लन्डन । मगर संघ यूकेको आयोजनामा बेलायतमा हजारौं दर्शकको सहभागितामा १७ औं नेपाली ओपन कन्सर्ट सम्पन्न भएको छ । फानबोरोस्थित रग्बी फुटबल क्लबमा शनिबार जून १४ तारिख २०२५ मा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिसहित ओपन कन्सर्ट भव्य रुपमा सम्पन्न भएको मगर संघ यूकेले जनाएको छ ।
प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका प्रथम सचिव उद्धव न्यौपाने, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) र कार्यक्रम प्रमुख संयोजक रुद्र थापामगरले रिवन काटेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । संक्षिप्त औपचारिक कार्यक्रममा अध्यक्ष लालु र प्रमुख अतिथि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेका प्रतिनिधि प्रथम सचिव न्यौपानेलाई मात्रै मञ्चमा आशनग्रहण गराइएको थियो । अन्य आमन्त्रित पाहुनालाई सामूहिक रुपमा यथास्थानमा आशनग्रहण गर्न भनिएको थियो ।
मगर संघ यूकेका महासचिव गोमन पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख संयोजक थापामगरले स्वागत मन्तव्य, प्रमुख अतिथि न्यौपानेले संक्षिप्त शुभकामना मन्तव्य र अध्यक्ष लालुले समापन मन्तव्य राख्नुभएको थियो ।
प्रथम सचिव न्यौपानेले मगर संघ यूकेले हरेक वर्ष नेपाली कलाकारलाई विदेशी भूमिमा मञ्च दिएको र नेपाली संगीतलाई विश्वमा फैलाउने काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँने बेलायतमा बसोबास गर्ने नेपाली समुदायको व्यस्त जीवनशैलीलाई एक दिन भने पनि मनोरन्जनमा सामेल गराउने काम मगर संघले गरेको उल्लेख गर्नुभयो ।
उहाँले आयोजक र कलाकारलगायत सबैलाई राजूदत,राजदूतावास र आफ्नो तर्फबाट धन्यवाद दिनुभयो । आगामी दिनमा यस प्रकारका कार्यक्रमले निरन्तरता पाउन सकोस् भन्दै प्रथम सचिव न्यौपानले कन्सर्ट सबै सहभागी र सहयोगीले गौरवान्वित हुने खालको बनाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष लालु पुनमगरले कार्यक्रम सफल बनाउने हर क्षेत्रमा सहयोग पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गर्नुभयो ।
दोस्रो चरणमा सांस्कृतिक सचिव नुनु पाइजामगर मगरको नेतृत्वमा सांगीतिक कार्यक्रम भएको थियो । कार्यक्रम सञ्चालन भने सरुपा थापामगर र पवन रानामगरले आकर्षक ढंगले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपालबाट आएका कलाकार खेम सेन्चुरी, अन्जु पन्त, प्रसाद खप्तरी मगर,विजय ठाडा मगरलगायतका कलाकारले आआफ्ना प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा बेलायतक विभिन्न वेल्स, क्याट्रिक, मिडल्यान्ड, अल्डरसट, रिडिङलगायतका स्थानबाट सहभागी भएका थिए ।
सन् २००२ मा स्थापना भएको मगर संघ यूकेले ‘म्यूजिक फर युनिटी’ श्लोगनसहित बेलायतमा नेपाली गीत, संगीत, कला, संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००७ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ ।