लन्डन १३ जुलाई २०२५ । सोंपाल समाज यूकेको वार्षिक भेटघाट तथा समर बीबीक्यु कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार १२ जुलाईका दिन लन्डनको ग्रिनफोर्डस्थित पोस्ट अफिस हलमा सम्मान कार्यक्रम, विभिन्न सांगीतिक कार्यक्रमसहित भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष जगदीश गुरुङले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा ज्येष्ठ नागरिक विष्णुकुमारी गुरुङ उपस्थिति हुनुहुन्थ्यो ।
कार्यक्रममा गायक कृष्णबहादुर रेउले र गायिका पवित्रा गुरुङले दमदार सांगीतिक प्रस्तुति दिएर उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्नुभएको थियो । गीत–संगीतका साथसाथै स्पोर्ट्स सेक्रेटरी भीमबहादुर गुरुङको संयोजनमा विभिन्न मनोरञ्जनात्मक खेलहरू आयोजना गरिएका थिए । जसमा सहभागीहरूले उत्साहपूर्वक भाग लिएका थिए ।
कार्यक्रममा समाजका पूर्वअध्यक्षहरू, ट्रस्टीज सदस्यहरू, सल्लाहकारहरू, कार्यसमिति सदस्यहरू, आमा समूह, युवा वर्गलगायत धेरै सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजकको रूपमा उपाध्यक्ष (आमा समूह) कमला गुरुङले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकहरूले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सोंपाल समाज यूकेको यो कार्यक्रमले आपसी भेटघाट, सद्भाव र एकताको सन्देश प्रवाह गर्नुका साथै नयाँ पुस्तालाई समुदायप्रति थप जिम्मेवार बनाउने लक्ष्य बोकेको आयोजक समितिले जनाएको छ।