
पोखरा । पर्यटन राजधानी पोखरामा ३० देशको सहभागितामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने भएको छ ।
बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको बिहीबार आयोजित घोषणासभामा जानकारी दिइयो । महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ ।
पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेनडरमा नयाँ कार्यक्रम थप भएकामा खुसी व्यक्त गर्दै महानगर कार्यक्रमको संरक्षक र प्रवद्र्धक रहने प्रतिबद्धता व्यक्त जनाउनुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सविन महर्जनले महोत्सवको मुख्य उद्देश्य पर्यटन पुनरुत्थान भएको बताउनुभयो । महोत्सवमार्फत उक्त क्षेत्रको आर्थिक विकास, सांस्कृतिक आदानप्रदानका साथै विभिन्न देशमा कूटनीतिक सम्बन्ध विस्तारसमेत हुने उहाँको भनाइ छ ।
आयोजकका अनुसार महोत्सवभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटले हट एयर बेलुनको उडान गर्नेछन् । एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । महोत्सवका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ । महोत्सवमा एकै पटक धेरै बलुन उडान हुनेहुँदा त्यसको रौनक छुट्टै हुनेछ । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक महोत्सवमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ । महोत्सव आयोजना गर्नका लागि छ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
हट एयर बलुनमा सामान्यतयाः ४० मिनेटको लामो उडान हुन्छ । उडानका क्रममा अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फूडकोर्ट, सांस्कृृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ ।
विसं २०७३ मा स्थापना भएको बलुन नेपाल प्रालिले विसं २०७५ देखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय