बुद्ध आफ्नो युगका सशक्त तार्किक विद्रोही थिए


समाज रुपान्तरणको समयमा दार्शनिकहरु जन्मिन्छन् । समाज स्थिर बस्यो भने, त्यस्तो अवस्थामा दार्शनिकहरु जन्मिँदैनन् । किनकि स्थिरतामा प्रश्न उठ्दैन । जब प्रश्न उठ्छ, तब उत्तरको लागि ज्ञान दिने दार्शनिकको जन्म हुन्छ ।

बुद्ध भनेको ज्ञान हो । बुद्ध शब्द बोधीबाट बनेको हो । जसको अर्थ हुन्छ बोध हुनु, अर्थात् ब्युँझनु । बुद्ध धर्मको अर्थ ब्युँझाउने धर्म हो । यो बोध गराउने अर्थात् ब्युँझाउने दर्शनशास्त्र हो । बुद्ध भनेको व्यक्ति होइन, ज्ञान हो । व्यक्ति त सिद्धार्थ गौतम राजकुमार हो । तर उहाँमा त्यो ज्ञान आयो र बुद्ध नामले चिनिनु भयो । आजभन्दा २५६९ वर्षअघि कपिलवस्तुस्थित एक शाक्य गण राज्यमा बुद्ध (ज्ञानको जन्म)को जन्म हुन पुग्यो । खासगरी त्यसबेला दुई कारणले बुद्ध (ज्ञान)को जन्म हुन पुगेको देखिन्छ ।

पहिलो, त्यसबेलाको दक्षिण एशियाली सभ्यताको अर्थ व्यवस्था दास युगको अन्त्य भई सामन्ती युगमा प्रवेश गर्दै थियो । स-साना कविला गण राज्यहरु टुक्रिने र विशाल सामन्ती राज्य बन्ने क्रममा थियो । जसले गर्दा राज्य–राज्यबीच मारकाट, हत्या, हिंसा भइरहन्थ्यो । अशान्ति थियो । स्थानीय सामन्तहरु दासलाई चरम शोषण गर्थे । दासलाई पशुसरह व्यवहार गरिन्थ्यो । राजा, सामन्त, पुरोहित, मालिकहरुको जीवन विलासी थियो । त्यसबाट शाक्य गणराज्य पनि प्रभावित नहुने कुरा भएन ।

दोस्रो, त्यसबेला भारत वर्षमा हिन्दू वर्ण व्यवस्थाको जातीय विभेद, शोषण र असमानता व्याप्त थियो । जात व्यवस्थाबाट सिर्जित भेदभावहरु चर्को थियो । सामन्तहरुले भाग्यवाद, देवतावाद, कर्मवाद र स्वर्ग–नर्क जस्ता सपना बाँडेर यसको फाइदा उच्च जातिले लिइरहेको अवस्था थियो । यस्तो अवस्थामा देश–देश बीच भएको युद्धको अन्त्य, हिन्दू धर्म र वर्ण व्यवस्थाबाट समाजलाई मुक्त गर्नका लागि शाक्य गणराज्यको दरबारमा जन्मिएका सिद्धार्थ गौतमको रुपमा बुद्ध (ज्ञान) को जन्म हुन पुग्यो । त्यसैले बुद्धले प्राप्त गरेको ज्ञानलाई मध्यमार्गी दर्शनको रुपमा बुझ्न सकिन्छ ।

यस्तै हामी कृष्ण र कंशको युद्ध द्वापर युग (इ.पू. ११०० शताब्दी) तिरको कथा सुन्छौ । कृष्ण पनि मातृसत्ताको अन्त्य र पितृसत्ताको उदय हुने चरणको संव्रmमणकालीन अवस्थामा जन्मिएका थिए । कृष्ण जन्मिने बेलासम्म समाजमा मातृसत्तात्मक व्यवस्था थियो । त्यसबेलासम्म सम्पत्तिको मालिक छोरीको सन्तानमा जान्थ्यो । तर कंशले त्यो सम्पत्ति बहिनी देवकीको सन्तानलाई दिन नमान्दा यहाँ मामा–भान्जाको युद्ध हुन पुग्यो । कंशले आफ्नो सम्पत्ति बहिनीबाट जन्मेको सन्तानलाई नदिनका लागि सातौ सन्तानसम्मलाई मारिरहे । किनकि त्यो बेला मातृसत्ताबाट समाज पितृसत्ता उन्मूख भइरहेको थियो । कंश पितृसत्ताको पक्षधर देखिन्छ । यस्तो बेलामा कृष्ण जन्मिएर कंशको हत्या गर्न पुग्यो ।
अर्को पनि कथालाई हेरौ, हिरण्यकशिपु र प्रल्हादको कथा हामी सुन्छौ । त्यसबेला आध्यात्मवादी र भौतिकवादी विचारको सङ्घर्ष चलिरहेको थियो । त्यो कथामा दैवीवादी प्रल्हादलाई भौतिकवादी हिरण्यकशिपुले सोध्छ– के तेरो ईश्वर यो खम्बामा पनि छ ? प्रल्हादले मेरो ईश्वर त्यहाँ पनि छ भनेपछि हिरण्यकशिपुले त्यो खम्बा काट्न लाग्दा त्यहाँबाट नरसिंह अवतार प्रकट भई उसको हत्या गरिएको कथा बनाइएको छ । खम्बाबाट नरसिंह प्रकट भएको कुरा त विश्वास गर्न सकिन्न तर कोही हतियारधारी बलिष्ठ व्यक्ति त्यहाँ लुकेर बसेको हुनसक्छ । यसमा भन्न खोजिएको हिन्दू धर्म व्यवस्थाद्वारा ईश्वरमाथिको जुन दैवी विश्वासद्वारा समाज चलिरहेको थियो, त्यसमा भौतिकवादी विचारको आक्रमणको युग प्रवेशको व्रmममा घटेको घटना हो यो ।

