साइकलको सकस

स्वस्थ जीवन र वातावरणका लागि साइकल संसारभरि नै बढी प्रयोग हुने गरेको छ । पहिला पहिला अन्य साधन किन्न नसक्नेहरूले मात्र साइकललाई यातायातको साधनका रूपमा प्रयोग गर्थे । गाउँघर त के शहरमा पनि साइकल राख्न सक्नेहरूको संख्या कम थियो । अहिले भने घरका सबैले छुट्टाछुट्टै गाडी राख्न सक्ने हैसियत हुँदा पनि साइकल प्रयोग गर्न थालेका छन् । साइकल प्रयोग नगर्नेहरूलाई आफ्नो स्वास्थ्यको पर्वाह नगर्नेहरू भनेर चिनिन थालेका छन्। पृथ्वीमा प्रदूषणको मात्रा बढी भएसँगै विभिन्न देशका सरकारले नै साइकलमैत्री बाटोघाटो बनाइदिने, काममा आउन जान साइकल प्रयोग गर्नेलाई विशेष प्रोत्साहन दिने चलन छ । व्यक्तिगत रूपमा शरीरलाई स्वस्थ राख्न पनि सानो उमेरदेखि नै साइकल चलाउन सिकाउने गरिन्छ । बिदाको दिन व्यक्तिगत, पारिवारिक वा सामूहिक रूपमा लामो साइकल यात्रा गरिन्छ । 

साइकलको इतिहास जर्मनबाट शुरु भएको हो । एक सरकारी कर्मचारी व्यारोन कार्ल भोन ड्रेजले सन् १८१७ मा काठको गुड्ने साधन बनाएका थिए । त्यतिबेला चक्का गुडाउन दुई खुट्टाले भुइँमा बल गरेर टेक्ने र अगाडि बढ्ने गरिन्थ्यो । अहिलेजस्तो जञ्जीर र प्याडल थिएन । त्यसो त १५ औं शताब्दीमा इटलीका जिओभानी फोन्टानाले मानिसले धकेल्ने चारपांग्रे साधन बनाए । सामान वा मानिसहरू यताउता गर्न सजिलो बनाउने प्रयासमा त्यो काम भएको थियो । सन् १८३९ देखि स्कटल्याण्डबाट साइकलमा प्याडल थप थरियो तर अहिलेको जस्तो जञ्जीर भने थिएन । स्कटिश ककप्याट्रिक म्याकमिलनले भुइँमा खुट्टा घिसार्न नपर्ने साइकल बनाए । अर्का ब्रिटिश जेम्स स्टार्लीले अगाडि निकै ठूलो र पछाडि सानो चक्कासहितको साइकललाई सन् १८६६ मा ‘पेनी फार्टिङ’ नामकरण गरेका थिए । त्यसको दुई वर्षपछि एक चक्के ‘द युनी साइकल’ निर्माण भयो । साइकलमा ब्रेक लगाउने प्रविधि पनि अंग्रेज अन्वेषकहरू ब्रोवोट र ह्यारिसनले सन् १८७६ बाट शुरु गरेका हुन् । सन् १८८८ मा आयरल्याण्डका जोन वोयडले टायरवाला साइकल बनाए । सन् १८९४ मा माइकल रायनले फोल्डिङ साइकल बनाउन थाले । सन् १९३८ सम्म आइपुग्दा थोमस म्याकडोनाल्डले ब्याट्रीबाट चल्ने साइकल बनाए । सन् १९७९ मा जोर्ड ब्रिजले बिभिन्न गेयरसहित माउण्टेन बाइक बनाए । पछि अहिलेसम्म पनि विभिन्न प्रकृतिका साइकल बन्ने प्रक्रिया निरन्तर छ । 

साइकललाई यातायातको साधनमध्ये सबैभन्दा बढी संवेदनशील ठानेर यसको सुरक्षाको लागि विभिन्न कानुन निर्माण हुँदै आएका छन्। बेलायतमा सन् २००४ देखि २२ सम्मको तथ्यांकअनुसार साइकल चालकहरूको मृत्युदर वार्षिक १११ बाट ९१ मा झरेको छ । केही समयअगाडि मात्र सडकमा साइकल चालकहरूलाई विशेष प्राथमिकता दिनैपर्ने र उनीहरूलाई ओभरटेक गरेर जान परे साढे १ मिटरभन्दा बढी फरक रहनुपर्ने, बाटोमा चलाइएका साइकललाई अन्य साधनसरह प्राथमिकता दिनुपर्ने कानुन बनेको थियो ।

साइकल प्रेमी देशको रूपमा नेदरल्याण्ड्सलाई संसारमै पहिलो मानिन्छ । त्यहाँका शहरहरूमा अन्यत्र गाडी पार्किङ गर्नेजस्तो साइकल पार्किङ गर्ने ठूल्ठूला ठाउँ देखिन्छन् । त्यहाँको कूल जनसंख्याभन्दा धेरै साइकल छ । सन् २०२२ को तथ्यांकअनुसार जनसंख्या १७.६ मिलियन अनि साइकल २३.९ मिलियन थियो । एक जनाको भागमा झण्डै १.४ वटा साइकल । जनसंख्या बढी भएका कारण सबैभन्दा बढी साइकल चीनमा प्रयोग हुनु स्वाभाविकै हो । डेनमार्क, स्विडेन, बेल्जियम, जर्मनी, फ्रान्स पनि साइकलको लागि प्रख्यात देश हुन् । त्यसो त युरोपका प्रायः सबै देशमा साइकल प्रयोग गर्नेको संख्या अधिक छ । नेदरल्याण्डका प्रधानमन्त्री नियमित साइकलमा अफिस जाने तथा बेलायती पूर्वप्रधानमन्त्रीहरू पनि पटकपटक साइकल चढेर कार्यालय जाने खबरहरू महत्वका साथ छापामा आउने गरेका छन् । 

बेलायतमा साइकल चलाउनेहरूले के कस्तो नियम पालना गर्ने भन्ने कानुन नै छ । यही मे १५ का दिन सरकारले साइकलको ठक्करबाट कसैको मृत्यु भएमा अन्य सवारी चालकलाई सरह नै सजायँको व्यवस्था गरेको छ । अबदेखि हेलचेक्र्याइँसाथ साइकल चलाउँदा कसैमाथि चोटपटक लागेमा वा कसैको मृत्यु भएमा सवारी दुर्घटनाजस्तै कानुनी कारवाही हुने र १४ वर्षसम्म जेल सजायँ हुन सक्नेछ । पूर्वमन्त्री सर इयान डन्कन स्मिथको प्रस्तावलाई मन्त्रिपरिषद्ले पास गरी तल्लो सदनबाट अघि बढेर माथिल्लो सदनमा प्रस्तुत गर्ने प्रक्रियामा छ । 

सन् २०२२ को जुनमा रिजेन्ट पार्क लण्डनमा बिहान आफ्नो कुकुरसँग हिँडिरहेका ८१ वर्षीय हिल्दा ग्रिफिट्सलाई साइकलको ठक्करले घाइते बनाएकाले अस्पताल लगिएको ५९ दिनपछि मृत्यु भएको थियो । त्यो बाटोमा प्रतिघण्टा २० माइल गतिमा मात्र सवारी साधन चलाउन पाइने थियो तर उक्त साइकल चालक ब्रायन फिट्जेराल्डले बढी गतिमा कुदाउने याप स्ट्राभामा आफ्नो नाम लेखाउन प्रतिघण्टा २९ माइलको गतिमा चलाएका थिए ।

प्रहरीले साइकल चलाउनेलाई मापसेजस्तै गतिमा पनि रोक लगाउने कानुन नभएको कारण उनीमाथि कुनै कानुनी प्रक्रिया अगाडि बढाउन सकेन । सन् २०१६ को फेब्रुअरी १२ मा खाजा खान निस्केकी ४४ वर्षीय डाक्टर किम ब्रिग्सको अगाडिको ब्रेक नभएको साइकल चालक युवकको ठक्करबाट टाउकोमा चोट लागी एक हप्तापछि मृत्यु भएको थियो । त्यस्तै सन् २०१६ मै पसलबाट घर फर्किरहेकी ७६ वर्षीया महिला डायना वाल्करको साइकलले ठक्कर दिएका कारण ज्यान गयो । उनका श्रीमान् पिटर त्यतिबेलादेखि नै साइकल चालकहरूलाई पनि कानुनको दायराभित्र ल्याएर सजायँ गरिनुपर्ने अभियानमा अनवरत लागिरहे । अहिले नयाँ कानुन बनेपछि बल्ल सन्तुष्टीको श्वास फेरेका छन् । 

किम ब्रिग्सका श्रीमान् म्याथ्यु ब्रिग्सले पनि दुई सन्तानकी आमाको मृत्युको कारण बनेका १८ वर्षीय चार्ली आलिस्टनलाई कुनै न कुनै सजायँ हुनुपर्ने अडान लिए । प्रहरीले विद्यमान कानुनमा अभाव छ भनिरह्यो तर उनले व्यापक कानुनी सल्लाह लिन थाले । अन्ततः सन् १८६१ को गाडाघोडा चालकहरूका लागि बनेको कानुन अनुसार हेलचक्र्याइँपूर्वक सडकको प्रयोग गरेका कारण दुई वर्षसम्म कैद सजायँ हुने मागदाबीसहित मुद्दा दर्ता भयो ।यसअगाडि यस प्रकृतिको मुद्दा परेको थिएन । न्यायाधीशहरूले पनि यो गाम्भीर्यतालाई मध्यनजर राख्दै ब्रेक नभएको साइकल चलाउनु कुनै घटनालाई निम्तो दिनुसरह हो भनी निज युवकलाई १८ महिनाको जेल सजायँ सुनायो ।

लेखक सुरेन्द्र श्रेष्ठ

केही समयदेखि बजारमा प्रशस्त दुई पांग्रे साधन देखिन थालेका छन् । कोभिड पछाडि मानिसहरूले खाना खान वा लिन बाहिर जानुभन्दा घरमै मगाउन थालेका छन् ।

ठूल्ठूला बहुर्राष्ट्रिय कम्पनीहरूले पनि घरमा नै खाना पुर्‍याइदिने भएका छन् । रेष्टुरेण्टबाट मात्र हैन, सुपर मार्केटहरूदेखि ससाना खुद्रा पसलेहरूले पनि घरघरमा सामान पुर्‍याइदिने भए । पहिला डेलिभरी सीमित त्यो पनि प्रायः चारपांग्रे गाडीमा मात्र हुने थियो । अहिले मोपेड हुँदै साइकलसम्म प्रयोग गरिँदै छन् । जति धेरै ठाउँमा जान सकियो, त्यति फाइदा हुने भएकाले साइकलहरू रातो ट्राफिक बत्तीमा पनि कुदाउने, जेब्रा क्रसिङमा पनि नरोकिने क्रम बढ्न थालेको छ । सहज ढंगले साइकल प्रयोग गर्न पाइयोस् भनेर ठूला मुलुकमा धेरै कम्पनीका साइकल उपलब्ध गराउन थालिएको छ । एक ठाउँबाट चढेर जहाँ पुग्न पर्ने हो त्यहीं नै छाड्न पाइने भएकाले चालकहरूलाई सहज भएको छ । प्याडल नभएका स–साना इन्धन राख्न नपर्ने स्कुटरहरू पनि जताततै प्रयोग गर्दै छाड्न पाइने भएको हुँदा कतिपय ठाउँमा यसको व्यवस्थापनमा चुस्तता नभएकोले अलि असहज अवस्था पनि आउने गरेको छ । व्यस्त शहरहरूभरि मोपेड र साइकलले गर्दा फुटपाथमा हिँड्ने सर्वसाधारणको सुरक्षामा थप चुनौती त थपिएकै छ, शहर बजार नै अस्तव्यस्त देखिन थालेका छन् । 

हुन त संसारमा नयाँनयाँ प्रविधिहरु थपिँदै जाने छ । तर कतिपय थपिएका प्रविधिहरूले मानव सभ्यतालाई नै कता पुर्‍याइदिने हो भन्ने अहम् प्रश्न उठ्न सक्छ । त्यसैले नयाँ परिस्थितिलाई समयमा नै कावुमा राख्नका लागि प्रत्येक देशको सरकारले समाज र कानुनबीचको दरारलाई कम गर्दै जानु गर्दछ । यही पृष्ठभूमिमा अब साइकल चलाउने चालकहरूको कारण कसैलाई चोटपटक लागेमा अनि मृत्यु भएमा अन्य सवारी साधनसरह सजायँको व्यवस्था गर्न लागिएको छ । यसको साथसाथै मापसेबारे पनि चर्को ढंगले बहस अगाडि बढेको छ भने कमसेकम कतै दर्ता गरिनुपर्ने, अनुमतिपत्र लिन पर्ने, इन्स्योरेन्स गर्नुपर्ने, गतिमा रोक लगाइनु पर्नेबारे पनि व्यापक छलफल हुन थालेको छ । यसले साइकल चलाउनेहरूलाई हतोत्साहित गर्न खोजिएको आरोप आए पनि अन्ततः बटुवादेखि सबैको सुरक्षा नै मुख्य विषय हो भन्नु पर्दछ । 

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री