इतिहास बोकेको इथियोपिया

मैले काम गर्ने विद्यालयमा मिनी बस चलाउने तीन जना इथियोपियन ड्राइभरहरु छन्। बेलाबखत रमाइलो कुरा हुने गरेको थियो। एक दिन म नेपालबाट भने पछि हत्तपत्त युट्युब देखाएर नेपालीहरुले हामीलाई खुब मन पराउँदा रहेछन्। यो भिडियो मेरो फेसबुकमा आइरहन्छ भनेर देखायो। हालसाल त्यहाँ हत्या हिंसा चलिरहेको खबर पनि सुनेको थिएँ। सन् २०२० नोभेम्बर ४ मा टिग्रेका विद्रोहीहरूले मेकेला क्षेत्रमा भएको सरकारी सैनिक ब्यारेकमा आक्रमण गरेपछि प्रधानमन्त्री अबी अहमद अलीले टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट विरुद्ध युद्ध घोषणा गरे । अम्हारा मिलिसिया र इरिट्रियन सेनाहरू इथियोपिया सरकारको पक्षमा सामेल भएपछि हिंसा बढ़ेर अहिलेसम्म आठ लाख भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन् । आठ महिना अगाडी टीग्रे क्षेत्रमा संकटकाल घोषणा गरिएको थियो। अहिले त्यहाँ ब्यापक हिंसा जारी छ । जातिय आधारमा नौ प्रदेशमा विभाजित यस देशको केन्द्रिय सत्ता श्रोत र साधन माथि कसले हक जमाउने भन्ने नै मुख्य समस्या हो। ओरोमिया र आमराह क्षेत्रमा पनि स्थानीय मिलिशियाहरूले केन्द्रिय सरकार विरुद्ध हतियार उठाएको लामो समय भैसकेको छ। तर टिग्रेमा लडाई भएपछि भने आमराह समूहले सरकार र ओरोमियाले टिग्रे समूहलाई सहयोग गरेका छन् ।

इथियोपिया संसारको सबैभन्दा पुरानो राष्ट्रहरू मध्ये एक हो। यो देश लगभग ९८० ईसा पूर्व स्थापना भएको थियो। इथियोपियाको नाम ग्रीक शब्द आइथो (म जल्छ) र ओप्स (अनुहार) बाट आएको हो। पुरातन ग्रीकहरूले पूर्वी अफ्रिकाका कालो छाला भएका मानिसहरूलाई जलेको अनुहार भनेर उल्लेख गरे। तर यहाँका मानिसहरु अन्य अफ्रिकी देशका जस्तो निक्खर काला भने छैनन्। अधिकांश मानिसहरु गहुँ गोरो खालका देखिन्छन्।

सन् १९७४ मा इथियोपियामा ३.२ लाख वर्ष पुरानो मानव सभ्यताको पुर्खा जस्तो जीवको अस्थिपन्जर भेटिएको थियो। यसलाई लुसी नामाकरण गरी व्यापक अनुसन्धान गरिएको थियो। लुसी प्राणीशास्त्री परिवार होमिनिडेसँग सम्बन्धित थियो। दुईवटा खुट्टामा सीधा हिड्ने प्राणीबाट नै मानव सभ्यताको विकास भएको प्रमाण थियो त्यो। कफी जन्मेको देशको रुपमा चिनिने यस देशको इतिहासले सन् १९३६ देखि इटालियन तानाशाह मुसोलिनीसँग पाँच वर्ष लडाई गरेबाहेक कहिल्यै पनि कुनै साम्राज्य खेप्नु परेन। त्यसैले इथियोपिया एक मात्र अफ्रिकी राष्ट्र हो जुन औपचारिक रूपमा उपनिवेश बन्न परेन। कफीको उत्पतिको कथा पनि रमाइलो छ। जंगलमा चरिरहेका बाख्राहरुले एक प्रकारको बोट खाए पछि बगाल नै बेचैनी भएको देखे पछि त्यो के रहेछ भनेर गोठालाले चाखेको र मीठो स्वाद भएकोले मानिसले प्रयोग गर्न थालेको थियो भनिन्छ।

यहाँको सभ्यता,संस्कृति,समुदाय, भाषाको विविधताको कारण यो देशलाई जनताको संग्रहालय पनि भनिन्छ। लगभग १२ करोड ८० लाख मानिसहरु बसोबास गर्ने यो देश जनसंख्याको हिसाबले विश्वको १३औ ठूलो देश हो। यहाँ ८० भन्दा बढी विभिन्न भाषाहरू बोल्ने गरिन्छ। आधिकारिक भाषाहरूमा अफार, अम्हारिक, ओरोमो, सोमाली र टिग्रीन्या हुन्। अग्ला हिमालय सिमियन पर्वतहरूदेखि पहाड र समथर जग्गा भएकोले विविध मौसम, अद्वितीय वन्यजन्तु र आश्चर्यजनक परिदृश्यहरू यहाको विशेषता हुन्। इथियोपियाले ११ लाख १२ हजार वर्ग किलोमिटर भूमि क्षेत्र ओगटेको छ। क्षेत्रफलको हिसाबमा यो विश्वको २६ औ ठूलो देश हो । यसको उत्तरमा इरिट्रिया, उत्तरपूर्वमा जिबूटी, दक्षिण पूर्व सोमालिया, दक्षिणमा केन्या, पश्चिममा दक्षिण सुडान र उत्तरपश्चिममा सुडानसँग सिमानाहरू जोडिएको छ। अफ्रिकाका ५४ देश मध्ये १६ वटा देशहरु भूपरिबेष्ठित छन्। तीमध्ये इथियोपिया पनि एक हो।

इथियोपियाले १३ महिनाको क्यालेन्डर प्रयोग गर्दछ। १२ महिना ३० दिनको  हुन्छन् भने अर्को पाँच वा छ दिनलाई एक महिना मानिन्छ । उनीहरूको नयाँ वर्ष इन्कुतातास जहिले पनि सेप्टेम्बर ११ मा नै पर्दछ। यहाको भाषा र लिपि पनि विशेष प्रकारको छ जसलाई गीज भनिन्छ। जुन यहाँ र एरिट्रियामा मात्र प्रयोग गरिन्छ। इथियोपिया हुँदै बग्ने ग्रेट रिफ्ट भ्याली अन्तरिक्षबाट देखिने अफ्रिकाको एक मात्र भौतिक विशेषता हो। यहाँका मानिसहरुले पहिला गधा र ऊँटहरूलाइ घरपालुवा जनावरका रुपमा पाल्दथे।  यहाँ मानव निर्मित रक (ह्युन) हरू अतिनै प्रशिद्ध मानिन्छन् । ठूला ठूला चट्टानलाई खोपेर बनाइएका चर्चहरु मध्ये लालिबेला विश्व प्रशिद्ध छ। यहाका मानिसहरु पाहुना सत्कारमा अतिनै लागि पर्दछन्। एक आपसमा भेट्दा सलाम भनेर हात मिलाउने गर्दछन्। खानाका ब्यन्जनहरु पनि क्षेत्र अनुसार ब्यापक छन्। कसैले कफी खान अनुरोध गर्दा अस्वीकार गर्यो भने असभ्य मानिन्छ। यहाँ बन्ने मह र गेशो नामक झाडीबाट बनाइएको घरेलु वाइन विशेष स्वादको मानिन्छ। गजबको कुरा मैले चिनेका तीन जना ड्राइभरहरुलाई फरक फरक रुपमा तिम्रो देशको सबभन्दा राम्रो एउटा पक्ष के हो भन त् भन्दा तिनै जनाले तुरुन्त त्यहाँको खाना भने। हाम्रो दाल भात भने जस्तो रोटी माथि विभिन्न मासु,साग सब्जी दाल र चटनीको परिकारलाई इन्जेरा भन्ने गरिदो रहेछ। संगै बसेर एकै थालमा हातले खाने र एक अर्कालाई खुवाई दिने चलन छ। एक आपसमा सम्मान गरेको ठानिने यस प्रथालाई गुर्सा भनिन्छ। नेवारी खाना कचिला किमा बनाएर मसलामा मोलेर खाने गरे झैँ गाइको फिलाको मासु विभिन्न ससमा चोपेर खाने गरिन्छ। यसलाई टेरा सिग भनिन्छ।

मानव पुर्खाहरूले औजारहरूको प्रयोग इथियोपियाबाट नै गरेको मानिन्छ। पौराणिक कथा अनुसार करारको सन्दूक इथियोपियाको सेन्ट मेरी अक्समको सियोन चर्चमा राखिएको छ। इथियोपियामा १८ वर्ष नपुगेसम्म कानुनत विवाह गर्न पाइँदैन तर ब्यवहारमा भने केटीहरूको विवाह १८ वर्षअघि नै हुन्छ। अम्हारा क्षेत्रमा विशेषगरी कम उमेरमा विवाह हुने दर उच्च छ। यहाँ औसत दैनिक १८५० क्यालोरी मात्र खपत गर्ने भएकोले इथियोपियालाई सबैभन्दा कम क्यालोरी खपत गर्ने देशहरू मध्ये एक मानिन्छ । त्यसैले पनि यहाका मानिसहरु पातला हुन्छन्। इथियोपियाकी दूरी धावक आबेबे विकिलाले सन् १९६० मा ओलम्पिक म्याराथन र फेरि १९६४ मा खाली खुट्टा दौडँदै दौड जितेर इतिहास रचेकी थिइन् । उनी दुई पटक दौड जित्ने र विश्व कीर्तिमान बनाउने पहिलो व्यक्ति बनेकी छिन्। बेलायत लगायत अन्य देशहरुमा हुने वार्षिक म्याराथुन तथा अन्य दौड प्रतियोगिताहरुमा यस देशका धावकहरुले राम्रो पर्फमेन्स गर्ने गरेका छन् भने क्षेत्रीय रुपमा फुटबल खेलमा पनि सक्रिय छन्।

अफ्रिकन युनियन, अर्गनाइजेशन अफ एडुकेशनल कोअपरेशनको केन्द्रिय कार्यालय तथा अक्सफामको क्षेत्रीय कार्यालय राजधानी आदिस अबाबमा रहेको कारण अन्तर्रास्ट्रिय चहलपहल हुने गरेको छ। सन् १९४६ मा स्थापना गरिएको रास्ट्रिय ध्वजाबाहक जहाजको सेवा र आतिथ्यमा विश्व प्रशिद्ध छ। साना ठूला गरी हाल १३५ वटा जहाज संचालनमा रहेको र अप्रिल १६ मा मात्र दुई ठूला जहाजहरु किन्ने प्रक्रिया थालेको छ । अफ्रिका, एशिया, युरोप तथा अमेरिका गरी १५५ गन्तव्यमा नियमित उडान हुने गर्दछ। देशमा संचालित कम्पनीहरुमध्ये हवाई सेवा एक प्रमुख नाफामूलक कम्पनी बनेको छ। विश्वको गरिब रास्ट्रको रुपमा दरिए पनि इथियोपियाले संसारमा पहिलो पटक ब्याट्रीले चल्नेबाहेक अन्य अटोमोबायल उत्पादनहरु विदेशबाट निर्यात गर्न नपाउने कानुन बनाउने पहिलो र एक मात्र देश बनेका छन्।

सन् २०२१ मा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) र इथियोपियाको सेन्ट्रल स्टाटिस्टिकल एजेन्सी (सीएसए) ले गरेको संयुक्त सर्वेक्षणका अनुसार विगत पांच वर्षमा ८ लाख ३९ हजारभन्दा बढी इथियोपियालीहरू रोजगारी र आर्थिक अवसरहरूको खोजीमा अन्य देशहरूमा बसाइँ सरेका छन्। बसाई सराइको यो प्रवृत्तिले धेरै इथियोपियालीहरूको विदेशमा राम्रो सम्भावना खोज्ने आकांक्षालाई प्रतिबिम्बित गर्दछ। सबभन्दा बढी १५ देखि २८ वर्षका युवाहरु ७८ प्रतिशत कामको लागि बाहिर जाने गरेका छन्। तीमध्ये ३१ प्रतिशत साउदी अरेबिया पुगेका छन् भने अन्य देशहरुमा संयुक्त अरब इमिरेट्स, दक्षिण अफ्रिका, अमेरिका र यमनमा बढी जाने गर्दछन् । यस बिचमा ५१ हजार जति बेपत्ता वा सम्पर्कबिहिन भएका छन्। बेलायतमा लगभग एक लाख इथियोपियन रहेको अनुमान गरिन्छ। तर यहाँको कागजात सजिलोसंग पाउनको धेरैले एरिट्रियाबाट आएको भन्ने गरेका छन्।

इथियोपियासँग बहुमूल्य धातुहरू सुन, प्लेटिनम र तामाको भण्डार छ भने खनिज र औद्योगिक सामग्रीहरु ट्यान्टलम, फस्फोरस, फलाम, नुन, पोटास र सोडा खरानी प्रचुर मात्रामा पाइन्छ । इथियोपियामा नदी नालाहरु प्रशस्त भएको कारण जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । बहुमुल्य रत्न तथा अन्य जवाहरत धेरै नै छन् । त्यस्तै अन्य उर्जामा कोइला पनि पाइन्छ भने यहाँ अफ्रिकाको प्राकृतिक ग्याँसको सबैभन्दा ठूलो भण्डार छ। करिब २० प्रतिशत जमिनमा उत्पादन गरिन्छ भने विशाल चरन क्षेत्रहरू प्रयोग गरेर पशुपालन गरिन्छ। यद्धपि वन क्षेत्र घटेकाले १० देखि १५ प्रतिशत मात्र वन क्षेत्र बाँकी छ । सरकारले सकेसम्म धेरै प्राकृतिक श्रोतलाई प्रयोग गर्न स्थानीय तथा बाह्य निजी ब्यवसायीहरुलाई काम गर्ने इजाजत पत्रहरु सरल ढंगले दिने नीति लिएको छ। विशेषत् यहाँको कफी संसारभर प्रख्यात छ भने मासु, छाला, सिमी, बोडी, भिंडी, ब्रोकौली जस्ता तरकारीहरू, तेलजन्य दानाहरु, फलफूल र रुखका बोटहरु पनि निर्यात गर्ने गरेको छ।

यति धेरै श्रोत साधन भएर पनि यो देश संसारको गरिब रास्ट्रहरु मध्ये नै पर्दछ। यहाँको प्रतिव्यक्ति आय प्रति वर्ष १०२० डलर मात्र छ। तर विगत १५ वर्षमा भने यहाँ वार्षिक करिब १० प्रतिशतले आर्थिक वृद्धि भएको छ। जुन संसारमा नै उच्च दर मानिन्छ। राजनीतिक स्थायित्व र आन्तरिक युद्धबाट बाहिर निस्कन सकियो भने इथियोपियाले छोटो समयमा नै व्यापक सुधार गर्न सकिने आधारहरू भने प्रशस्त नै छन।

दोस्रो शताब्दीमा एक स्वतन्त्र राज्य र एक क्षेत्रीय व्यापार केन्द्र बनेको इथियोपियामा चौथो शताब्दीदेखि ईसाई धर्म राज्य बनेको थियो। सन् १५३० र ३१ तिर मुस्लिम नेता अहमद ग्रानले इथियोपियाको धेरैजसो भूभाग कब्जा गरे। १८१८-६८ सम्म लिज कासाले अम्हारा, गोज्जम, टिग्रे र शोआलाई जित्यो। १८५५ मा टेवोड्रोस द्वितीय कासा सम्राट बने। उनले सन् १८६८ मा ब्रिटिश शेनाद्वारा पराजित भएपछि नजरबन्दबाट बच्नको लागि  आत्महत्या गरे । १८७२ मा टिग्रेयन प्रमुख योहानेस पाँचौ बने। सन् १८८९ मा मुस्लिम सेनाहरु संगको लडाइमा योहानेस चतुर्थको मृत्यु भएपछि मेनेलिक द्वितीय राजा भए। उनले सोही वर्ष इटालीसँग मित्रता सन्धिमा हस्ताक्षर गरे। इटालीले यसलाई संरक्षकको रूपमा व्याख्या गर्दछ तर इथियोपियाले भने यो व्याख्यालाई अस्वीकार गर्दछ। सन् १८८९ मा एडिस अबाबा इथियोपियाको राजधानी घोषणा भयो। सन् १८९५ मा इटालीले फेरि  इथियोपियामा आक्रमण गर्‍यो तर यसको सेनाहरू अर्को वर्ष अडवामा पराजित भयो। इटालीले इथियोपियाको स्वतन्त्रतालाई मान्यता दियो तर इरिट्रियामाथि भने आफ्नो नियन्त्रण कायम राख्यो। १९१३ मा मेनेलिकको मृत्यु भए पछि उनको नाति लिज इयासुले शासन चलाए । उनलाई सन् १९१६ मा नै अपदस्त गरी मेनेलिककी छोरी जावडितुले शक्ति हातमा लिइन् । सन् १९३० मा उनको मृत्यु भएपछि हेले सेलासी सत्तामा आए। सन् १९३५ मा फेरि पनि इटालीले आक्रमण गरेकोले अर्को वर्ष सेलासी भाग्न बाध्य भए।

सन् १९४१मा  ब्रिटिश र राष्ट्रमंडल सेनाहरूको सहयोगमा इथियोपियाको प्रतिरोधमा इटालियनहरूलाई हराए पछि हेले सेलासीलाई निर्वासनबाट पुनर्स्थापित गराए। इटालियनहरुले छाडे पछि संयुक्त राष्ट्र संघको मध्यस्थतामा इरिट्रियालाई स्वशाषित राज्य हुने गरी इथियोपियाले हेर्ने ब्यवस्था मिलायो। तर त्यसको दश वर्ष पछि हेले सेलासीले इरिट्रियालाई केवल आफ्नो प्रान्तको रुपमा परिणत गर्यो। त्यससंगै स्थानिय रुपमा अशान्तिको बिरुवा रोपिएको थियो। सन् १९६३ मा अफ्रिकी एकता संगठनको पहिलो सम्मेलन राजधानी अदिस अबाबामा आयोजित भयो। सन् १९७३ र ७४ मा वाल्लो प्रान्तमा अनिकालको परिणामस्वरूप अनुमानित दुई लाख मानिसहरूको मृत्यु भयो। असन्तुष्टिले सीमा नाघेको कारण सैन्य विद्रोहद्वारा राजा हेइल सेलासीलाई गिरफ्तार गरियो र लामो समय देखिको राजतन्त्र आधिकारिक रुपमा समाप्त भयो। अर्को वर्ष उनको जेलमा नै मृत्यु भयो। १९७७ मा कर्नल मेन्गिस्टु हेले मरियम डर्ग प्रो सोभियत सैन्य शासनको नेताको रूपमा देखा पर्‍यो। उनले दुई वर्षभित्र हजारौं सरकार विरोधीहरूलाई मारे। कृषिको सामूहिकीकरण सुरु गरे। यसलाई कम्युनिष्ट शासनको रुपमा व्याख्या गरेर रेड टेरर भनियो। यही बिचमा टिग्रेरीयन जनमुक्ति मोर्चाले क्षेत्रीय स्वायत्तताका लागि युद्ध सुरु गरेको थियो। सन् १९७७ मा नै सोमालियाले इथियोपियाको ओगाडेन क्षेत्रमा आक्रमण गर्‍यो तर सोभियत संघ र क्युबाको ठूलो सहयोग पाएको कारण सोमालियाको पराजय भयो। सन् १९८४ र ८५ मा फेरि अर्को डरलाग्दो अनिकाल व्यहोर्न पर्यो। लाखौँ मानिसहरुलाई इरिट्रिया र टिग्रेबाट जबरजस्ती पुनर्वास गरियो। सन् १९८७ मा नयाँ संविधान जारि गरेपछि भएको निर्वाचनमा कर्नल मेन्गिस्टु राष्ट्रपति निर्वाचित भए।

