
काठमाडौँ । युद्ध साहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड सार्वजनिक भएको छ । ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त साहित्यकार राईको उक्त कृति हालै राजधानीमा आयोजित एक समारोहमा कृतिकार राईसहित कवि श्रवण मुकारुङ, कवि शशी लुमुम्बू, सङ्गीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन श्रेष्ठ, उपप्राध्यापक टेकनाथ दाहाल, संस्कृति संरक्षण समाज, नेपालका अध्यक्ष सास अधिकारी (ठण्डबहादुर अधिकारी)द्वारा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै श्रवण मुकारुङले डायास्पोरामा बसेर लेखिरहेका साहित्यकारहरूमध्ये आफूले गणेश राईलाई अब्बल साहित्यकारका रूपमा पाएको बताए । उनले भने, “डायास्पोराबाट धेरै साहित्यकारहरूले लेखिरहेका छन् तर उहाँले जस्तो अब्बल कृतिचाहिँ अरुबाट लेखिएको मैले पढेको छैन । यस कुराको पुष्टि आज सार्वजनिक भएको कृतिले पनि गर्दछ ।”
शशी लुमुम्बूले नेपाली साहित्यमा युद्धसाहित्यसम्बन्धी उत्कृष्ट कृतिहरू लेखेर गणेश राई युद्धसाहित्यकार रूपमा स्थापित भएको उल्लेख गर्दै राईका अन्य कृतिजस्तै यो कृति पनि युद्धसम्बन्धी नै भएको बताए । उनले भने, “यसलाई युद्ध अनुभव, युद्ध अनुभूति वा युद्ध स्मरणात्मक उपन्यास पनि भन्न सकिन्छ ।”
टेकनाथ दाहालले कृति पढिरहँदा पाठकले आफैँ पनि युद्धमा सामेल भइरहेको अनुभूति दिने उल्लेख गर्दै युद्ध साहित्यमाथि लेखिएको यति बेजोडको किताब आफूले पहिलो पटक पढ्न पाएको बताए ।
कृतिकार राईले रहरै रहरमा पहिलो किताब लेखेको स्मरण गर्दै तर पछि गएर आफूजस्तै सैन्य तथा गैरसैन्य लेखक/साहित्यकारहरूसँगको सङ्गत र सहकार्यले आफूलाई साँच्चिकै लेखनको लत लागेको अनुभव सुनाए । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका पूर्वअध्यक्षसमेत रहेका राईको उक्त पुस्तक रत्न पुस्तक भण्डार, काठमाडौँले प्रकाशन गरेको हो ।
राई यसअघि राइफलको नालबाट जीवन नियाल्दा (संस्मरणात्मक उपन्यास, २०६२), राइफलले फलाकेको जिन्दगी (कवितासंग्रह, २०६३), युद्ध एम्बुसमा राइफलको संगीत (युद्ध उपन्यास, सन् २००९), राइफलको मुर्रच्छना (युद्ध उपन्यास, २०६८), फोकल्यान्ड जर्नल (युद्ध अनुभव, सन् २०१६), युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरू (संयुक्त लेखन, सन् २०१४), अमेरिका डायरी (नियात्रा, २०७९) र गोर्खा गन्स (सन् २०२०) प्रकाशित छन् ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी