
काठमाडौँ । विगत साढे एक दशकदेखि हङकङलाई कर्मथलो बनाउँदै आएकी बागलुङकी कवि जुनू रानाको प्रथम कविता कृति ‘रातो नदी’ को शनिबार नयाँबानेश्वरको थापागाउँस्थित मण्डला थिएटरको प्रेक्षालयमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाले विमोचन गरे । मञ्चमा आसिन अतिथिहरूले विमोचनमा काइँलालाई साथ दिएका थिए ।
कवि तथा प्राज्ञ शशी लुमुम्बूको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि काइँलाले सम्बोधन गर्दै पछिल्लो चेतनालाई पक्रेर कविता लेखिरहेका कविहरूका कवितामाथि चल्तीका भनिएका समालोचकहरूको आँखा नपुगेको बताए । उनले रत्न पुस्तक भण्डारद्वारा प्रकाशित कवि रानाको कविता कृतिभित्र राम्रा र बलिया कविताहरू रहेको उल्लेख गरे । काइँलाले भने, “नेपाली साहित्यले आज एउटा दर्विलो कृति पाएको छ । मूलधार भनिने एउटा पक्षले यो नहेरे पनि फरक पर्दैन । यस कृतिमा सबै थोक छन्, विषयवस्तुहरू ओजिला छन् । संरचना, विम्ब, प्रतीक र अलङ्कारको प्रयोग बढो राम्रो छ । कविले फारो गरेर शब्द चलाएकी छन् । ‘रातो नदी’ साँच्चिकै अब्बल कृतिका रूपमा आएको छ ।”
कवि तथा प्राज्ञ श्रवण मुकारुङले ‘कमन’ लागिरहेको विषयलाई कवि रानाले नयाँ कोणबाट प्रस्तुत गरेको बताए । उनले कविता लेखिरहेका धेरै समकालीन कविहरूको भिडमा कवि जुनू रानाको कविता कृतिले नयाँ तरङ्ग ल्याउने दावी गरे ।
कार्यक्रममा कवि तथा समालोचक डा. विन्दु शर्मा, कवि तथा सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र कवि तथा आख्यानकार विना थिङले विमोचित कृतिमाथि समीक्षात्मक मन्तव्य राखेका थिए ।
कवि रानाले आफ्नो कवितालेखनका बारेमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा प्राज्ञ तथा कवि डा. विप्लव ढकाल, गीतकार संघ, नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, सङ्गीतकार वसन्त मुकारुङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कवि सीता तुम्खेवा, गायक यशकुमार र कलाकार अङ्कित खड्काले क्रमशः ‘रातो नदी’, ‘अनुपस्थिति’ र ‘जातको ब्रम्हाण्ड’ र तीनै जनाले संयुक्तरूपमा ‘म एक बेरङ रङ’ शीर्षकका कविता सङ्गीतमा प्रस्तुत गरेका थिए । कविताको सङ्गीत संयोजन गायिका झुमा लिम्बूको रहेको थियो । उक्त प्रस्तुतिमा यजु आचार्य, आदिश्री ढुंगाना र अरुणा गन्धर्वले वाद्यववादनमा साथ दिएका थिए ।
नयाँअनलाइन डटकमको आयोजनामा भएको कार्यक्रममा नयाँअनलाइनकी सहसम्पादक सिर्जना राईृले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण कलाकार यासेली योङहाङले गरेका थिए ।

जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु