हेटौँडामा सात प्रदेशका मुख्यमन्त्रीको नौ बुँदे निर्णय

मनहरी (हेटौँडा) । बागमती प्रदेशको राजधानी हेटौँडामा आज सम्पन्न सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले नौ बुँदे साझापत्र तयार गरी प्रधानमन्त्री समक्ष पेश गर्ने निर्णय गरेको छ ।
सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायधिवक्ता र प्रमुख सचिवसहितको बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त बैठकले गरेका निर्णय कार्यान्वयन नगरे दबाबमूलक संघर्षका कार्यक्रम गरिने चेतावनी दिइएको छ ।
मुख्यमन्त्रीहरुको बैठकले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास गरी राष्ट्रिय सहमति सहितको साझा धारणा निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।
सो बैठकले नौ बुँदे साझापत्रसमेत तयार पारेको छ । सो साझापत्र शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने जनाइएको छ । सात प्रदेशका मुख्यमन्त्रीको गत असार १६ गते पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न आग्रहसमेत गरिएको छ ।
प्रधानमन्त्री दाहालको अध्यक्षतामा गत असार १६ गते पोखरामा बसेको थियो ।
बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कर्णालीका राजकुमार शर्मा, लुम्बिनीका डिल्लीबहादुर चौधरी, गण्डकीका सुरेन्द्रराज पाण्डे, बाग्मतीका शालिकराम जम्कट्टेल, मधेशका सरोजकुमार यादव र कोशी प्रदेशका केदार कार्कीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री