लन्डन । बेलायतवासी ट्रेड युनियन अधिकारीकर्मी नुवाकोटका राजेन्द्र पुडासैनीले गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) को अध्यक्षमा उम्मेदवारीबारे केही दिनमा औपचारिक घोषणा गरिने बताउनुभएको छ ।
शक्रबार पत्रकारसँग कुरा गर्दै पुडासैनीले एकताबद्ध र एउटै एनआरएनए यूके निर्माणका लागि विभिन्न पक्षको सल्लाह, सुझाव लिने काम भइरहेकोले नेतृत्व लिने विषयमा औपचारिक घोषणा बाँकी रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामीले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छैनौं, सल्लाह सुझाव लिइरहेका छौं । केही दिनमा घोषणा हुन्छ ।’
उहाँले एकताबद्ध र एउटै एनआरएन, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, पूर्व गोर्खाजको समानताको लडाईमा ऐेक्यबद्धताको लागि, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन र प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरुको अधिकार र सुरक्षालगायत एजेन्डा अघि सारिने जानकारी दिनुभएको छ ।
नुवाकोटको साविक जिलिङ गाविस २ (हाल बेलकोटगडी नगरपालिका ८ )का स्थायी बासिन्दा पुडासैनी २५ वर्ष अगाडि बेलायत आउनुभएको थियो । पढाइकै क्रममा बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स उत्रीर्णपश्चात् विगत १५ वर्षदेखि स्वास्थ्य सेवा विभागमा कार्यरत हुनुहुन्छ । नेपालमा रहँदा सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत भएका पुडासैनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गरिरहनुभएको छ । बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहि श्रमिकहरुको हकहितको पैरबी गर्दै हुनुहुन्छ ।
सामाजिक अन्तरघुलनमा विश्वास गर्ने उहाँ सन् २०१४ मा लन्डन बरो अफ ह्यारोको ह्यारो अन द हिलबाट काउन्सिलर पदमा प्रत्यासी राजनीति र समाजसेवालाई शुद्धीकरणमा विश्वास गर्नुहुन्छ । बेलायतको विभिन्न सामाजिक संघसंस्था जस्तै यती नेपाली एसोसिएसन यूकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुँदै एनआरएनए अन्तराष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्यसमेत हुनुहुन्थ्यो ।