एक अर्का विचको माया मोह र आदर-सम्मानले सम्बन्धलाई दिगो बनाउँछ भन्ने कविताको आसय हुन सक्दछ ।
शहर:
यो सपनाको शहरमा
मेरो यात्रा-
कोठादेखि-कामसम्म
कामदेखि-कोठासम्म ।
शहर जति ठूलो भयो
सम्बन्ध त्यति नै साँघुरिँदो रहेछ ।
उपरोक्त छ लाइनको ‘शहर’ कविताले शहरी जीवनलाई परिभाषित गर्ने जमर्को गरेको छ । सशक्त बिम्ब र भाव प्रकट हुने हो भने शब्दको भारी बोकेर मात्र कविताको उच्चाई माथि उक्लन सक्दैन । कविता औषधिको ट्याब्लेट जस्तै हो, निश्चित डोज पूरा भयो भने सब ठीक हुन्छ । शहरमा बसोबास गरेपछि धेरै सुख सुविधाहरू उपयोग गर्न सकिन्छ भन्ने मानसिक छाप परेको छ । तर शहरमा तत् तत् सुविधाहरू प्राप्त गर्नको लागि जीवनलाई बन्धक बनाइन्छ । किनकि केही पाउनको केही गुमाउनु जस्तै हो । यति छोटो ‘शहर’ कवितामार्फत शहरी जीवनको राम्रो चित्रण गरिएको छ । सुविधासम्पन्न उत्पादनहरूले सेवा त दियो । तर सेवा प्राप्त गर्नका लागि मानिसहरू मेसिनजस्तो प्रयोग भइरहेका छन् । सिक्काको (पैसा) दुईपाटा भनेजस्तो शहरी जीवनको पनि राम्रा र नराम्रा पाटाहरू हुन्छन् । छुट्याउने कार्य सजन पाठकहरूको हो । कवि लेखकले समस्याको पहिचान गर्ने हो, निर्देशन गर्ने होइन ।
नयाँ बाटोः
लाग्दै छ
छोडिएको बाटोलाई फेरि हिँड्नुपर्ला ।
त्यो अतीतको बाटो-
जो धेरै सुखद् थियो ।
………..
न छ आफू हुनुको आत्मबोध
न छ कुनै परिचय
यो दिक्कलाग्दो दैनिकी
वाक्वाकी लाग्ने शहर छाड्न
लाग्दैछ-
छोडिएको बाटोलाई फेरि हिड्नुपर्ला.. ।
विगत भनेको वर्तमानको इतिहास हो । विगतमा भए-गरेका राम्रा-नराम्रा कार्यहरूको सम्झना त हुने नै भयो । समय र परिस्थितिले धकेलेर टाढा पुगिसकेपछि बितेको समय र स्थानहरूमा चाहेर पनि पुग्न सक्दैनौं । मात्र तनमनमा पलपल याद बनेर बसेको हुन्छ अतित । तिनै यादहरूको संगालो बनेको छ, ‘नयाँ बाटो’ कविता । यस कविताले वर्तमानलाई साँची राखेर विगतको अनुभूति गर्न प्रेरणा प्रदान गर्दछ । जीवन भनेको केही हो र केही होइन पनि हो । यी दुवैको मिलन बिन्दुमा जीवनको सार भेटिन्छ । आखिरी हिसाब मिल्नलाई जोड र घटाउको आवश्यक पर्दछ ।
जीवनको पेरिफेरिमा समयलाई साँची राखेर अघि बढ्दा कहिले आशा र कहिले निरासालाई झेल्नु सिक्काको दुई पाटाजस्तै हो ।
सम्झनाको चोमोलुङ्माः
मेरो थेबाले रोपेको
आजिबुङको फेदमा विगतलाई सम्झँदै छु-
मेरो पदचाप कुल्चेर जाने
काजी साप र मुखिया सापका घोडालाई सम्झन्छु-
जो दौडन्थे जोडजोडले हिन्हिनाउदे
त्यही निरङ्कुश चिच्याहटमाझ हराएका थिए
मैले गाएका पालाम र हाक्पारे भाका
त्यतै कतै विलिन भएका थिए
मेरा साकेलाका धुन ।
सम्झन्छु-
तमसुक गर्दी हजारका पछाडि
जाबो एउटा शून्य थप्दा
कसरी गएथ्यो विरमान दर्जीक घरबारी
किन र कसरी
जुठी दमिनी र बाटुली कमिनी मात्र
बारम्बार घोषित हुन्थे बोक्सी र डङ्किनी
सम्झनाको गर्तमा अझै ताजा छ ।
••••••••••••
आजकाल-
जब आद आउँछ नि आँधीजसरी विगतको
म तिनै यादका थुङ्गा उनेर
यही बूढो आजिबुङको फेदमा
निर्माण गर्ने गर्छु सम्झनाको चोमोलुङ्मा ।
साहित्य समाजको दर्पण हो, भनिन्छ । अझ मार्ग निर्देशन पनि हो । समाजको सबैखाले चरित्रहरू लिखित हुने सौभाग्य साहित्य लेखनबाट नै हो । समाजमा भएका विविध विषयहरू बिम्ब, भाव र काव्यत्मक शैलीमा कविताको निर्माणले सामाजिक उत्तरदायित्व ग्रहण गर्दछ । ‘सम्झनाको चोमोलुङ्मा’ शीर्षक कविताले नेपाली समाजमा हुने गरेको असमान्ता, भेद्भाव र थिचोमिचोको प्रतिबिम्बित गरेको छ । यी सबैखाले विभेदहरूको अन्त्यको लागि यसरी सशक्त कलम चलाउन सक्नु कविको दूरदर्शिता हो । असली समाज रूपान्तरणको लागि कविता एक सशक्त माध्यम हो ।
कवि रोशन यक्सो एक कुशल र चिन्तनशील कवि त हुँदै हो, सामाजिक र राजनीतिक चेत भएको व्यक्ति पनि हो । उनको काव्यिक लेखन विविधताको समिश्रण हो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत