
लन्डन । छ वटा पश्चिमी बाल्कन राष्ट्रका उच्च पदस्थ नेताहरूले बुधबार लन्डनमा बेलायती र युरोपेली अधिकारीहरूसँग आप्रवासन, सुरक्षा तथा आर्थिक वृद्धिसम्बन्धी विषयमा वार्ता गरेका छन् । यो बैठक रुसले प्रभाव जमाउन खोजिरहेको अस्थिर क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
अल्बानिया, बोस्निया, कोसोभो, मोन्टेनेग्रो, उत्तरी म्यासेडोनिया र सर्बियाका प्रतिनिधिमण्डलहरू दक्षिणपूर्वी युरोपका देशहरूलाई युरोपेली सङ्घ (इयु) मा सदस्यता दिलाउन सन् २०१४ मा सुरु गरिएको ‘बर्लिन प्रक्रिया’ अन्तर्गतको शिखर सम्मेलनमा सहभागी भएका हुन् ।
हालसम्म पश्चिमी बाल्कन क्षेत्रका राष्ट्रहरूमध्ये केवल क्रोएसिया मात्र सन् २०१३ मा इयु सदस्य बनेको छ । विशेष गरी सर्बिया र कोसोभोबीचको बढ्दो तनावका कारण अन्य राष्ट्रहरूको सदस्यता प्रक्रियामा प्रगति अवरुद्ध हुँदै आएको छ । बेलग्रेडले कोसोभोको स्वतन्त्रतालाई अझै मान्यता दिएको छैन ।
सन् २०२२ मा रुसले युक्रेनमा गरेको आक्रमणपछि इयुले नयाँ सदस्य राष्ट्रहरूलाई स्वागत गर्ने दृष्टिकोण खुला गरेको छ । तर युक्रेन युद्ध र पश्चिमसँग रुसको द्वन्द्व अझै तीव्र भइरहेकाले उक्त तनाव पश्चिमी बाल्कन क्षेत्रमा फैलिन सक्ने चिन्ता कायम छ ।
बेलायत सन् २०२० मा इयुबाट बाहिरिएको भए पनि उसले यो वार्षिक शिखर सम्मेलनको आयोजना निरन्तर गर्दै आएको छ । यसमा विभिन्न युरोपेली देशका अधिकारीहरू तथा इयुका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ ।
प्रधानमन्त्री किर स्टार्मरको नेतृत्वमा रहेको बेलायतको केन्द्र–वाम सरकारले लागुपदार्थ तस्करी नियन्त्रण गर्ने, पश्चिमी बाल्कन राष्ट्रहरूको सुरक्षा सुदृढ पार्ने र अवैध आप्रवासन नियन्त्रण गर्ने मुख्य उद्देश्य राखेको छ ।
हालका वर्षहरूमा मानव तस्करी समूहहरूले लाखौँ मानिसलाई पश्चिमी बाल्कन मार्ग हुँदै इयुमा प्रवेश गराएका छन् । बेलायती अधिकारीहरूले साना डुङ्गा प्रयोग गरी इङ्ग्लिश च्यानल पार गर्ने करिब एक चौथाइ आप्रवासीहरू यही क्षेत्रबाट आएको बताएका छन् ।
यस समस्यालाई सम्बोधन गर्न बेलायतले अल्बानियासँग संयुक्त टास्क फोर्स गठन गरेको छ । उक्त टास्क फोर्सले फिर्ती सम्झौता तथा आप्रवासीहरूको मूल क्षेत्रका विकास परियोजनाहरूमार्फत उल्लेखनीय प्रगति गरेको बताइएको छ । उक्त पहलले सन् २०२२ मा १२ हजार रहेको बेलायत पुग्ने अल्बानियाली आप्रवासीहरूको सङ्ख्या २०२४ मा घटाएर करिब ६०० पु¥याएको छ ।
यस्तै बेलायतले इयु सीमा सुरक्षा एजेन्सी फ्रन्टेक्ससँग सहकार्य गर्दै कानून कार्यान्वयन अधिकारीहरूलाई उक्त क्षेत्रमा पठाएको छ । साथै, बेलायती पक्षले अस्वीकृत शरणार्थीहरूलाई अस्थायी रूपमा राख्न सकिने ‘फिर्ती केन्द्र’ स्थापना गर्न इच्छुक देशहरू खोजिरहेको जनाएको छ ।
तर अल्बानिया र मोन्टेनेग्रो दुवैका नेताहरूले आफ्ना देशमा यस्ता फिर्ती केन्द्र स्थापना गर्न अस्वीकार गरेका छन् । अल्बानियाका प्रधानमन्त्री एडी रामाले मङ्गलबार लन्डनस्थित च्याथम हाउसमा आयोजित कार्यक्रममा स्पष्ट रूपमा भन्नुभयो, “हबहरू वा ती केन्द्रहरू जे भनिए पनि, म दोहोर्याउँछु—अल्बानियामा त्यस्ता केन्द्रहरू कहिल्यै हुँदैनन् ।”
त्यस्तै मोन्टेनेग्रोका प्रधानमन्त्री मिलोज्को स्पाजिकले आफ्नो देश बाल्कन हुँदै हुने आप्रवासन मार्गको हिस्सा नभएको बताउँदै रेलवे पूर्वाधार कमजोर भएकाले यस्तो सम्भावना न्यून रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि बेलायतले हाम्रो रेलमार्ग निर्माणमा १० अर्ब युरो लगानी गर्न सहमत भयो भने मात्र हामी फिर्ती केन्द्रको सम्भावनाबारे सोच्न सक्छौँ ।”
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा