साकेलाको शुभकामना

“अङ्कल ! यो वर्षको साकेला कहिले हुन्छ ?”

अचानक मोबाइलमा टिङलिङ्ग आवाजसहित त्यस्तो म्यासेज आउँदा म एकचोटी झसङ्गै झस्किन्छु । समय बेलुकीको ठीक १० बजिसकेको थियो र म सुत्ने तर्खर गर्दै थिएँ । अब यति अबेलातिर कस्ले म्यासेज पठाएको होला भनेर एक झलक हेर्छु । त्यसपछि उनको प्रश्नको उत्तर दिनुभन्दा अगाडी उनी को रहेछिन् भनेर मुहार पुस्तिकामा रहेको उनको जीवनीलाई सरसर्ती जाँच गर्न थाल्छु ।

उनको जन्मघर पूर्वी पहाडको बुईपा, खोटाङ् रहेछ । तर सन् २०१९ मा बेलायती सेनामा भर्ती भएको एकजना जवानसँग विवाह बन्धनमा बाँधिएपछि हजारौँ माइल टाढा घरजम गर्न उनी बेलायत बसाइँ सरेकी रहेछिन् । हुनत मेरो घर पनि उतैतिर हो । तर भौतिक रुपमा उनीसँग मेरो खास्सै चिनजान छैन । तैपनि अपरिचित गाउँले भतिजी परिछिन् भनेर मनमनै सोच्छु । त्यसपछि उनको प्रश्नको उत्तर दिन भनेर हातको औलाहरु मोबाइलको स्क्रिनमा नचाउन थाल्छु ।

“छोरी ! यस वर्षको साकेला पनि सदा झैँ दुई पटक नै हुन्छ भन्ने सुनेको छु अथवा मैले त्यस्तो जानकारी पाएको छु । पहिलोपटक यही मे महिनाको २५ तारिक र दोश्रो पटक जून महिनाको १ तारिकमा हुन्छ भन्ने सामाजिक सँजाल टिकटकमा पनि देखेको छु,” सक्षिप्तमा जवाफ फर्काउँछु ।

मेरो उत्तरको बिघ्न प्रतीक्षा गरिरहेकी भतिजीले, “उसो भए अङ्कल ! कुन दिन चाहिँ अलिक ठूलो हुन्छ होला ?”

अब मेरोसामु दोश्रो प्रश्न खडा हुन्छ । उता गाउँघरमा हुँदो हुँ त, “कि नेर्पा वा टेम्मा” उनलाई आँखा चिम्लेर जवाफ फर्काइ दिन्थेँ । तर यहाँ त्यसरी जवाफ फर्काउन मलाई त्यति सजिलो छैन । तैपनि जानी नजानी भतिजीले गरेकी प्रश्नले मेरो मुटुको दाहिने कुनामा चसक्क घोचेको जस्तो आभाष हुन्छ ।

अब उनको प्रश्नको उत्तर सही दिन सकुँला वा नसकुँला भनेर एकछिन् सोच्न बाध्य हुन्छु । त्यसपछि आ जे सुकै मरोस् है भनेर फोनलाई थपक्कै सिरानी छेउमा राखेर बस्छु । तर उनको प्रश्नको उत्तर दिन पाउँदा नपाउँदै अर्कोपटक टिङलिङ्ग आवाज आएको सुनिन्छ । त्यसपछि म अलिक अटेर गर्न थाल्छु । र, उनको प्रश्नलाई वेवास्ता गर्दै आधुनिक दर्शन शास्त्रका पिता रन डकार्डले मध्यान्हको घाममा गम्लङ्गै सिरक ओढेर मानिसको जीवनको विषयमा सोच्ने गरेझैं म पनि गम्लङ्गै सिरक ओढ्छु र बेलायती किरात राईहरुको विषयमा सोच्न थाल्छु ।

बेलायतमा अहिले लगभग बीस हजार राईहरु बसोबास गरिरहेका छन् । यद्यपि त्यसको पुष्टी गर्ने आधिकारिक तथ्याङ्क अहिलेसम्म कहिँ कतै भेटिदैन् । बेलायती सरकारले आजभन्दा करिब दुई दशक अगाडीदेखि पूर्व गोर्खा सिपाहीहरुको लागि अध्यागमन नीति अलिक खकुलो बनाइ दिएपछि नेपाल छाडेर यतै घरजम गर्न आउनेहरुका संख्या ह्वारह्वार्ती बढिरहेको छ । त्यसैले कोही सुरुको दिनदेखि नै यता आएर घरजम गरिसकेका छन् भने कोही भर्खर भर्खर आउँदै गरेका छन् र यो क्रम क्रमश: चलिरहेकै अवस्था छ । 

हो, ती सबै राईहरुको बेलायतमा एउटा जातिय संस्था छ । जस्लाई अधिकतम मानिसहरुले, “किरात राई यायोख्खा बेलायत” भनेर चिन्ने गर्दछन् ।

सन् २००४ सालदेखि स्थापना गरिएको उक्त्त सङ्गठनको उमेर अहिले ठ्याक्कै २० वर्षको लर्के जवान भएको छ । स्वभावैले २० वर्षे जवान भएपछि जोस बढी र होस अलिक कम हुने गर्दछ । जस्लाई हामीले अन्यथा लिन पनि हुँदैन । जुन सामान्य मानिसमा हुने क्रमिक विकासको सिद्धान्त वा मानवीय प्रकृया नै मान्नु पर्छ । तर कसोकसो अलिक बढी होस गुमेपछि मानिसहरु स्वभावैले झगडालु, निर्दयी, स्वार्थी, लोभी र पापी हुन्छ भनेर माम्सबरीको राक्षस भनेर चिनिने थोमस हब्सले सयकडौँ वर्ष अगाडी आफ्नो पुस्तक “लेभियाथान” मा लेखिसकेका छन् ।

तर कुनै कुनै बेला हब्सको भनाई झैँ हामी पनि आफ्नो उद्देश्य प्राप्तिका लागि अलिक बढी नै स्वार्थी भएका छौं जस्तो लाग्छ । नत्रभने समान उद्देश्य बोकेर हिँडेको र एउटै सङ्गठनको छातामुनी ओत लागेर बसेका मानिसहरुको एक-आपसमा फरक विचार ननिस्कनु पर्ने हो जस्तो लाग्छ ।

जस्तो कि यहाँहरुलाई थाहा छ । किरात राई यायोख्खा बेलायत एउटा विशुद्ध जातिय सङ्गठन वा संस्था हो । देशभन्दा धेरै टाढा परदेशमा रहेको भएता पनि यसको मूलभुत उदेश्य भनेको पनि आफ्नो जातिको भाषा, धर्म, संस्कृति, परम्परा र कलाको संरक्षण वा सम्बर्धन गर्नु नै हो । त्यसको साथै एक आपसमा सामाजिक सदभाव, प्रेम, सहिष्णुता र भाइचारा नै अन्तिम सत्य उदेश्य हो । 

यदि किरात राई यायोख्खा राजनैतिक दलको भात्रृ सङ्गठन हुँदो हो त मानिसहरु सामान्यतय दुई भागमा ध्रुवीकरण हुन्थे । किनभने जर्मनीका प्रख्यात दार्शनिक फ्रेडरिक नित्सेले “राजनीतिज्ञहरुले समाजलाई दुई भागमा ध्रुवीकरण गर्छन् – एउटा समूह मित्र (ट्रुप्स) र अर्को दुश्मन (इनेमी) भनेका छन् ।

हुनत हामी कुनै पनि राजनैतिक दलको भातृ सङ्गठन त हुँदै होइनौं । तर विधिको विडम्वना नै मान्नु पर्छ । अहिले हामी नित्सेले भनेझै दुई भागमा ध्रुवीकरण भएका छौं । अनि भाइभाइमा एउटालाई मित्र र अर्कोलाई शत्रु देख्न थालेका छौं । त्यतिले मात्र कहाँ मान्छौँ र ? एक अर्कामा घमासान वाकयुध्दको दलदलमा फसेका छौं ।

वाकयुध्दको विषयमा म यहाँनेर एउटा सानो उदाहरण प्रस्तुत गर्न चाहें ।

म मेरो जीवन जिउने क्रममा पटकपटक आक्रापोलिस, एथेन्स पुगेको छु । यहाँहरुलाई अवगत भएकै कुरो हो । एथेन्स ग्रीसको राजधानी हो । प्राचिन कालिन समयमा ग्रीकहरुले निक्कै धेरै वाकयुध्द गर्थे । तर उनीहरु प्रत्येक कुरोलाई वादविवाद गरेर अन्तिम टुङ्गोमा पुग्ने गर्दथे र त्यस निर्णयलाई सबैले स्वीकार गर्दथे । कालान्तरमा आएर त्यसलाई दार्शनिक भाषामा वाद (थेसिस) विवाद (एन्टिथेसिस) र संवाद (सिन्थेसिस) भन्न थालियो ।

अझै यसलाई हेगलको भाषा भन्न उपयुक्त हुन्छ होला । किनभने उनले यसको विकसित रुप दिएका थिए । तर हेगेललाई छाडेर मार्क्सले चाहिँ यसको ठीक उल्टो अथवा उनले प्रतिपादन गरेको द्वन्द्ववाद अलिक रहश्यमय प्रकारको छ । उनले पुँजीवादमा पुँजीपतिको जन्म हुन्छ तर त्यसको साथ साथमा सर्वहाराको पनि जन्म भैहाल्छ । त्यसपछि ती दुईको बीचमा मारामार संघर्ष हुन्छ । अन्ततः पुँजीवादको नष्ट हुन्छ र समाजवादको सिर्जना हुन्छ भनेका छन् ।

यी माथि उल्लेख गरिएका राजनैतिक र दार्शनिक विचारहरु हुन् । तर त्यसलाई छाडेर एकछिन बेलायती किरात राईहरुको नै कुरो गरौं ।

जस्तो कि यहाँहरुलाई सर्वविदितै भएको कुरो हो । हामी बेलायतमा बसोबास गरिरहेका राईहरु निश्चय पनि हिजो फरकफरक पृष्ठभूमिबाट यहाँ आएका छौं । तर जो जहाँदेखि आएका भएपनि एउटा कुरो के सत्य हो भने बेलायत संसारको एउटा विकसित राष्ट्र हो । विकसित राष्ट्रमा बस्ने रहर गरेपछि आफू पनि विकसित मानिसहरुसँग घुलमिल हुने प्रयत्न गर्नु पर्छ ।

मैले किन त्यसो भनेको हो भने अरु सबै कुरोलाई छाडेर चार्ल्स डार्विनको प्रकृति छनोटको सिद्धान्त (न्याचुरल सेलेक्सन) लाई नै आधार मान्ने हो भने पनि समय र परिस्थितिअनुसार हरेक प्राणीले आफू परिवर्तन हुँदै जिउनु पर्छ भनेको छ ।  

मलाई जहाँसम्म लाग्छ । हामी निश्चय पनि समयअनुसार परिवर्तन भइसकेको छैनौ । त्यसैले एक आपसमा द्वन्द्वमा छौं । हुनत यसका पछाडि अनेकौ कारणहरु छन् । त्यसकारण हामी मिलिहाल्ने काम त्यति सजिलो भने पटक्कै छैन । किनभने हामी विभिन्न थर र उपथरहरुमा विभाजित छौं । एउटै जाति भएपनि फरक फरक भाषाहरु बोल्छौं । त्यसो भएको हुनाले दुवै समूहको अध्यक्षहरुलाई दिनानुदिन झन् धेरै चुनौतीहरु थपिँदै जाँदैछन् । अन्य सबैकुरो छाडेर चुनौतीको कुरो गर्ने हो भने पनि मलाई बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलको खुब याद आउने गर्छ ।

चर्चिल अहिलेसम्म बेलायती इतिहासमा सर्वाधिक लोकप्रिय राजनेता कहलिन्छन् । उनको जन्मघर (ब्लाइनहाम क्यास्चल) वा दरबार हो । जुन दरबार म बस्ने डेरा नजिकैको गाउँमा पर्छ । बेलायती हिउँदे महिनाको कठाङ्ग्रिने जाडोमा टेस्को सुपर स्टोरमा सेल लागेको सस्तो दुई पात रोटी झोलामा च्यापेर हरेक बिहान कर्तव्य पथमा लम्कँदै गर्दा म तिनै ब्लाइनहाम दरबारको दृश्य देख्ने गर्छु र हरेक दिन म उनको सम्झना गर्दै गर्दै हिँड्छु ।  

ब्लाइनहाम युद्ध कौशल भूमिका निर्वाह गरेवापत चर्चिलको हजुर बा जोन चर्चिलले (ड्यूक अफ मार्लबोरो) उपाधि सहित त्यो दरबार प्राप्त गरेका थिए । बेलायती राजदरबारहरु बाहेकको एउटै मात्र जनताको दरबारमा जन्मेका तिनै प्रधानमन्त्री चर्चिलले दोश्रो विश्वयुद्धको समयमा, “म तपाइँहरुसँग अन्य केही चिज माग्दिन । केवल तपाइँको आँसु, पसिना र रगत मात्र मागि रहेको छु,” भन्दै गरेको बेला यतिका धेरै चुनौतीहरुको सामना कसरी गर्न सक्नु हुन्छ भनेर युवा पत्रकार हेनरी किसिन्जरले सोध्दा उनले सहज रुपले, –

“म पुरानो इतिहास हेरेर नयाँ इतिहासको निर्माण गर्नेछु,” भनेका थिए ।

अब यहाँनेर म दुवै जना अध्यक्षज्यूहरुलाई विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने तपाइँहरुले पनि चर्चिलले भनेको झैं सन् २००४ देखि २०२४ सम्म भएका किरात राईहरुको दु:खद वा सुखद इतिहास केलाएर हेर्नुहोला अनि हरेक चुनौतिको समाना गर्नु होला । आखिर मैले किन त्यसो भनेको हुँ भने तपाइँहरु दुवै समूहको उद्देश्य भनेको हाम्रो पवित्र संस्थाप्रति निस्वार्थ एवम् अगाध स्नेह हुनु नै हो भन्ने मैले बुझेको छु ।  

हुनत अलिकति कुरोको थालनी किसिन्जरदेखि सुरु भइहाल्यो । त्यसैले सबैभन्दा पहिले त्यसैको बिट मार्न प्रयत्न गर्छु । आजभन्दा लगभग सयवर्ष अगाडी जन्मेका र त्यति नै वर्ष बाँचेर गतवर्ष यस धर्तीदेखि सधै सधैको लागि अस्ताएका हेनरी किसिन्जर अति राम्रो अमेरिकन दुत हुन् । यदायदा अमेरिकामा जन्मेका भए उनी सहजै राष्ट्रपति त हुन्थे हुन्थे । तर दुर्भाग्यवस जर्मनीमा जन्मेका हुनाले परराष्ट्र मन्त्रीसम्म मात्र हुन पाए । तैपनि उनले अन्तर्राष्ट्रिय शान्तिको लागि धेरै राम्रा कामहरु गरेका उदाहरणहरु प्रशस्तै छन् ।

उनलाई छाडेर असल नेपाली दुतको कुरो गर्दा मेरो विचारमा ऋषिकेश शाह पहिलो नम्बरमा पर्छन् । संयुक्त राष्ट् संघको स्थायी प्रतिनिधि बनेका शाह दोश्रो महासचिव ड्याग ह्यामरसोल्डको रोडेशियामा जहाज दुर्घटनामा मृत्यु हुँदा तत्कालिन महासचिव उ थान्टले ५ जना छानबिन समितिका सदस्यहरु खडा गरेका थिए । ती ५ जनाको समितिले अध्यक्षको लागि उनै शाहलाई छानेका थिए । संयुक्त्त राष्ट्र संघको महासचिवको हवाई दुर्घटनामा भएको मृत्युको छानबिन समितिको अध्यक्ष नेपालले पाउनु भनेको अहिलेसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले पाएको त्योभन्दा ठूलो जिम्मेवारी कहीँ कतै देखिदैन, भेटिँदैन । 

मैलै उनीहरु जस्तो प्रतिभावान दुतहरुको कुरो गरेपछि निसन्देह उनी पछिको किरात राईहरुको सबैभन्दा वरिष्ठ व्यक्तित्व अथवा कुशल एवम् अनुभवी दुत भनेको जर्मनीका पूर्व राजदुत डा नोबेल किशोर राई नै हुन् भन्ने मलाई लाग्छ । हामी राईहरु एक आपसमा जस्तोसुकै पृष्ठभूमिदेखि आएको भएता पनि र हामी कठिन अवस्थामा हुँदा उहाँको विचारलाई पुन: एकपटक मनन गर्नु पर्छ कि भन्ने लाग्छ ।

हुनत मानिस स्वतन्त्र प्राणी हो । चर्चित फ्रेन्च दार्शनिक रुसोले त्यही भनेका छन् । त्यसैले म पनि स्वतन्त्र नागरिक भएको नाताले यीमाथि लेखिएका हरफहरु मेरो नितान्त व्यक्तिगत विचारहरु हुन् । तर म यहाँनेर एउटा कुरो के निश्चित हुन चाहन्छु भने मेरो विचारहरु सबैलाई मान्य नहुन पनि सक्छ र मान्नै पर्छ भन्ने पनि छैन । अनि यसो भनेवापत मैले उपनामको आशा पनि गरेको छैन ।  

खैर जे सुकै होस् । अहिले बेलायती राईहरुमात्र नभएर रोजिरोटीको खोजीमा संसारको विभिन्न कुनाकुनामा छरिएर रहेका राईहरु साकेलामय भएका छन् । किरात राई यायोख्खा बेलायतको पूर्व अध्यक्ष भएको नाताले एउटा समूहको सचिव ईश्वर चाम्लिङ र अर्को समूहको उपाध्यक्ष सुमनचन्द्र राईले विद्युतीय पत्रमार्फत साकेलामा उपस्थित हुने निमन्त्रणा पठाइसक्नु भएको छ र मैले पाइसकेको पनि छु भन्ने कुरो म यसै लेखमार्फत उहाँहरुलाई जानकारी गराउन चाहन्छु ।  

तर दुवै समूहको निमन्त्रणा पत्रको विषयमा घर सल्लाह हुँदै गर्दा – बाबैनी ! अब तपाइँको उमेर सुमेर पनि ढल्कि सक्यो त्यसैले गाला तीन चाउरी परेर झिङ्गा च्याप्न थालिसक्यो । आ-त्यस्तो झगडासगडा भइरहेको स्थानमा किन जानु हुन्छ है भनेर घरकी मालिक्नीले मलाई मुख खोलेर प्वाक्कै भनिन् । तर प्रश्नको उत्तर दिने क्रममा मैले उनलाई पूर्व अमेरिकन राष्ट्रपति जोन एफ केनेडी छोटो कथा सुनाइ दिएँ ।

एकदिन राष्ट्रपति केनेडी आफ्नो घर बोष्टनदेखि नाशाको कार्यलयमा भ्रमण गर्न गएका थिए । त्यहाँ पुगेर कार्यलयभित्र छिर्ने बितिक्कै एकजना सफाइकर्मीले भुइँमा झाडु पोतिरहेको देख्दा, “तपाइँ ! यहाँ के गरिरहनु भएको छ ?” भनेर प्रश्न सोध्छन् । झाडुवालले प्रतिउत्तरमा, “म मान्छेलाई चन्द्रमामा पठाउन सहयोग गरिरहेको छु” भनेका थिए । त्यस्तै म पनि मेरी अर्धाङ्गिनीलाई “बेलायती किरात राईहरुलाई एक ढिक्का बनाउनको लागि केवल एउटा इँटा थप्नको लागि म दुवै समूहको साकेला जान्छु,” भन्छु ।

आखिर जस्ले जे सुकै भनेता पनि किरात राईहरुको समस्या भनेको हाम्रो घरभित्रको समस्या हो । घरभित्रको समस्या घरभित्र नै मिल्छ र मिलाउनु पनि पर्छ भन्ने अधिकतम राईहरुको चाहना हो । त्यसैले अब हामी सबै राईहरु एउटा अन्तिम निष्कर्षमा पुगौँ र एक आपसमा युद्ध नगरौँ । बरु हामी सबै मिलेर चिनियाँ सैनिक जनरल एवम् पूर्वीय दर्शनशास्त्री सन चुको एउटा पुस्तक पढौँ । किनभने हामी अधिकतम राईहरु पूर्व गोर्खा सैनिक पृष्ठभूमिदेखि आएका छौं ।

जनरल सन चुको पुस्तक युद्धको कला (आर्ट्स अफ वार) ले हामीलाई “नजित्ने लडाइँ नलड्नु” है भन्ने ज्ञान दिन्छ ।  

उनले सिकाएको ज्ञानभन्दा अझ बढी हामीलाई के पनि थाहा छ भने हामी राईभाइहरु एक आपसमा लडेर कसैले विजय हासिल गर्न सक्तैनौं । केवल सबै पराजित हुन्छौं । अनि त्यो पराजय भनेको ह्याङ्गै शरीर बाहिर देखिने ठूल्ठूलो घाऊ होइन । केवल हामी सबैले दिनानुदिन भोगिरहेको मानसिक पीडा हो । जुन पीडाले हामी बिक्षिप्त मुद्रामा त यस्सै छौं छौं । जस्ले गर्दा हामी एकअर्कामा भेट्दा आँखा जुधाएर होइन, भुइँ हेरेर बोल्न बाध्य भएका छौं ।

अन्तमा इसा पूर्व ४ सय ७० जन्मेका र ३ सय ९९ मा बिषालु वनस्पती ह्यामलकको झोल पिएर मृत्युदण्ड पाएका प्राचिन दार्शनिक सुक्रोटिसको एउटा भनाइ राखेर यो लेख अन्त गर्ने अनुमति चाहन्छु । उनले भनेका छन्, “राम्रो मान्छे उपायमा कुरो गर्छ । ठीक्कको मान्छे घटनाको कुरो गर्छ । कमजोरी मान्छे अरुको कुरो काट्छ ।” उनको भनाइलाई शिरोपर गर्दै अहिलेका बेलायती राईहरु कमजोरी छैनन् र अरुको कुरो काट्दैनन् भन्ने मलाई विश्वास लाग्छ ।

अब सबैभन्दा पुछारमा साकेला उभौलीको शुभ-कामना आदान प्रदान गर्न हाम्रो पवित्र हुँदै गरेको स्थल ग्याम्बल लेनमा म स-शरीर उपस्थित हुने नै छु । तर दुवै समूहदेखि वाकदिक लागेर तेश्रो धार खडा गरेर आफ्नो घरमा बसेर रमिता हेरिरहनु भएको बेलायती किरात राईहरु मात्र नभएर टाइमोसान पर्वत हङकङदेखि मिना बजार दुबाइसम्म, हात्तिवन ललितपुरदेखि टुँडिखेल काठमाडौँसम्म, लुभेन बेल्जियमदेखि ज्याक्सन हाइट न्यूयोर्कसम्म पुगेर वाप्पा (भाले) सिली टिप्ने सम्पूर्ण राईहरुलाई यसै लेखमार्फत २०२४ सालको साकेला उभौलीको हार्दिक शुभकामना छ । 

अक्सफोर्डसायर ।

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री