सन् १९९१मा इथियोपियाको पिपुल्स रिभोलुसनरी डेमोक्रेटिक फ्रन्टले अदिस अबाबालाई कब्जा गर्‍यो र राष्ट्रपति मेन्गिस्टुलाई देश छोड्न बाध्य तुल्यायो। सन् १९९३ मा जनमत संग्रहपछि इरिट्रिया स्वतन्त्र भयो । सन् १९९४ नयाँ संविधानले इथियोपियालाई जातीय आधारमा क्षेत्रहरूमा विभाजन गर्यो। सन् १९९५ मा मेलेस जेनावीले प्रधानमन्त्रीको पद ग्रहण गरे। सन् १९९९ देखि इथियोपिया र इरिट्रियन बीच सीमामा किचलो भयो र त्यसले युद्धको रुप लिएर ठूलो धनजनको क्षति भयो। अन्तत सन् २०१८ मा शान्ति सम्झ्यौता भयो।

यस बिचमा सन् २००४ मार्चमा बीस लाखभन्दा बढी मानिसलाई सुख्खा, अनिकाल लागेका तथा कम उब्जनी हुने उच्च भूमिहरूबाट टाढा सार्न पुनर्वास कार्यक्रम शुरुवात भयो। सन् १९३७ को लडाइँमा इटालीले लुटेको एक्सम ओबिलिस्कको पहिलो खण्ड रोमबाट इथियोपिया फर्कायो। सन् २००६ को नोभेम्बरमा इथियोपियाली सेनाहरू देशको ठूलो भाग नियन्त्रणमा रहेका अलशबाब इस्लामवादीहरूलाई हटाउन सोमालियामा प्रवेश गरे। सोही वर्ष डिसेम्बरमा निर्वासित पूर्व तानाशाह मेन्गिस्टु हेले मरियमलाई १२ वर्षको कानुनी कार्यबाहीको अन्त्यमा उनको अनुपस्थितिमा नरसंहारको दोषी ठहराइयो र मृत्युदण्डको सजाय सुनाइयो। अगस्ट २०१२ प्रधानमन्त्री मेलेस जेनावीको मृत्यु भएकोले सेप्टेम्बरमा परराष्ट्र मन्त्री हेलेमारियम देसालेनलाई उत्तराधिकारी बनाएका थिए।

सन् २०१६को अक्टोबरदेखि महिनौंसम्म चलेको हिंसात्मक सरकार विरोधी प्रदर्शन पछि सरकारले संकटकालको घोषणा गर्‍यो। तर सरकार विरोधी प्रदर्शन जारी रहँदा प्रधानमन्त्री देसालेनले सन् २०१८ को फेब्रुवरीमा राजीनामा दिए। उनी नै त्यहाँको इतिहासमा पहिलो स्वेच्छाले राजिनामा दिने प्रधानमन्त्री हुन्। अरु सब कि त मृत्यु कि त पदच्युत भएका छन्। अप्रिलमा निर्वाचन भए पछि प्रधानमन्त्री बनेका मोहमद अलिले स्वदेशमा राजनीतिक सुधार र विदेशमा कूटनीतिक सेतु निर्माणको बृहत् कार्यक्रम सुरु गरेका थिए । मेरजुनमा सरकारले हजारौं राजनीतिक बन्दीहरूलाई रिहा गर्यो र आपतकालिन अवस्था हटायो। इथियोपिया विवादित क्षेत्र खाली गर्न सहमत भएपछि जुलाइमा इथियोपिया र इरिट्रियाले आफ्नो युद्ध समाप्त भएको घोषणा गरे। अक्टोबरमा सरकारले ३४ वर्षको सशस्त्र विद्रोहको अन्त्य गर्दै पृथकतावादी ओगाडेन नेशनल लिबरेशन फ्रन्टसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्‍यो।

संसदले इथियोपियाको दोश्रो पटक महिला राष्ट्रपति साहले वर्क जेउडेलाई निर्वाचित गर्यो । सन् २०१९ को जुनमा सेना प्रमुख सेरे मेकोनेन र अम्हारा राज्यका गभर्नर अम्बाचेउ मेकोनेन संघीय सरकार विरुद्धको असफल कूको प्रयास गरे। फलस्वरूप उनीहरु मारिए। कोभिडको कारण सन् २०२० नोभेम्बरमा हुने भनिएको निर्वाचन हुन सकेन तर टिग्रे क्षेत्रले भने आफ्नो छुट्टै निर्वाचन गराए जसलाई केन्द्र सरकारले मान्यता दिएन र असंवैधानिक घोषणा गर्यो। त्यहाँ संनिक पठाएपछि तनाव बढ्यो र हिंसा भड्किएको थियो। युद्ध तथा अनिकालको कारण विगत पचास वर्षमा करिब तीस लाख मानिसहरुले ज्यान गुमाउन परेको विश्वको इतिहासमा दुई विश्व युद्धबाहेक यो नै सबभन्दा ठूलो क्षति हुनु पर्दछ। यो क्रम अझ रोकिएको छैन झन् नयाँ ढंगले शुरुवात हुनसक्ने देखिएको छ।

विपक्षी दल ओरोमो लिबरेशन फ्रन्ट (ओएलएफ)का वरिष्ठ नेता तथा सरकारका कटु आलोचक ४१ वर्षीया बेट अराजसा इथियोपियाको अशान्त ओरोमिया क्षेत्रको मेकीमा रहेको उनको गृहनगरको सडक छेउमा गत अप्रिल १० गते उनको शव फेला परेको थियो। परिवार तथा समर्थकहरुले यसलाई सरकारको नै मुख्य हात रहेको अड्कल काटेका थिए। तर केही दिन पछि यस घटनामा संग्लग्न भएको आरोपमा १३ जना पक्राउ गरिएको थियो।

इथियोपियाको टिग्रे र अम्हारा क्षेत्रको सिमानामा रहेको विवादित भूमिलाई लिएर भएको लडाइँका कारण करिब २९ हजार मानिस विस्थापित भएको  तथा केही परिवारले नजिकैको कोबो र सेकोटाको अम्हारा जिल्लामा खुला स्थानमा आश्रय लिइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले त्यहाँको नागरिकहरुको जीवन रक्षाका लागि सहयोगको तत्काल आवश्यकता रहेको बताइएको छ। यसैबीच अमेरिका र बेलायतसहित सात वटा पश्चिमा मुलुकका दूतावासले संयुक्त विज्ञप्ति जारी गरी हिंसाप्रति चिन्ता व्यक्त गर्दै त्यहाँको तनाव कम गर्न आह्वान गरिरहेका छन्।

इथियोपियन पिपुल्स रिभोल्स्नरि डेमोक्र्याटिक फ्रन्टबाट तेश्रो पटक सन् २०१८ को निर्वाचनपछि नयाँ आशासहित प्रधानमन्त्री बनेका एबी अहमद अलिले छिमेकी रास्ट्र एरिट्रियासंगको सम्बन्धलाई सुधार गरेकोमा सन् २०१९ मा नोबेल शान्ति पुरस्कार पाएका थिए। ओरोमो जातिका पहिलो प्रधानमन्त्री बन्न सफल अलिले सन् २०१९ देखि  प्रोस्पेरिटी पार्टी स्थापना गरी नेतृत्व गरिरहेका छन् । आउँदो दिनमा उनले के कसरी इथियोपियालाई नेतृत्व प्रदान गर्ने हो त्यो भने निकै चुनौतीपूर्ण देखिन्छ। लामो समयसम्म आन्तरिक समस्यामा जकडिएको देशमा बाह्य शक्तिहरुको स्वार्थको कारण पनि झन् बढी समस्या थपिने ज्वलन्त उदारहण इथियोपिया बनेको छ। त्यति लामो र सम्पन्न इतिहास बोकेको अनि भरपूर प्राकृतिक श्रोत तथा प्रशस्त नागरिकहरु भएको देशलाई सही नेतृत्व दिन सकिएन र सदैव यो वा त्यो नाममा विद्रोह या युद्ध भै राख्दा संसारकै बिपन्न देशको सूचीमा सूचीकृत हुनु अवश्य पनि सुखद विषय हैन। इतिहासको कालखण्डमा घटेका घटनाहरुलाई सदैव गिजोलिरहँदा कल्पना गरेभन्दा धेरै धनजनको क्षति पुग्न सक्ने शिक्षा अन्य देशहरुले पनि सिक्न जरुरी छ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री