
मानव सेवा आश्रम बेलायत च्याप्टरले यही मे ५ तारिखमा क्याम्बर्लीस्थित लेकसाइड होटलमा आनी छोइङ एकल साँझ प्रस्तुत गर्यो । लामो समयपछि यति धेरै सहभागी बीच सम्पन्न यस कार्यक्रमले विदेशी दर्शकहरुको समेत बाक्लो उपस्थिति हुने गरी अर्को कार्यक्रम आयोजना गर्न तिर्सना जगाएको छ । आनी यदि हेलम्बुतिर मौन ध्यानमा जानुभएन भने यसनिम्ति पहल हुने नै भयो । आनीको नाम र मानव सेवा आश्रम नेपालको कामका आधारमा हाम्रो टिमले गरेको व्यवस्थापकीय दायित्व नै यो कार्यक्रम सफल हुनुको मुख्य आधार थियो । यसमा प्रत्यक्ष रुपमा उपस्थित भएर वा अप्रत्यक्ष रुपमा विविध सहयोग गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण महान आत्माहरु धन्यवादका प्रमुख पात्रहरु हुन् ।
गत अक्टोबरमा पहिलो पटक मानव सेवा आश्रम काठमाडौंमा युके संयोजक सुनिल खड्कासहित पुग्दा संस्थापक रामजी अधिकारीको टिमको स्वागत, सत्कार तथा त्यहाँ बस्नुहुने करिब २०० जनाको चहलपहलले मन आनन्दित भएको थियो । त्यहाँबाट हामी यही कार्यक्रम सम्बन्धी छलफलका लागि आनीजीको बासस्थान पुगेका थियौं । यो नै हाम्रो पहिलो भेटघाट थियो । केही समयको भलाकुसारीमा उहाँद्वारा व्यक्त धारणाले कार्यक्रम सम्पन्न गर्न त्यति सहज र सरल होलाजस्तो लागेको थिएन । तर चुनौती सामना गर्दा झन् अलौकिक अनुभव प्राप्त हुने आशामा अगाडि बढ्यौं ।
आयोजक टिममा रहेका हामी कसैसँग पनि यो परिमाणको कार्यक्रम सञ्चालन गरेको अनुभव थिएन । विभिन्न पृष्ठभूमिका साथीहरु भएकाले सोच्ने र काम गर्ने शैलीमा एकरुपता रहेन तर मुख्य ध्येय सडकमा नारकीय जीवन बिताएका अनि अहिले नेपालको १९ जिल्लाका २४ आश्रमहरुमा रमाइरहेका करिब १७ सय बाआमा, दाजुभाइ, दिदीबहिनी, छोराछोरीहरुको अनुहार सम्झिएर तीन महिनाभन्दा बढी समय अहोरात्र यो काममा लागिरह्यौं । केही भए मे ५ पछि बसेर छलफल गरौंला भनी थाँती राखिएका केही विषयहरु पनि कार्यक्रम सफलतासँगै ओझेलमा परेका छन् । बरु अर्कोपटक कसरी भव्य कार्यक्रम गर्न सकिएला भनेर अहिलेका कमीकमजोरीलाई शिक्षाको रुपमा लिन सकिने आत्मबोध भएको छ ।
पाँच वर्षको उमेरदेखि घरको काममा आमाबाबालाई बाध्यात्मक सहयोग गर्दा पनि दिनहुँजस्तो कुटाइ सहनुपरेको आनीको जीवनकथाका केही भाग पढे पनि उहाँसँगको सामिप्यताले छोटो समयमा कैयन विषय सिक्न पाइयो । नाममात्रको विद्यालय जीवन बिताउनुभएकी आनी आफैंले एउटा विश्वविद्यालय बोकेर हिँड्नुभएको छ । जसले जुन विषय चाह्यो, त्यो सिक्न सक्छ उहाँबाट । १० वर्षको उमेरमा आनी बन्ने पक्कापक्की भए पनि १३ वर्षको उमेरबाट आफूले नयाँ जीवन पाएको तर आमालाई मृगौला दान गर्न नपाएकोमा उहाँ लामो समयसम्म पछुतोमा पर्नुभएछ र एउटा अस्पताल नै निर्माण गर्नतिर लाग्नुभएछ । आफूले पढ्न नपाए पनि ३ सय जनाभन्दा बढीलाई पढाइरहनुभएको छ । आमा बन्ने रहर भएर पनि पूरा गर्न नपाउँदा अनाथ बालकलाई छोरा बनाएर राख्नुभएको छ । त्यसबेला आनीले समाजबाट मात्र हैन नजिककाहरुबाट पनि कैयन अफवाहहरु सुन्न पर्यो । आफैँले बच्चा जन्माएर अरुको भनेको भन्ने प्रचार प्रसार नै भएको थियो । कपाल मुडुलो पारी भिक्षु वस्त्रमा बुद्ध धर्म प्रचारप्रसारतिर लागेको जस्तो देखिए पनि १० वर्षको उमेरमै धर्मको खोजीमा नभई स्वतन्त्रताको खोजीमा हिँडेको र त्यो वातावरण बुद्ध धर्ममा रहेछ भन्ने आनीको बुझाइले मलाई सबभन्दा बढी प्रभाव पारेको छ ।
आनी घरायसी वातावरणको कारण आफूले कहिल्यै पनि विवाह नगर्ने निर्णयमा पुगेकी हुन् । आमाप्रति बाबुको ब्यबहारले गर्दा केटा मान्छेसंग संगत गर्न नपरोस् भन्ने उनको सोचाइ थियो । तर उनी आफ्नो ब्यबहार भने पुरुषको जस्तो थियो भन्ने स्वीकार्छिन् । आफ्नो गुरुको सामिप्यतामा पुगे पछि भने उनले धेरै ब्याबहारिक र सैद्धान्तिक ज्ञान गुणहरु सिकिन् । पाठ पूजा गर्दा गाइने मन्त्रहरु सिक्न थालिन् । उनको स्वरमा अलौकिक लक्षण भएको आभास गुरुलाई भए पछि झन् राम्रो वातावरण निर्माण भयो । विदेशी भक्तालुहरु पनि प्रशस्त आउने भएको अनि उनीहरुमा भएको विविध गुणहरु आनीले सिक्न थालिन् । उनको अंग्रेजी राम्रो हुनुको मुख्य कारण पनि त्यही थियो । त्यसमध्ये स्टिभको गायन क्षेत्रमा भएको दखलका कारण आनीलाई गायिकाको रुपमा देश विदेश जाने वातावरण तयार भयो । उनको आगमन र दिन चर्याबाट केही पुराना आनीहरु त्यति खुशी थिएनन् । उनले आफ्नो पुस्तकमा ती मध्ये एकलाई छच्ुची नामाकरण गरेकी छिन् । तर अहिले भने उनै छुच्ची आनीको कारण आफू अहिलेको आनी बन्न सकेको आत्मबोध गरेकी छिन् । उनले भेटेर माफी समेत मागेको र अर्को संस्करणमा किताबमा उल्लेख गर्ने बताएकी थिइन् । जे हुन्छ त्यो कुनै कारणको लागि त्यो पनि राम्रोको लागि हुन्छ भन्ने उनको बलियो विश्वाश छ । बाबु आमा झगडा नगरी मलाई लाड प्यारले हुर्काएको भए मैले पनि एक दुई छोराछोरी हुर्काएर बस्थेँ होला । गुम्बामा सबैले प्यार गरेको भए अहिलेसम्म त्यहाँ मात्र सीमित हुन्थेँ होला । यसरी संसार घुमेर आफ्नो कला सुनाएर आफूले चाहेको सामाजिक काम गर्न कसरी सम्भव हुन्थ्यो र ? त्यसैले विगतलाई सम्झेर वर्तमानलाई पनि बर्बाद गर्नुभन्दा सबैलाई आफ्नो सम्झेर माया दिन सकियो भने काँडाको आँखामा पनि फूललाई स्वर्ग देख्ने वातावरण बन्छ भन्ने उनको विश्वाश छ । फूलको आँखामा फूलै संसार गीतले संसारमा नै परिचित गायिका आनीले यो गीत गाउँदा काँडाको आँखामा काँडै संसार भन्दै अन्त्यमा हैन काँडाको आँखामा फूलै संसारभन्दा पूरा हल कर्तल तालीले गुञ्जायमान भएको थियो ।

कार्यक्रम प्रचारप्रसारको क्रममा एक जना नामुद कार्यक्रम आयोजकले टिकट ५० पाउण्ड रहेछ, हुन त आनीले कसेर लिएको होलासम्म पनि भन्न बाँकी राखेनन् । मलाई हाम्रो समाजमा हुने, सुन्ने र अनुमान गरिने विषयमा आकाश–पातालका फरक किन हुन्छ होला भनेर धेरैपटक प्रश्न उठाउन मन लाग्छ । त्यसो त अक्टोबरको पहिलो भेटमै उहाँले यदि डेढ–दुई करोड पनि मानव सेवा आश्रमको लागि जम्मा गर्न सक्नुहुन्न भने दुःख नदिनुस् । अन्त कतै कार्यक्रम गरेर त्यति पैसा म आफैंले पनि दिन सक्छु, किन तपाईंहरु दुःख गर्नुहुन्छ भन्नुभएको थियो । ब्याण्डका चार जनालाई सामान्य खर्च भए पुग्छ, हामीलाई त्यस्तो खर्च गर्नुपर्दैन भन्ने उहाँको धारणा थियो । सामान्य कलाकार आउँदा पनि महँगो होटलमा बस्ने रहर हुन्छ तर हामीले उहाँहरु सबैलाई एउटा तीनकोठे घरमा व्यवस्था गरेका थियौं । सबै मिलेर खाना पकाउने, सरसफाइ गर्ने, कति रमाइलो ! गजबको कुरा, एउटा कार्यक्रममा आनीलाई भेटेपछि भारतीय मूलका घरबेटीले जति समयसम्म बसे पनि शुल्क तिर्न नपर्ने भनेका थिए ।
नेपाल फर्किने बेला केही किनमेल गर्नुपर्ने होला भन्दा उहाँलाई मन पर्ने पसल कि सण्डे मार्केट कि त च्यारिटी सप पो रहेछ । त्यहाँ किनमेल गर्दा राम्रो सामान सस्तोमा पाए पनि पैसा भने कुनै संस्थालाई परोपकारी काममा जाने भएकाले मन पर्छ भन्नुभयो । पैसा कमाउनु भनेको श्वास फेर्नु जस्तो हो, कहिलेकाहीँ लामो श्वास रोकेर राख्न खोज्यो भने उकुसमुकुस भएजस्तो कमाएको पैसा जम्मा गरेर राख्ने हैन, आफूभन्दा बढी आवश्यकता भएको ठाउँलाई दिनुपर्छ भन्ने आनीको मान्यता अति मननयोग्य छ । पैसा भनेको करेन्टजस्तो प्रवाह भइरहनुपर्छ, त्यसैले करेन्सी भनिएको हो भन्ने ओशोको प्रवचनमा पनि यही भावना प्रतिविम्बित भएको पाइन्छ ।
एक दशकदेखि सक्रिय मानव सेवा आश्रमले विसं २०८२ सालदेखि कोही पनि सडकमा बास बस्न नपरोस् भन्ने महान् अभियान सञ्चालन गरेको छ । जुन गतिमा यस संस्थाले काम गरिरहेको छ, यसलाई निरन्तरता दिन आवश्यक छ । आनीजस्ता मनकारीहरु यो अभियानमा जोडिनु र जोडिँदै जानु यो अभियान सफल हुनुका कारक हुन् जस्तो लाग्छ । आनी किन यो अभियानमा होमिनुभयो होला भनेर सोध्दा उहाँको जवाफ थियो, ‘सडकबाट उद्धार गरेर ल्याइएका अशक्त र असहायहरुलाई नुहाएर जब सफा गरिदिन्थें, हेर्दा उनीहरु सफा भएजस्तो लाग्थ्यो तर म आफू नै सफा भएको अनुभूति गर्थें । उनीहरुलाई खाना खुवाउँदा म आफैं तृप्त हुन्थें । तिनलाई पानी पिलाउँदा मेरो तिर्खा मेटिन्थ्यो । उनीहरु आनन्दले सुतिरहँदा मलाई निद्रा पुग्थ्यो । यस्तो मानवीय सेवाबाट प्राप्त हुने आनन्द अन्यत्र कहीं, कतै पाइँदैन ।’
हामी पनि सकेसम्म कुनै न कुनै मानवीय काममा संलग्न हुँदै आएका छौं । कोही धेरै, कोही थोरै समय, परिस्थितिअनुसार हुने नै भयो । कमाइको हिस्साका आधारमा भन्ने हो भने सामान्य गुजारा चलाइरहनेहरुले गर्ने सरसहयोगको मूल्य बढी हुन जान्छ । सबैले प्रत्यक्ष रुपमा जिम्मेवारीपूर्वक दायित्वहरु वहन गर्नसक्ने सम्भावना हुँदैन । एक्लोले सारा संसार परिवर्तन गर्न नसकिए पनि कोही कसैको संसार सरल र सहज बनाइदिन भने सकिन्छ । यो समाजले हामीलाई केही दिएको छ । हामी थोरै भाग्यमानीहरु मध्ये नै पर्छौं । हामी जति नपाउनेहरु मात्र हैन, सामान्य गुजारा वा मानिस भएर बाँच्न नपाएकाहरुलाई केही गर्नुपर्छ भन्ने भावना यी र यस्ता कार्यक्रमहरुले जगाइदिने गर्दछन् ।
हामीले प्रचारको बेला नै यो कार्यक्रम बेलुकी ६ बजे नै शुरु हुनेछ भनेका थियौं । प्रायःजसो हाम्रा कार्यक्रम समयमा शुरु नहुँदा अन्त्य पनि ढिलो नै हुने गर्दछ । हामीले ६ देखि ७ बजेसम्म संस्थाको कार्यक्रम ७ देखि साढे ९ बजेसम्म आनीको एकल प्रस्तुति भनेका थियौं । आनीको हातमा ७ बजेर ५ मिनेटमा माइक पर्यो र साढे ९ बजे कार्यक्रम सकियो । अर्को खुशीको कुरा भोलिपल्ट मे ६ को दिन अल्डरसट फुटबल क्लब स्टेडियममा नेपालको राष्ट्रिय टिम र इङल्याण्डको सी समूहको राष्ट्रिय टीमबीच मैत्रीपूर्ण फुटबल खेलको शुरुमा आनीद्वारा राष्ट्रिय गीत गाइएको थियो ।
कार्यक्रम सकेर तीन जना बाद्यबाधकहरु तुरुन्तै नेपाल फर्किए । दुई हप्ता बसेर सबैजना मे १९ मा संगै फर्किने सल्लाह थियो । तर काम सकिएको महशुश गरेर आठ दिन पछाडी आनी र कुन्चोक बहिनी नेपाल फर्किनु भयो । यस बीचमा स्कटल्याण्डसम्म पुग्नु भयो मानवताको यात्रामा उल्लेख्य सहयोग जुटाएर योजना अनुसार सबै फत्ते भयो । नेपालको डाँडाकाँडालाई स्वर्ग ठान्ने आनी लण्डनबाट फर्केर केही दिन पहाडतिर बसेर शहर झरेर नियमित दैनिकीमा फर्केको समाचार सुनियो । यो भेटको अन्त्यमा आनीको जीवनी पर्दामा उतार्न पर्ने र त्यसको नाम ‘भूमो’ (तिब्बती भाषामा छोरी )रहोस् भन्ने मेरो सुझाव वा कामना एक दिन पूरा हुनेछ भन्ने विश्वाश लिएको छु । यो अवसर जुराई दिने प्रत्यक्ष रुपमा रामजी, सुमन र रुपाजी लगायत सिंगो मानव सेवा आश्रम परिवारलाई धन्यवाद दिन चाहन्छु ।

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा