न्यूयोर्कमा मनाइयो तमु ल्होसार

न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी अमेरिकाले गुरुङ तमु जातिको महान् पर्व ल्होछार २०८० विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाएको छ ।

द गुरुङ (तमु) सोसाइटीको आयोजनामा यो वर्ष हि ल्हो अर्थात बिरालो वर्गको बिदाइ तथा मुप्री ल्हो अर्थात गरुड वर्गको स्वागत गर्दै डिसेम्बर २३ तारिखका दिन न्यूयोकको टिबेटियन कम्युनिटी हलमा मुप्री ल्होछार मनाएको हो । 
जेष्ठ नागरिक ८७ वर्षीय चमनसिंङ घले, प्रमुख अतिथि कार्यवाहक महावाणिज्यदुत विष्णुप्रसाद गौतम तथा अध्यक्ष ओमबहादुर गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक महावाणिज्यदुत विष्णु प्रसाद गौतमले नेपाललगायत विदेशी भूमिमा पनि भाषा, संस्कार, संस्कृति र परम्परा जोगाउनको लागि सोसाइटीले गरिरहेको कामको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा न्यूयोर्क सिटी डिष्ट्रिक्ट २६ का काउन्सिल मेम्बर जुली वोनले तमु ल्होछारको शुभकामना व्यक्त गर्दै सोसाइटीमा लामो समय स्वयंसेवक ११ जना बालबालिकाहरुलाई प्रशंसापत्र प्रदान गरिन् । प्रशंसापत्र पाउनेहरूमा नियमित स्वयंसेवक गर्ने बालिकाहरु फिनिक्स रानामगर, निमिका थापामगर, ओजाश्री गुरुङ, रक्षा गुरुङ, शिला गुरुङ, इभा श्रेष्ठ, रितिशा गुरुङ, मेलिशा गुरुङ, त्रिरत्न गुरुङ, सुष्मा गुरुङ, शेल्बी गुरुङ थिए ।

त्यस्तै, न्यूयोर्क सिटी मेयर एरिक एडम्सका कार्यालयका प्रतिनिधि सुकरानी तथा गिल्वर्ट होले सिटीमा भएका श्रोत र साधनको प्रयोग गर्नका लागि सिटीसँग सम्बन्ध राख्न अनुरोध गरे । साथै समाजमा लामो समय योगदान गरेका ११ जना लाई प्रशंसापत्रले सम्मान गरिएको थियो । अशोक गुरुङ, ओम बहादुर गुरुङ, अलिशा गुरुङ, अञ्जित गुरुङ, तुलसी प्रसाद गुरुङ, गौतम गुरुङ, विजय गुरुङ, विजय गुरुङ (बी), भक्त गुरुङ, लिल गुरुङ तथा मच्छेदेवी गुरुङलाई संयुक्त रुपमा प्रशंसापत्र प्रदान गरिएको थियो । 

साथै, डेमोक्रेटिक पार्टीको नेता तथा न्यूयोर्क स्टेट डिष्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभेन राँगाले गुरुङहरुको संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएकोमा सोसाइटीको प्रशंसा ल्होछारको शुभकामना व्यक्त गर्दै धन्यवाद व्यक्त गरे । 
सोसाइटीका अध्यक्ष ओम बहादुर गुरुङले विदेशी भूमिमा यसरी ल्होछार कार्यक्रम गरेर गुरुङहरुको संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको जानकारी दिए । अध्यक्ष गुरुङले आगामी दिनमा सोसाइटीले सिटीसँग सम्बन्ध बढाउँदै सोसाइटीको हितको लागि काम गर्ने बताए ।

गुरुङ जातिको संस्कार, संस्कृति, भेषभूषा जगेर्ना परम्पराको संरक्षण गर्न र पहिचान जोगाउनको लागि गुरुङ सोसाइटीले ल्होछार वार्षिक रुपमा मनाउँदै आएको छ ।

कार्यक्रममा युवा बालबालिकाहरुको क्षमता अभिवृद्धि गदै जानका लागि तमु स्कुल युथ क्लब गठन गरेको जानकारी दिंदै बालकालिकाहरुलाई स्टेजमा प्रस्तुत गरेका थिए । क्लबका स्पीकर रितिशा गुरुङले ल्होछारको शुभकामना दिंदै क्लबका सदस्यहरुलाई परिचय गराएका थिए । क्लबका संयोजक मेलिशा गुरुङले गुरुङ जातिको संस्कार, संस्कृति, भेषभूषा जगेर्ना गर्न र बालबालिकाहरुबीच नेटवर्क विस्तार गर्दै विभिन्न शैक्षिक भ्रमण स्वरुप कलेज टुर गर्न, फुड ड्राइभ लगायत कार्यक्रम गर्ने जानकारी दिइन् । 
विश्वभर रहेका गुरुङहरुले पुष १५ मा विभिन्न कार्यक्रम गरी ल्होछार मनाउँदै आएका छन् ।  

सोसाइटीकी सचिव मच्छेदेवी गुरुङले गुरुङहरुको जनसंख्याअनुसार राज्यका हरेक निकायमा गुरुङहरुको उपस्थिति हुनुपर्ने बताउँदै ल्होछारलाई जनजातिको पहिचान स्थापना गर्न र अधिकार सुनिश्चित गर्ने आन्दोलनको रुपमा लिनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) का अध्यक्ष राजकुमार विष्टले ल्होछारको शुभकामना व्यक्त गर्दै ल्होछार मनाउने सबै समुदायले संयुक्त रुपमा एउटै दिन ल्होछार मनाउन सोसाइटीले पहल गर्नुपर्ने बताए ।
सोसाइटीकी उपाध्यक्ष अलिशा गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै ल्होछारको शुभकामना व्यक्त गरिन् ।

ल्होछार कार्यक्रम २०२३ का संयोजक तथा सोसाइटीका कोषाध्यक्ष अञ्जित गुरुङले कार्यक्रमबारे जानकारी दिंदै कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्ने सम्पूर्ण सल्लाहकारहरु, बुबा आमा, दाजुभाइ, कार्यसमिति सदस्यहरु, कलाकारहरु, तमु आमा समूह तथा स्वयंसेवकहरुलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा न्यूयोर्क, न्यूजर्सी, न्यूह्याम्प्सायरका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै सोसाइटीले विभिन्न क्षेत्रमा पीएचडी (डक्टरेकट इन फिलोसोफी ) तथा एम. डी गर्ने गुरुङहरुलाई सम्ममान गरेको छ । गुरुङ समुदायबाट विभिन्न विश्व विद्यालयमा प्रोफेसर, डाक्टर तथा न्यायाधीश बनेका गुरुङहरुलाई उहाँहरुको विषय विज्ञताको कदरस्वरुप सम्मान गरिएको हो ।

सम्भवत: अमेरिकामा दक्षिण एशियाकै पहिलो महिला न्यायाधीश  रिना गुरुङ, डेन्टल डा. सुलोचना गुरुङ, डा. सुख बहादुर गुरुङ (पिएचडी) डा. चन्दन गुरुङ, डा. महेश कुमार गुरुङ (पिएचडी), डा. रस कुमारी गुरुङ (पिएचडी), डा. सन्तोष गुरुङ (पिएचडी), डा. कुमार गुरुङ (पिएचडी), डा. प्रज्वल गुरुङ (पिएचडी), डा. सीताजी गुरुङ (एमडी., एमपीएच., पिएचडी), डा. सबिन गुरुङ (एमडी) लाई सम्मान गरेको हो ।

गुरुङ समुदायबाट पीएचडी गर्ने सबै सोसाइटीको गहना भएको र उहाँहरु युवा पुस्ताका लागि प्रेरणा भएकोले पनि उहाँहरुसँग सोसाइटीले सम्बन्ध विस्तार गर्दै जानुपर्ने सोसाइटीको विश्वास छ ।

कार्यक्रममा संस्थाको आजीवन सदस्यता लिएका १० जनालाई संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ तथा अध्यक्ष ओम गुरुङले आवीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । यसवर्ष अञ्जित गुरुङ तथा धनकाशी गुरुङ, बिन्दु गुरुङ, चुगा गुरुङ तथा अरानी गुरुङ, हिरालाल गुरुङ तथा दावा तामाङ गुरुङ, डिल्ली गुरुङ तथा स्मीता गुरुङ, राजेन्द्र कुमार गुरुङ तथा सुमित्रा गुरुङ, टिकमाया गुरुङ, खड्क गुरुङ तथा मीना गुरुङ, नविन गुरुङले सोसाइटीको आजीवन सदस्यता लिएका थिए ।

त्यस्तै कार्यक्रममा राफल टिकटअन्तर्गत पहिलो, दोश्रो तथा तेश्रो विजेताले नगद पुरुस्कार प्राप्त गरेका थिए । कार्यक्रमको दोश्रो चरणको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय नाचमार्फत उपस्थित सबैलाई स्वागत गरिएको थियो । ल्होछार कार्यक्रमका लागि स्टेजलाई मौलिकपन झल्कने  तथा गाउँघरमा जस्तै परम्परागत शैलीमा देखाउनका लागि पराल, आँखीझ्याल, डोको, मादल, झ्याली, ढोल, पेरुङ्गो लगायतका सामग्री प्रयोग गरिएका थिए ।

कार्यक्रममा विभिन्न नेपाली तथा गुरुङ भाषाको चलचित्रमा अभिनय गरेमा नायिका रञ्जिता गुरुङ र संस्थाका सकृय युवा कलाकार सागर गुरुङ, वरिष्ठ नृत्यांगना तथा मोडल गीता राई गुरुङ, बेबी वसन्ती राईको नृत्य, मेरो भोइस कप सिजन २ का टप ७ सम्राट गुरुङ तथा नेपाली आधुनिक गीत संगीतका लिडिङ चर्चित गायक शिव परियारको प्रस्तुति विशेष आकर्षण बन्यो । नायिका रञ्जिता गुरुङ र संस्थाका सकृय युवा कलाकार सागर गुरुङले चर्चित गीत ‘पिरतीको मिठो तिर्सना’मा नृत्य प्रस्तुत गरेका थिए । साथमा कलाकारहरु, फिनिक्स राना मगर तथा निमिका थापामगरले साथ दिएका थिए । स्थानिय कलाकारहरु, फिनिक्स राना मगर तथा निमिका थापामगर नेपाली आधुनिक गीतमा बेजोडको प्रस्तुति गरेका थिए ।

त्यस्तै, न्यूयोर्कमा २५ वर्षदेखि निरन्तर रुपमा नृत्य प्रस्तुत गर्दै आएकी चर्चित नृत्यागंना वसन्ती राई (बेबी वसन्ती)को प्रस्तुतिले हलमा उपस्थित दर्शक तथा माहोललाई तताएको थियो । गुरुङ कलाकार रुथमान गुरुङले कमेडी नृत्य प्रस्तुत गरेका थिए भने स्थानिय कलाकारहरु श्रुती गुरुङ, त्रिरत्न गुरुङ, सागर गुरुङ र सोमेस गुरुङले गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै वरिष्ठ कलाकार तथा मोडल गीता राई गुरुङले नेपाली मिक्स गीतमा नृत्य प्रस्तुत गर्दा दर्शकको वान्स मोर वान्स मोर हुटहुटीले हलका दर्शकलाई थप तताएको थियो । त्यस्तै बाल कलाकारहरु शीला गुरुङ, इभा श्रेष्ठ, आर्य डोल्मा गुरुङले ‘लौन यो मन’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै, ‘ङोलोसो राम रानी’ बोलको गीतमा श्रुती गुरुङ, सुष्मा गुरुङ, सोनिया गुरुङ, तुसना थापा, सोहाना तामाङ र त्रिरत्न गुरुङले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, डा. रस कुमारीको सौजन्य स्वरुप मनोज गुरुङ तथा चन्दा गुरुङले गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरले सौजन्य स्वरुप कौडा नृत्य उपहारस्वरुप प्रदान गरेका थियो जसमा स्मृति बुढामगर, रेञ्जु छन्त्याल, हाङछुमा कुलुङ, श्री मोक्तान, श्रृष्टि रोकाले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा आमा टोलीका गोरी गुरुङ र लक्ष्मी गुरुङले ‘रिमै’ बोलको गीतमा नृत्य प्रस्तुत गरेमा थिए ।

कार्यक्रममा वसन्त डान्स सेन्टरका नृत्य निर्देशक विजय नकर्मी र नृत्य निर्देशक गोविन्द राई, शीला गुरुङ तथा गौरी लामाले कोरियोग्राफी गरेका थिए । यसैबीच, गिनिज वल्र्ड रेकर्ड राखिसकेका पार्कर दिनेश सुनारले पनि नृत्य प्रस्तुति गरेका थिए ।  साथै सुरेखा गुरुङले तृष्णा गुरुङको ‘गाइने’ बोलको गीत गाउँदा गौतम गुरुङले गिटार बजाएर साथ दिएका थिए । साथै, मेरो भोइस कप सिजन २ का टप ७ सम्राट गुरुङले ४ वटा गीत प्रस्तुत गर्दा के युवा, के प्रौढ सबै दर्शक वान्स मोर वान्स मोर भन्दै गीतको तालमा नाचिरहेका थिए । नेपाली आधुनिक गीतलाइ लिडिङ गरिरहेका नेपाली युवा मात्र नभएर सबै दर्शक श्रोताका मनमा बस्न सफल चर्चित गायक शिव परियारले ‘संगी’, ‘पिलायो साथी’ले लगायत गीत प्रस्तुत गर्दा ६ सय भन्दा बढी संख्यामा रहेका दर्शकको भीड बिहानको २ बजे सम्म नै भरिभराउ देखिन्थ्यो । 
कार्यक्रमको दोश्रो चरणको साँस्कृतिक कार्यक्रम सुरेखा गुरुङ र केभिन गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री