तर हामीमा के छ भने, यस्तो इतिहासमा घटेको विभिन्न पाटा, पक्षको हामी अर्थशास्त्रीय र समाजशास्त्रयि दृष्टिकोणले त्यसको कारण खोजी गर्दैनौ । हाम्रा धर्म गुरुहरुले पनि धार्मिक शास्त्रमा लेखिएका कुराहरुलाई विश्लेषण गर्न नपाइने भन्ने तर्क दिन्छन् । यस्तो विचारले हामी मात्र होइन, हामी पछिका पुस्तालाई समेत ज्ञान चक्षुको ढकनी बन्द गरिदिन्छ । र, यस्तो मान्यताले समाजमा उठेका अरु प्रश्न हल गर्ने दार्शनिक जन्मिने प्रक्रियालाई समेत बन्ध्याकरण गरिदिन्छ ।

अब अर्को प्रसंगमा जाऔ । हामी बुद्धको मूर्तिलाई पूजा गर्छौ, ढोग्छौ । खासमा बुद्धले आफ्नो मूर्ति नबनाउनु भनेका थिए । तर संसारमा बुद्धको मूर्ति बनाउने होडबाजी नै चल्यो । अहिले पनि चलिरहेको छ । मूर्तिलाई किन ढोगिन्छ ? बुद्धको मूर्ति भनेको बुद्ध (ज्ञान) को प्रतीक हो । संसारमा जति पनि दुःख, विपत्तिहरु प्राणी जगतले भोग्नु परिरहेको छ, त्यो अज्ञानताको कारणले भोग्नु परेको हो । कुनैबेला आगो र सिस्नुले पोल्छ भन्ने ज्ञान नहुँदा हाम्रा पुर्खाहरुको हात धेरैपटक आगोले डड्यो होला, सिस्नुले पोल्यो होला । तर विस्तारै आगो र सिस्नुले पोल्छ भन्ने ज्ञान आएपछि स्वतः त्यसबाट मान्छे टाढा रहन थाल्यो । सिस्नु र आगोको कोइला समात्नु प¥यो भने चिम्टाको आविष्कार भयो र त्यसको प्रयोग गर्न जान्यो ।

त्यसैले ज्ञानको कमीको कारणले दुःखको सिर्जना हुने हो । त्यसैले ज्ञानको प्रतीक बुद्धको मूर्तिलाई ढोग्नु, पूजा गर्नु भनेको अज्ञानता हटाएर ज्ञान बढाउनका लागि हो । ज्ञान आएपछि स्वतः दुःख पनि हटेर जान्छ । जसरी आगो र सिस्नुको पोलाईबाट हुने दुःख हटेर गयो । तर कतिपय मान्छेहरु यस्तो पनि देखिएको छ कि उनीहरु ज्ञान लिँदैनन् । खाली मूर्तिलाई ढोग्ने मात्रै गरिरहेका हुन्छन् । ज्ञान नलिने, मुर्ति मात्रै ढोग्ने हो भने त्यसले हाम्रो दुःख निवारणमा केही मद्दत गर्दैन ।

बौद्ध दर्शन त्यस्तो ज्ञान हो, डा. के. श्री धम्मानन्दले भनेका छन्– जति जति विज्ञानले प्रगति गर्दै जान्छ, त्यति त्यति विज्ञान बुद्धको समिपमा आउँछ । त्यस्तै अर्का विद्वान डा. अल्वर्ट आइन्सटाइनले भनेका छन्– आजको युगमा आधुनिक विज्ञानसँग मिल्ने कुनै धर्म छ भने त्यो बुद्ध धर्म मात्र हो । त्यसैले बौद्ध दर्शन जति विज्ञानको विकास गर्दै विश्व अघि बढिरहेको छ, त्यति नै यसको सान्दर्भिकता बढेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री