तमुधीं यूकेको आयोजनामा मे २५ मा बेलायतमा गोर्खा कप, तयारी अन्तिम चरणमा

गोर्खा कपमा मुख्य टिम ३२, भेट्रानतर्फ १६ र महिलातर्फ २ टीमले प्रतिस्पर्धा गर्ने

लन्डन । तमुधीं यूकेले यही २५ मेमा आयोजना गर्ने २३ औं संस्करणको गोर्खा कपको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।मिचेटस्थित आफ्नै भवनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा गोर्खा कपको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार गोर्खा कपमा मुख्य टिमतर्फ ३२, भेट्रानतर्फ १६ र महिलाका २ टीमले प्रतिस्पर्धा गर्नेछन् ।

अल्डरसट हृयाम्पसायरस्थित क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्ड (खेलमैदान)मा हुने प्रतियोगितामा मेन क्याटेगोरिजतर्फ विजयीलाई ३ हजार पाउण्ड, रनरअपलाई १ हजार ८ सय पाउण्ड, भेट्रान विजयीलाई १ हजार ५ सय पाउन्ड र रनर अपलाई १ हजार पाउण्ड प्रदान गरिनेछ । महिलातर्फ विजयीलाई ६ सय र रनर अपलाई ४ सय पाउण्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिनुभयो । खेल समय बिहान ९:३० बजेबाट सुरु भएर साँझ ८ बजेसम्म समापन हुने संस्थाका खेलकुद सचिव एवं गोर्खा कप संयोजक दीपक घलेले बताउनुभयो । गोर्खा कपमा प्यारासुट डिस्प्ले, नेपालबाट युरोपमा खेल्ने पहिलो महिला राष्ट्रिय खेलाडी सावित्रा भण्डारी (साम्बा) को प्रत्यक्ष उपस्थिति, गोरक घले र इंग्ल्याण्ड फुटबल टिमका खेलाडीहरुको सहभागिता रहनेछन् ।

यस्तै, साँस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर (दन्त परीक्षणसहित) गरिने आयोजकले जनाएको छ । सो अवसरमा व्यापारिक, च्यारिटी, प्रहरीलगायतका गरी कूल १ सय २५ वटा स्टल राखिने स्टल कोअर्डिनेटर एवम् संस्थाका उपाध्यक्ष दिलमाया गुरुङले बताउनुभयो ।

गोर्खा कपमा ९० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको छ । यस वर्ष १५ देखि २० हजार सहभागी हुने आयोजकको अपेक्षा रहेको महासचिव डा. विशाल गुरुङले बताउनुभयो । पत्रकार भेटघाटमार्फत तमुधीं यूकेका अध्यक्ष गुरुङले गोर्खा कपमा सहभागिताका लागि बेलायतवासीलाई अपिल गर्नुभयो ।यसैबीच तमुधीं यूकेले कलाकार, पत्रकार र शिक्षकलाई सम्मान गरेको छ ।

लमजुङ सदरमुकाम बेंसीसहरस्थित भूपू सैनिक आवासीय माविका प्रिन्सीपल विनोद गुरुङ, विद्यार्थी, नेपालबाट बेलायत आएका कलाकारहरु शितल गुरुङ, विमला गुरुङ, विमल परियार, तिलकबहादुर गुरुङ, कान्तिपुर लमजुङ संवाददाता आश गुरुङलगायतलाई सम्मान गरिएको हो ।पत्रकार गुरुङ गुरुङलाई तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङले क्रेगी (फेटा) बाँधिदिनुका साथै खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याएको भन्दै संवाददाता गुरुङलाई सम्मान गरेको तमुधीं यूकेका महासचिव डा. विशाल गुरुङले बताउनुभयो ।

यस्तै, कलाकार, शिक्षक, विद्यार्थीहरुलाई खादा, नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री