हाइटीको हालत

इक्वेडरमा दुई महिनाको आपतकाल घोषणा सकिनुभन्दा केही दिन अगाडी दक्षिण अमेरिकाको अर्को देश हाइटीले पनि ठूलो संकट व्यहोर्न परेको छ। यही मार्च ३ तारिखमा सशस्त्र समूहले त्यहाँको मुख्य कारागारमा आक्रमण गरी हजारौँ बन्दीहरु मुक्त गरेका थिए। सशस्त्र हतियारधारी समूहले देशभरि नै लुटपाट, ज्यान मार्ने घटनाहरु चर्काएका छन्। राजधानी पोर्ट ओ प्रिन्सका रणनीतिक स्थानहरूलाई निशाना बनाइएको छ। मार्च ५ मा त्यहाँको मुख्य एयरपोर्टसमेत कब्जामा लिइएको थियो। वर्षौंदेखिको राजनीतिक खिचातानी तथा पटक पटकका भयानक प्राकृतिक प्रकोपहरुले थिल्थिलो पारेको यो देशमा विभिन्न प्रकारका गिरोहहरु बेला बेलामा अस्तित्वमा आउने गरेका छन्। अहिले प्रधानमन्त्री एरियल हेनरीको तत्काल राजीनामाको माग गर्दै यदि त्यसो नभएमा गृह युद्ध चर्कने चेतावनीसहित जिम्मी चेरिजले यो विद्रोहको नेतृत्व गरेका छन्। उनी एक पूर्व प्रहरी अफिसर हुन्। चेरिजले आफूलाई बार्बक्यु भन्न रुचाउँछन्।

सन् २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्याको हत्यापछि थप समस्या व्यहोरिरहेको हाइटीले अहिले सन् २०१० को विनाशकारी भूकम्पपछिको सबैभन्दा ठूलो मानवीय संकटसँग जुधिरहेको छ। राजधानीका ८० प्रतिशतभन्दा बढी भूभागहरु विद्रोहीहरुको पकडमा छन्। नेसनल प्यालेस र गृह मन्त्रालयको केही भागमा पेट्रोल बम प्रहार गरिएको थियो। अमेरिकी सेनाले दूतावासको सुरक्षा बढाउन र अत्यावश्यक बाहेकका कर्मचारीलाई एयरलिफ्ट गरेर स्वदेश फर्काएका छन्। जर्मनीका राजदूत र केही इयू कूटनीतिज्ञहरु पनि देश छोडेर भागेका छन्। स्टेट युनिभर्सिटी अफ हाइटी अस्पतालले गम्भीर अवस्थाको सामना गरिरहेको छ। बिरामीहरू उपचारको लागि पर्खिरहेका तर आवश्यक औषधि र उपचार गर्ने डाक्टर, नर्सहरु नै छैनन्। लाशहरु सडेर गन्हाएका छन्। केही दिनसम्म विमान अवतरण गर्न नसकेको कारण आफ्नो शक्ति र सत्ता कायम राख्न सहयोग बटुल्न केन्या पुगेका प्रधानमन्त्री देश फर्कन सकिरहेका थिएनन्। उनी कहाँ छन् भन्ने पनि गोप्य राखिएको थियो। सम्भवत गत मंगलबार उनी अप्रत्याशित रुपमा स्वदेश फर्केका थिए।  

१० हजार ७१४ वर्ग माइल (२७ हजार ७५० वर्ग किलोमिटर) भूभागमा फैलिएको हाइटी क्यारिबियन क्षेत्रको तेस्रो ठूलो देश हो। करिब १ करोड १५ लाख जनसंख्या भएको यो राज्य सन् १८०४ मा फ्रान्सको उपनिवेशबाट मुक्त भएपछि अमेरिका पछाडी स्वतन्त्र भएको दोश्रो देश बनेको थियो। विविध ऐतिहासिक महत्वको बावजुद हाइटीले आर्थिक, राजनीतिक र सामाजिक चुनौतीहरूको सामना गरिरहेको छ। सन् १४९२ मा क्रिस्टोफर कोलम्बस यस टापुमा अवतरण गरे र यसको नाम हिस्पानिओला राखे। उनको सम्झनास्वरुप कोलम्बसको एक स्मारक हाइटीको राजधानी पोर्ट औ प्रिन्समा अवस्थित छ। राजधानीमा मात्र देशको २०५ जनसंख्या बसोबास गर्दछन्। स्वतन्त्र भए पछि सन् १९१५ सम्म यहाँ विभिन्न ७० तानाशाहहरुले शासन गरेका थिए। त्यसपछि ३८ जनाले देशको नेतृत्व गरेको देखिन्छ। हाइटीको इतिहासमा राज्य प्रमुखको रुपमा लामो समय सन् १९५७ देखि ८६ सम्म बाबु छोराले फ्रान्सकोइस डुवालियर र जीन क्लाउड डुवेलियर क्रमश १३ वर्ष १८१ दिन र १४ वर्ष २९२ दिन शासन गरेका थिए। यहाँको राज्य प्रमुखहरु निकै थोरैले मात्र अलि लामो समय शासन गरेको देखिन्छ। अधिकांशले केही दिनदेखि एक वर्षभन्दा कम शासन गरेको देखिन्छ। अहिले सम्मको इतिहासमा त्यहाँ कुनै महिला राज्य प्रमुख बनेका छैनन्। तर एर्था पास्कल ट्रोइलोटले सन् १९९० र ९१ मा ११ महिना निमित्त राष्ट्रपतिको रूपमा सेवा गरेकी थिइन् । उनी हाइटीको इतिहासमा उक्त पद सम्हाल्ने पहिलो महिला र अमेरिकामा अफ्रिकी मूलकी पहिलो महिला राष्ट्रपति थिइन्।

हाइटीको राष्ट्रिय फुटबल टोली जसलाई ‘लेस ग्रेनेडियर्स’ पनि भनिन्छ यस क्षेत्रमा एक उत्कृस्ट टिम हो। फिफा विश्वकपमा छनोट हुने यो दोस्रो क्यारेबियन टोली हो। सन् १९७४ मा हाइटीले विश्वकपमा यस क्षेत्रबाट आफ्नो एकमात्र उपस्थिति जनाएको थियो। समूह चरणमा इटाली, पोल्याण्ड र अर्जेन्टिनासँग प्रतिस्पर्धा गरेको थियो। फुटबलको अलावा हाइटीले पौडी खेलमा पनि उल्लेख्य प्रगति गरेको देखिन्छ।

हाइटीले संसारकै ठूलो प्राकृतिक विपत्ति सन् २०१० मा राजधानी पोर्ट ओ प्रिन्स र यसको व्यापक क्षेत्रमा ७ म्याग्निच्यूडको विनाशकारी भूकम्प सहनु परेको थियो। भूकम्पबाट करिब ३० लाख मानिस प्रभावित भएको अनुमान गरिएको थियो । हाइटी सरकारले २ लाख ३० हजार मानिसहरूको मृत्यु भएको र लगभग ३ लाख नागरिकहरु घाइते भएको रिपोर्ट गरेको थियो। लगभग १० लाख मानिसहरू घरबारविहीन भएका थिए। करिब २ लाख ५० हजार आबास र ३० हजार जति व्यापारिक भवनहरू भत्किएका वा गम्भीर क्षति भएका थिए। विभिन्न रास्ट्रहरुको बेग्लाबेग्लै सहयोगको अलावा रास्ट्र संघले पनि अन्तर्रास्ट्रिय मिशन पनि पठाएको थियो। यसले पुन: निर्माणसहित त्यहाँको राजनीतिक स्थायित्वको लागि पनि सन् २०१७ को अन्त्यसम्म बसेको थियो। भूकम्पको लगत्तै कोलेराको माहामारीले पनि ठूलो क्षति पुर्याएको थियो भने सन् २०१६ आएको म्याथ्यु तुफानले झन् ठूलो समस्या थपेको थियो। मुसलधारे वर्षा, ठूलो आँधीबेहरी र १४५ माइल प्रतिघण्टाको वेगमा आएको हावाहुरीले व्यापक धनजनको विनाश भएको थियो।

सन् २०२० देखि हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा दुई ठूला आपराधिक समूहबीच गिरोहयुद्ध चलि रहेको थियो। मुख्यत जी ९ र जी पेप नामधारी दुई समूहको बोलवाला देखिन्छ। यिनीहरु आपसमा लडे पनि सरकारी सेना प्रहरीहरुसँग भने सामूहिक रुपमा मुकाबिला गर्दछन्। हाइटी सरकार र हाइटीका सुरक्षा बलहरूले नियन्त्रण कायम राख्न संघर्ष प्रयास गरिरहेका छन् तर गिरोहहरूले सन् २०२३ सम्ममा शहरको ९० प्रतिशत भूभाग नियन्त्रणमा राखिसकेका थिए। यसको प्रत्युत्तरमा बावा काले (फ्रेन्च बोइस कालेबाट जसको अर्थ डोर स्टप हो) नामक एक सशस्त्र सतर्कता आन्दोलन गिरोहहरूसँग लड्नको लागि देखा पर्यो। सन् २०२३ को अक्टोबरमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले केन्याको नेतृत्वमा रहेको बहुर्राष्ट्रिय सुरक्षा सहायता मिसनलाई हाइटीमा सुरक्षाको लागि खट्ने अनुमति दिएको थियो । मार्च महिनाको पहिलो हप्तादेखि सरकार र ती समूह बीचको संघर्ष उत्कर्षमा पुगेको छ र सरकारले आपतकाल घोषणा गरी कर्फ्यु लागू गरेको छ।

हाइटीका ४३ औं राष्ट्रपति जोभेनेल मोइसेको जुलाई ७, २०२१ मा पोर्ट ओ प्रिन्सस्थित निवासमा बिहान १ बजे हत्या गरिएको थियो। यो हत्या २८ विदेशी भाडाका सैनिकहरूको एक समूहले गरेको थियो। तीमध्ये मुख्यतया कोलम्बियालीहरू थिए। उक्त आक्रमणको क्रममा प्रथम महिला मार्टिने मोइसलाई पनि धेरै ठाउँमा गोली लागेको थियो। उनलाई आपतकालीन उपचारका लागि अमेरिका लगिएको थियो। सोही दिन दिमित्री हेरार्डको नेतृत्वमा रहेको युएसजीपीएन (एलुयुनिटे डे सेक्युरिटे जेनेराले डु पलाइस नेसनल)ले तीन जना संदिग्ध हत्याराको हत्या गरेको थियो र थप २० जनालाई गिरफ्तार गरेको थियो। अन्य बन्दुकधारी र आक्रमणका मुख्य योजनाकारको खोजी सुरु गरिएको छ । त्यसको लगत्तै हाइटीका मुख्य अभियोजक बेडफोर्ड क्लाउडले मोइसका उच्च अंगरक्षकसँग सोधपुछ गर्ने योजना रहेको पुष्टि गरेका थिए। आक्रमणमा राष्ट्रपतिका कुनै पनि सुरक्षा गार्डको मृत्यु वा घाइते भएका थिएनन्। अमेरिकी अधिकारीहरूले पनि हत्यामा षड्यन्त्र रचेको आरोपमा ११ जनालाई पक्राउ गरेका थिए। यस घटनामा संग्लग्न भएको आरोप स्वर्गीय राष्ट्रपतिका श्रीमती मार्टिन मोइस र तत्काल राष्ट्रपतिका उत्तराधिकारी बनेका क्लाउड जोसेफलाई समेत ५१ जनालाई यही फेब्रुवरी १९ मा मुद्दा चलाइएको छ। क्लाउड जोसेफले ४ मार्च २०२० देखि २४ नोभेम्बर २०२१ सम्म विदेश मन्त्रीको रूपमा काम गरेका थिए। १४ अप्रिल २०२१ देखि २० जुलाई २०२१ सम्म हाइटीको कार्यवाहक प्रधानमन्त्री र ७ जुलाई २०२१ देखि २० जुलाई २०२१ सम्म हाइटीको कार्यवाहक राष्ट्रपतिको रूपमा काम गरेका थिए।

हाइटीमा गैरराज्य सशस्त्र समूहहरूको जरा डुवालियर शासनबाट सुरु भएको थियो। सन् १९५० को दशकमा राष्ट्रपति फ्रान्कोइस डुभालियरले कुख्यात टन्टन म्याकाउट अर्धसैनिक बलको स्थापना गरेका थिए। तिनीहरूको भूमिका हिंसात्मक रूपमा विद्रोहीहरूलाई दबाउने र सत्तामा तानाशाहीको पकड कायम राख्ने थियो। सन् १९८६ मा ज्याँ क्लाउड डुभालियर (फ्रान्कोइसका छोरा)लाई हटाएर तानाशाहीको अन्त्य भएपछि पनि गैरराज्य हिंसा कायम रह्यो। टोन्टन म्याकाउटे विघटन भयो तर कहिल्यै निःशस्त्र भएन र बेलाबखत अति दक्षिणपन्थी समूहको रूपमा पुनर्गठन हुँदै आयो। सन् १९९४ मा राष्ट्रपति ज्याँ बर्ट्रान्ड एरिस्टाइडले पदभार ग्रहण गरेपछि डुभालियर समर्थक सशस्त्र समूहलाई गैरकानुनी घोषित गर्नुका साथै हाइटीको सेनालाई विघटन गरेका थिए । तर निःशस्त्रीकरण हुन सकेन । भूतपूर्व सैनिक र भूतपूर्व मिलिशियाहरू अनौपचारिक लडाकू गुटहरूमा सामेल भए जसले गर्दा सन् १९९४ देखि २००४ सम्म पोर्ट ओ प्रिन्समा अरिस्टाइड विरोधी विद्रोह भयो। यसलाई दबाउनको लागि संयुक्त रास्ट्र संघले एक विशेष सैनिक टोली पठाएको थियो। त्यस बिचमा भएका अराजकताको प्रतिरक्षास्वरुप चिमर्स भनिने युवा आत्मरक्षा समूहहरूको उदय भयो। यी समूहहरूलाई प्रहरी र सरकारले आफ्नो स्थिति बलियो बनाउन सहयोग गरेका थिए। हाइटीका राजनीतिक अभिनेताहरूले सशस्त्र समूहहरूलाई उनीहरूको हितको रक्षा गर्न, चुनावमा सहयोग गर्न र सार्वजनिक अशान्ति दबाउन प्रयोग गरिरहे।

हाइटीमा विभिन्न कारणले गर्दा सन् २०१६ नोभेम्बरदेखि आम निर्वाचन हुन सकेको छैन। सन् २०१९ को अक्टोबर २७ का लागि संसदीय निर्वाचनको योजना बनाइए पनि सन् २०२१ को सेप्टेम्बर २६ सम्मका लागि सारिएको थियो। संवैधानिक जनमत संग्रहको प्रश्न उठे पछि र सेप्टेम्बर २०२१ मा कार्यवाहक प्रधानमन्त्री एरियल हेनरीद्वारा अस्थायी निर्वाचक मण्डलका सदस्यहरूलाई बर्खास्त गरेपछि चुनाव फेरि स्थगित गरिएको थियो। सन् २०२२ को डिसेम्बरमा सन् २०२३ मा निर्वाचन गर्ने गरी भएको सम्झौताले मूर्तरूप लिन सकेन । अमेरिकी अधिकारीहरूले लोकतान्त्रिक रुपबाट सरकार निर्माण गरिनु पर्ने सल्लाह दिए पनि वर्तमान अवस्थामा स्वच्छ निष्पक्ष निर्वाचन गर्न नसकिने मात्र हैन चुनाव नै हुन नदिने घोषणा गरिएको छ। निर्वाचन बिना नै शासन गरिरहेका हेनरीलाई अबैध घोषणा गर्दै तुरुन्त राजिनामा दिन विद्रोहीहरुले दबाब बढाइरहेका कारण हाइटीको भविष्य बारे छलफल गर्न अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन र केही क्यारेबियन राष्ट्र प्रमुखहरु जमैकामा जम्मा भएका छन्। त्यहाँ हेनरीको भने उपस्थिति छैन। अस्ती बेलुकीतिर उनीहरुले राजिनामाबाहेक अन्य उपाए नभएको सुझाएपछि त्यसको केही घण्टापछि हेनरीले संक्रमणकालीन राष्ट्रपतीय परिषद् गठन भएपछि र अन्तरिम प्रधानमन्त्रीको नाम घोषणा भएपछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हालको अवस्थालाई सुधार गर्न संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त केन्याली १ हजार सुरक्षा बल र थप १० करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफ्नो राजकीय शक्ति कायम राख्न बनाइएका सशस्त्र गुटहरुले आफैँले सत्ता हत्याउन खोजेको हालको हाइटीको के हालत हुने हो वा यो खेल के कसरी सकिने हो कति समय कुर्न पर्ने हो त्यो चाहिँ भविष्यले नै बताउला।

प्रतिक्रिया

सम्बन्धित सामाग्री