
काठमाडौँ । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारको तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो । आदर्श पुरुष र सरल छवि निर्माण गर्नुभएका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्नुहुन्छ ।
तर यसपटक उहाँले आगामी चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । सेवा भावभन्दा अनैतिक कार्यलाई प्रश्रय दिने नेताको भूमिका निर्वाह गर्नुभएका अभिनेता आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताउनुभयो ।
चलचित्र ‘महाजात्रा’ को प्रचारप्रसारमा सहभागी हुनुभएका आचार्यले षट्कोण आर्ट्समा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अभिनेताका रुपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको जानकारी दिनुभयो ।
“म र मैले अभिनय गर्ने पात्र फरक हुन् । सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु । त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु । यसपटक मैले नेताको भूमिकामार्फत् भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु । यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ”, अभिनेता आचार्यले भन्नुभयो ।
उहाँले आफूसँग मह सञ्चारमा डेढ दशक अगाडि काम गरेका कारण पनि निर्देशक प्रदीप भट्टराईको कामप्रति विश्वास रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्देशक भट्टराईले समाजलाई सन्देश र दर्शकलाई मनोरञ्जन दिने कथा तयार गर्छन् । सोही कारण पनि म उहाँ प्रति विश्वस्त भएर कथा नहुँदा पनि अभिनय गर्न सक्छु । यसपटक पनि मलाई पूर्ण कथाभन्दा पनि चरित्रको बारेमा थाहा थियो । तर, चलचित्र उनले लेखिएको भन्दा राम्रो बनाएका छन् ।”
अभिनेता आचार्यले ‘महाजात्रा’ कलात्मक र व्यावसायिक दुवै पक्षलाई ध्यान दिएर तयार गरिएको बताउनुभयो । किनकि उहाँ सफल हुन कलाको प्रशंसासँगै व्यावसायिक सफलता पनि अनिवार्य हुने विचार राख्नुहुन्छ । निर्देशक भट्टराईले अभिनेता आचार्यमा रहेका सम्भावना व्यक्तिगत जीवनका कारण समेटिनु हुँदैन भन्नेमा जोड दिनुभयो ।
“अभिनेता आचार्य मेरो गुरू हुनुहुन्छ । उहाँले गर्ने अभिनय र त्यसको क्षमतालाई मैले विगत दुई दशकदेखि देखेको छु । तर, उहाँको छविका कारण उहाँलाई एकै किसिमको भूमिका प्रस्ताव हुने गरेका छन् । त्यो नहोस् भन्ने मेरो चाहना हो”, निर्देशक भट्टराईले भन्नुभयो ।
चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, राजाराम पौडेल, प्रकाश घिमिरे, गौमाया गुरुङ, अरविन खड्कालगायतका कलाकारले अभिनय गर्नुभएको छ । दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुभएको चलचित्र आउँदो चैत ९ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदैछ ।
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा