हरि बुढामगरले पाए गिनिज वर्ल्ड रेकर्ड प्रमाणपत्र

लण्डन । बेलायत निवासी पूर्व गोरखा सैनिक हरि बुढामगरले गिनिज वर्ल्ड रेकर्ड प्रमाण पत्र पाएका छन् ।

उनले बुधबार लण्डनस्थित गिनिज वर्ल्ड रेकर्डको मुख्य कार्यालयबाट सो प्रमाण पत्र प्राप्त गरेको सामाजिक सन्जालमा जानकारी दिएका छन् । उनलाई सो प्रमाणपत्र अर्का गिनिज वर्ल्ड रेकर्डबाहक प्रीत चन्डीले हस्तान्तरण गरेका थिए ।

बुढामगरलाई घुँडाभन्दामाथि गोडा गुमाएका व्यक्तिहरुमा सबैभन्दा पहिले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा दिइएको हो । बुढामगरले गत वर्ष मे १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।

आफूले विभिन्न विधामा १० वटा विश्व रेकर्ड कायम गरेको भए पनि एउटा मात्र दाबी गरेको र सो ऐतिहासिक प्रमाणपत्र घरमा राख्दा शोभायमान हुने पनि बुढामगरले बताएका छन् ।

उनले सो प्रमाण पत्रका लागि आफ्नो कन्क्वेरिङ ड्रिम्स एभरेष्ट एक्सपीडिसन यात्रामा सघाउने सबैलाई हकदार मानेका छन् । यो यात्रा सजिलो नभए पनि नत्यागेको र सबैको सहयोगले सफल भएको र सँगै इतिहास निर्माण गर्न सकिएको उनले बताएका छन् ।

रोल्पामा जन्मिएका बुढामगरले बेलायती सैनिकमा कार्यरत रहँदा अफगानिस्तानमा विस्फोटमा परी घुँडाभन्दा माथि दुवै गोडा गुमाउनु परेको थियो ।

बुढामगर अहिले अपाङ्गता भएका मानिसहरुमाथिको समाजको दृष्टिकोण परिवर्तन लगायतका सामाजिक सेवामा सक्रिय छन् ।    

प्रतिक्रिया

सम्बन्धित सामाग्री