तमु समाज बेल्जियमको ल्होछार सम्पन्न

काजाब्लांका क्यासेल्लो । तमु समाज बेल्जियमको आयोजनामा तमु ल्होसार बेल्जियममा बिभिन्न साँस्कृतिक र मनोरन्जनात्मक कार्यक्रमसहित मनाइएको छ ।
डोन बोस्को काजाब्लांका क्योसेल्लोमा भएको सो २६०८ औ गरूड वर्गको तमु ल्होसारमा तमु भेषभूषा, संस्कार र संस्कृति झल्कने सांस्कृतिक झाँकी, र कार्यक्रमसहित तमु नयाँ वर्षको शुभकामना साटासाट गर्दै मनाइएको हो ।
कार्यक्रममा बेल्जियममा बसोबास गर्ने गुरुङ समुदायका साथै बिभिन्न जातिय,सामाजिक, राजनैतिक र सामुदायिक संघ संस्थाहरुको सहभगिता रहेको थियो । विभिन्न परम्परागत भेषभुषामा सजिएका गुरुङ समुदायका महिला र पुरुषहरु एवम बालबालिकाहरुको उपस्थितिले कार्यक्रम निकै मनमोहक र भब्य देखिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी, विशेष अतिथि एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा, आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बीरमान घर्ती मगर र समाजका अध्यक्ष होम गुरुङ, समाजका अग्रज अभिभाबक क्याप्टेन जोगमान गुरुङ, संस्थापक अध्यक्ष मिन गुरुङद्द्वारा विशेष पूजा र दीप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रम, नेपाली राष्ट्रिय गीत र गुरुङ भाषाको राष्ट्रिय गीत बजाउदै आरम्भ भएको थियो ।
तमु ल्होसारको शुभकामना दिदै प्रमुख अतिथि राजदुत राजभण्डारीले साँस्कृतिक सम्पदाको धनी तमु समुदायले प्रबासमा आफ्नो कला र संस्क्रिति झल्कने गरी आयोजना गरेको भब्य कार्यक्रममा सहभागी हुँदा खुशी लागेको बताउनु भयो ।
गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटा, नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरले तमु ल्होछारको शुभकामना दिनु भएको थियो ।


एनआरएनए आईसीसी ऊपाध्यक्ष गंगाधर गौतम, निबर्तमान ग्लोबल युबा उपाध्यक्ष हिमाल गुरूंगलगायत नेदरल्यान्ड ,जर्मनी ,लक्जेम्बर्ग ,फ्रान्स ,पोर्चुगल ,माल्टा ,बेलायत लगायतबाट झन्डै १०० संघसंस्थाबाट कार्यक्रममा पाहुना र सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा तमु समाज बेल्जियमको स्मारिकाको दोश्रो अंक ”आशिमाला–२” र समाजका पूर्व अध्यक्ष पदम गुरुङ ‘प्रबासी’ले लेख्नु भएको गुरुङ भाषाको अन्य तीन भाषा– नेपाली,अग्रेजी र नेदरल्यान्डमा अर्थ खोज्न मिल्ने शब्दकोष ‘नमस्ते’को बिमोचन गरिएको थियो । आशिमाला २ को सम्पादन मनिराज गुरुङले र प्रकाशनको संयोजन समाजका पूर्व अध्यक्ष बालेन्द्र गुरुङले गर्नु भएको छ ।
कार्यक्रम ब्यबस्थापनमा सहयोग गर्ने र प्रायोजकहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
ल्होसार कार्यक्रममा उपस्थित अतिथिहरुलाई संस्थाको तर्फबाट उपाध्यक्ष सूर्य गुरुङ र आमा समुहकी प्रमुख मन्दिरा गुरुङले स्वागत गर्नुभएको थियो । उपाध्यक्ष चित्र गुरुङले तमु संस्कृति र संस्कारको बारेमा बिबेचना गर्नु भएको थियो ।
समाजका अध्यक्ष होम गुरुङले उपस्थित अतिथिहरु, प्रायोजकहरु र सहयोगीहरुलगायत कार्यक्रम सफल बनाउन योगदान दिने सबैलाई धन्यबाद दिदै मिलेर बसेको नेपाली समाजलाई विभाजन गर्ने प्रयास कतैबाट पनि नहोस् भन्नु भयो ।
समाजका अध्यक्ष होम गुरूंगको सभापतित्वमा भएको ल्होछार कार्यक्रमको संचालन महासचिब चित्रजङ गुरुङ, सचिव उमा गुरुङ र साँस्कृतिक कार्यकमको संचालन रिचा गुरुङले गर्नु भएको थियो ।
गायक नारायण धिताल, दुर्गा गुरुङ र गायिका अनु गुरुङ, अनिता घले गुरुङ लगायतले बिबिध प्रस्तुति दिएको कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री