हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी

लण्डन । हङकङमा दुईसाताअघि भएको आगलागीमा परी गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका प्रथम निर्वाचित अध्यक्ष अशोक श्रेष्ठकी श्रीमतीको निधन भएको छ ।
ताइपोस्थित वाङ फुक कोर्ट अपार्टमेण्टमा भएको सो आगलागीमा परे श्रेष्ठकी श्रीमती वोङ वाइ चिङको निधन भएको उहाँको परिवारले पुष्टि गरेको छ ।
भूतपूर्व गोर्खा सैनिक अशोक श्रेष्ठसँग विवाह गर्नुभएकी ६७ वर्षीया चिङ हङकङ सरकारको पूर्व कर्मचारी हुनुहुन्थ्यो । उहाँ केही समयदेखि ९८ वर्षीया वयोवृद्ध आमालाई स्याहार गर्न हङकङमा बसोबास गर्दै आउनुभएको थियो । आमालाई भने केही समयअघि नर्सिङ होममा राखिएकोले आगलागीको बेला अपार्टमेण्टमा चिङमात्र हुनुभएको बुझिएको छ ।
घटनापछि एनआरएनए युकेका पूर्व अध्यक्ष श्रेष्ठ हङकङ पुग्नुभएको थियो । डिएनए परीक्षणबाट चिङको पहिचान गर्न कोसिस भइरहेको अधिकारीहरुले उहाँलाई बताएका थिए । श्रेष्ठ अहिले नेपाल फर्कनुभएको छ ।
३१ तल्लाको सो अपार्टमेण्टमा करिब ४ हजार ६०० मानिस बसोबास गर्दै आएका थिए । सो घटनामा अरु नेपालीहरु नपरेको स्थानीय नेपाली महावाणिज्यदूताबासले जनाएको छ ।

सो घटनामा हालसम्म १५९ जना मानिस मारिएका छन् ।

सो आगलागी नियन्त्रण गर्न ४० घण्टा लागेको थियो ।

हङकङ प्रहरीले आगलागीका बारेमा अनुसन्धान जारी राखेका छन् र हालसम्म करिब एक दर्जनलाई गिरफ्तार गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री