लन्डन । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बेलायतमा श्रीमद्भागवत कथा सप्ताह आयोजना हुने भएको छ । धर्म दर्शन फाउन्डेसन नेपाल र बेलायत निवासी भक्तजनहरूको सक्रियतामा श्रीमद्भागवत कथा सप्ताह आगामी अगस्ट १२ देखि १८ तारिखसम्म साउथलस्थित विश्व हिन्दु मन्दिरमा आयोजना गरिनेछ । कार्यक्रम प्रत्येक दिन साँझ ४ बजेदेखि एक हप्तासम्म सञ्चालन हुने छ।
कथा वाचनका लागि अन्तर्राष्ट्रिय कथा व्यास पण्डित कुबेर सुवेदी बेलायत आउनुहुनेछ । १८ महापुराण प्रवक्ता पण्डित सुवेदीले नेपालका विभिन्न स्थानमा विशेषगरी चितवनस्थित देवघाट आश्रममा दैनिक तीन सयभन्दा बढी भक्तजनलाई निःशुल्क भोजन तथा बसोबासको व्यवस्था गर्दै आउनुभएको छ ।
धर्म दर्शन युट्युबमार्फत विश्वभर धार्मिक जागरण, भक्ति–ज्ञान तथा आध्यात्मिक कथा प्रवचन गर्ने सुवेदीले बेलायतमा पनि कथा, प्रवचन र भजन–कीर्तन गर्ने कार्यक्रम छ ।
फाउन्डेसनले बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई तन, मन, धनद्वारा सहयोग गर्न, कथा श्रवण गर्न र प्रसाद ग्रहणका लागि परिवारसहित उपस्थित हुन आमन्त्रण गरेको छ।
यसैबीच, आगामी १६ अगस्टका दिन श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा आयोजना गरिने पनि फाउन्डेसनले जनाएको छ।